PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

महोत्तरी र जनकपुरमा गरी ४ जनाको मृत्यु, एम्बुलेन्सबाट थुतेर मारिए घाइते प्रहरी



महोत्तरी र जनकपुरमा गरी ४ जनाको मृत्यु, एम्बुलेन्सबाट थुतेर मारिए घाइते प्रहरी

  • पहिलोपोस्ट-
काठमाडौँ : जनकपुरमा प्रहरीको गोली लागी दुई प्रदर्शनकारीको मृत्यु भएको छ। कर्फ्युको उल्लघंन गर्दै प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा मुढा गर्दै सरकारी कार्यालय तोडफोड गरेपछि गोली चलाउनुपरेको प्रहरीले जनाएको छ।

गोली लागी धनुषा जमुनियाका १८ वर्षीया नितु यादव र सबेलाका विनोद साहको मृत्यु भएको हो। धनुषाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सरकारी कार्यालय तोडफोड र प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको बताए।

'अन्यन्त्र जिल्लामा जस्तै यहाँ पनि उग्र प्रदर्शन भएको छ, प्रवृत्ति उस्तै छ, सरकारी कार्यालय निशाना बनाइएको छ, प्रहरीलाई आक्रमण गरिएको छ', पराजुलीले भने, 'दश जना प्रहरी र २५ जना आन्दोनकारी घाइते भएका छन्।' उनले अवस्था अझै तनावग्रस्त रहेको पहिलोपोस्टलाई बताए।

महोत्तरीमा एक महिलाको मृत्यु, अर्का एक घाइते

महोत्तरीको जलेश्वरमा प्रहरीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जलेश्वर– २ मा बस्ने रामशिलादेवी मण्डल रहेको जिप्रका महोत्तरीका प्रहरी नायब उपरीक्षक विनोद सिलवालले जानकारी दिए।

कर्फ्युको अवज्ञा गरी प्रदर्शनमा उत्रेका मण्डललाई जलेश्वरको शङ्करचोकमा प्रहरीको गोली लागेको हो । मण्डलको टाउकोमा गोली लागेको र उनको घटनास्थलमै मृत्यु भएको सरकारी समाचार संस्था राससले लेखेको छ। गोली लागि स्थानीयवासी शम्भु चौधरीकी पत्नी शैलदेवी चौधरी पनि गम्भीर घाइते भएकी छिन्। उनको तिघ्रामा गोली लागेको छ।

महोत्तरीमै एम्बुलेन्सबाट थुतेर घाइते प्रहरीको हत्या

महोत्तरीमा आन्दोलनकारीले एक घाइते सशस्त्र प्रहरी सहायक निरीक्षक (असई)को हत्या गरेका छन्। बिहान आन्दोलनकारीको आक्रमणमा घाइते भएका असई थमनबहादुर विकलाई उपचारका लागि जनकपुरतर्फ लगिरहेका बेला आक्रमणकारीले एम्बुलेन्सबाटै झिकेर जनकपुर जलेश्वर राजमार्गको शंकरापुर नजिक जंगलमा हत्या गरेका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले जानकारी दिए।

'बिहान जलेश्वरमा आन्दोलनकारीको आक्रमणमा घाइते भएका उनलाई रेडक्रसको एम्बुलेन्समा राखेर थप उपचारका लागि जनकपुरतर्फ लगिएको थियो, तर बाटोमा एम्बुलेन्सबाटै झिकेर उनलाई केही पर लगेर धारिलो हतियार प्रहार गरी हत्या गरिएको जानकारी आएको छ' उनले भने। आन्दोलनकारीले एम्बुलेन्स पनि जलाइदिएका छन्। अहिले घटनास्थलमा प्रहरी पुगेको प्रमुख जिल्ला अधिकारी काफ्लेले पहिलोपोस्टलाई जानकारी दिए।
 

भदौ २३ देखि तनावग्रस्त महोत्तरी

आन्दोलन चलिरहेको महोत्तरी सदरमुकाम जलेश्वरमा बुधबार (भदौ २३) देखि हिंसा भडकिएको हो। बुधबार दिउँसो महोत्तरी सदरमुकाम जलेश्वरमा रहेको जिल्ला प्रहरी कार्यालय र जिल्ला न्यायाधीशको निवास घेराउ गर्दै प्रहरी कार्यालयमा समेत ढुंगामुढा गर्न थालेपछि गोली चलाइएको थियो। घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भयो भने एक जनाको उपचारका क्रममा जनकपुरमा अस्पतालमा मृत्यु भयो।

एकै दिन चार जनाको मृत्यु भएपछि जलेश्वरमा सोही दिन राति आठ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको थियो। राति विभिन्न प्रहरी चौकीमा आगजनी गरिएको थियो। बिहीबार दिनभर पनि कर्फ्यु जारी थियो तर कर्फ्यु तोड्ने पटक पटक प्रयास भएका थिए। महिलाहरुले् कुचो बोकेर प्रदर्शन गर्दै कर्फ्यु तोड्न खोजेपछि टियर ग्यास प्रहार गर्नुपरेको थियो। 

शुक्रबार बिहान प्रदर्शनकारीहरुले हेटौडाबाट परीक्षा दिएर मोटरसाइकलमा फर्किरहेका असई विकलाई कुटपिट गरी घाइते बनाएका थिए। जलेश्वर जिल्ला अस्पतालमा प्रारम्भिक उपचार गराएपछि थप उपचारका लागि जनकपुरतर्फ लाँदै गर्दा एम्बुलेन्सबाट थुतेर उनको हत्या गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell