PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

​पुस्तकको आवरणः मौलिक, नक्कल वा चोरी?



​पुस्तकको आवरणः मौलिक, नक्कल वा चोरी?

  • साहित्यपोस्ट-
अंग्रेजीमा एउटा भनाइ छ- Don’t judge a book by its cover अर्थात गाता हेरेर कुनै पुस्तकका बारेमा निर्णय नगर। यो लाक्षणिक भनाइको समान्य अर्थ हुन्छ- बाह्य आवरणका आधारमा मात्र कुनै बस्तुको महत्व वा मूल्य पूर्वानुमान गर्नु हुँदैन।

सामान्यतया पुस्तकको आवरणले लेखकको मर्म बोल्छ भन्ने पाठकको अनुमान हुन्छ। झट्ट हेर्दा पाठकको आँखा तान्ने पनि पुस्तकको आवरणरले नै हो। आवरणले लेखनको मूल मर्म झल्काउँछ भन्ने विश्वास गरिन्छ। त्यसैले त पुस्तक व्यवसायसँगै यसको डिजाइन पनि छुट्टै विधा बनेको छ। पुस्तकको आवरणमा पेन्टिङसँगै ग्राफिक्स र फोटोग्राफी पनि राख्ने चलन चलेको छ। तर के नेपालमा छापिने पुस्तकका आवरण मौलिक छन्?

हालै नेपाली साहित्यका एकजना पाठकले आफ्नो ब्लगमार्फत अहिलेका चर्चित भनिने पुस्तकका आवरण कसरी अन्य पुस्तकका आवरणसँग मेल खाए भन्ने प्रश्न गरेपछि आवरणको मौलिकताबारे बहस थालनी भएको हो।

अमेरिकाको न्युयोर्कमा रहेका नेपाली शहदेव पौडेलले आफ्नो ब्लगमा पछिल्लोसमय चर्चामा रहेका कतिपय पुस्तकका आवरण अन्तबाट ‘चोरिएको’ सार्वजनिक गरे।

बुद्धिसागको कर्णाली ब्लुज, कुमार नगरकोटीको मिस्टिका, राजन थपलियाको रिज्वइस, ब्रजेसको यायावर, मोहन मैनालीको मान्ठा डराएको जुग, चैतन्य मिश्रको बदलिँदो नेपाली समाज, घनश्याम पथिकको युनिका, र युवराज नयाँघरेको ह्वाइट हाउसको घामपानी लगायतका पुस्तकका कभर अन्तबाट चोरिएका छन्।

पौडेलको ब्लगबाट साभार गरिएका केही पुस्तकका आवरण हेर्नुस्ः

वायाँतर्फको इन्टरनेट स्टक फोटो प्रयोग गरिएको कर्णाली ब्लुजको आवरण। 

कुमार नगरकोटोको 'मिस्टिका' को आवरण 'माइ क्याट नेम्ड लुकास' सँग मिल्छ। 


मोहन मैनालीको पुस्तक 'मान्ठा डराएको जुग' को आवरण 'अ डान्स विथ स्याडो' नामको पुस्तकको आवरणसँग ठ्याक्कै मिल्छ। 

ब्रजेशको 'यायावर' को पुस्तकको आवरण पनि इन्टरनेटमा भेटिने अर्को फोटोसँग मिल्यो।

राजन थपलियाको कविता संग्रह 'रिज्वइस' को आवरण 'द इमिटिसन अफ क्राइस्ट' को आवरणसँग हुबहु मिल्यो।

युवराज नयाँघरेको 'ह्‍वाइट हाउसको घामपानी' को आवरण 'द स्पेस बिट्विन अस' नामक पुस्तकको आवरणसँग मिल्यो। 

घनश्याम पथिकको पुस्तक 'युनिका' को आवरण अर्को अंग्रेजी पुस्तकसँग मिल्छ। 

चैतन्य मिश्रको पुस्तक 'बदलिँदो नेपाली समाज' मा राखिएको चित्र र ओशोका प्रवचनको पुस्तकमा राखिएको चित्र उस्तै भेटियो। 

किन हुन्छ यस्तो?

पुस्तकहरुका आवरण हुबहु मिल्नुको कारण एउटा कारण हुनसक्छः पुस्तक व्यवसायमा संलग्नहरुले स्टक फोटो प्रयोग गर्नु। यस्ता कतिपय फोटो इन्टरनेटमा निःशुल्क पाइन्छ भने कतिपय न्युन शुल्कमा किन्न पनि पाइन्छ।

प्रकाशन गृहहरुले पुस्तकको आवरणका लागि अन्यका फोटो तथा चित्र प्रयोग गरेको विषयमा सोसल मिडियामा आलोचना भएपछि 'कर्णाली ब्लुज' लगायत पुस्तकको प्रकाशक फाइनप्रिन्टले त्यस्ता चित्र आफूले अनलाइनबाट किनेको दाबी गरेको छ। 

'कर्णाली ब्लुज' मै रहेको पुस्तकको परिचय हेर्नुस्। 
यहाँ भनिएको छः आवरण कला संयोजन नीरज भारीले गरेका हुन् भने लेआउटः सुवर्ण हुुमागाईले। 

यो जानकारीले के भन्छ भने पुस्तकको आवरण मौलिक छ। तर माथि नै स्पष्ट भैसक्यो कि यो मौलिक होइन। 

पुस्तक प्रकाशन व्यवसायका रुपमा उदाउन लागेको र पठनपाठन संस्कृति बढेको यो बेला कलामा पनि मौलिकताको आवश्यकता पुस्तकका बारेमा भएका यी चर्चाले देखाउँछ।

पुस्तकका आवरणमा हुने गरेका नक्कल र चोरीका यी उदाहरण सार्वजनिक गर्ने शहदेव पौडेल भन्छन्- 'एकछिन गुगल गरेर बस्यो भने थुप्रै पुस्तकका कभर अरु किताबसँग मिलेको पाइन्छ। अनेक तर्क गर्न सकिएला तर साहित्य जस्तो सिजनशील विधामा किताबको कभर हुबहु नक्कल गर्नु कुनै पनि हालतमा राम्रो होइन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell