PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

दुई दिन प्रक्रिया रोक्न तीन दल सहमत



दुई दिन प्रक्रिया रोक्न तीन दल सहमत

  • सविन मिश्र/पहिलोपोस्ट -
काठमाडौं : प्रमुख तीन दलले मधेशमा आन्दोलन गरिरहेका दलहरुको माग बमोजिम दुई दिन संविधानसभाको मतदान प्रक्रिया स्थगित गर्न सहमत भएका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले आज २ बजेदेखि सुरु हुने भनिएको मतदान प्रक्रिया स्थगित गरेर आइतबार ११ बजेपछि मात्र सुरु गर्ने निर्णय गरेको हो। 

मतदान प्रक्रिया स्थगित गर्ने निर्णयसँगै प्रमुख दलहरुले तराई मधेशमा आन्दोलन गरिरहेका दलहरुलाई वार्तामा आउन फेरि आह्वान गर्ने भएका छन्। कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले भरसक वार्ताबाटै समस्या समाधान गर्ने उद्धेश्यले मतदान प्रक्रिया पर सारिएको बैठकपछि पत्रकारहरुलाई जानकारी दिए। 

यसअघि सरकार र प्रमुख दलले वार्ताका लागि आह्वान गर्दा आन्दोलनरत दलहरुले प्रक्रिया स्थगित गर्नुपर्ने र आन्दोलनमा गरिएको सेना परिचालन रोक्नुपर्ने माग गरेर वार्तामा आएका थिएनन्। तीन दलले गरेको निर्णय आजै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई जानकारी गराउनेछन्। 

यसअघि आजसम्ममा संविधानसभामा भइरहेको दफावार छलफलमा उठेका प्रश्नहरुबारे शीर्ष नेताहरुले सम्बोधन गरी बैठक टुङ्ग्याउने र आजै अर्को बैठक बसी संशोधन प्रस्तावहरुमा धमाधम ध्वनि मतबाट मतदान थाल्ने तयारी गरिएको थियो। 
 

के निर्णय गर्‍यो तीन दलको बैठकले?

तीन दलको बैठकले आइतबार विहान ११ बजे संविधान सभा बैठक बोलाउन आग्रह गर्ने, आइतबारको बैठकमा शीर्ष नेताहरुको सम्बोधनका लागि समय माग्ने, सम्बोधन लगत्तै प्रक्रिया वा सहमतिबारे आइतबारै टुङ्गो लगाउने सहमति भएको एमाओवादी नेता नारायणकाजी श्रेष्ठले बताए।

'आइतबार विहान ११ बजे संविधानसभा बैठक सुरु गर्न तीन दलबीच सहमति भएको छ,' श्रेष्ठले भने, 'पर्सी पहिले तीन दलका नेताले संबोधन गर्ने र त्यसपछि प्रक्रिया अगाडि बढाउने सहमति भएको हो।'

 संविधानको सामाजिक न्याय सम्बन्धी ब्यवस्थामा समानुपातिक समावेशीकरणको प्रावधान थप गर्ने सहमति पनि तीन दलबीच भएको श्रेष्ठले बताए। यसको अन्य विषय सभामुखसँग छलफल गरेर टुंग्याउने उनले बताए। 

यस्तै १ निर्वाचन क्षेत्रमात्र भएका जिल्लालाई यथावत राखी अरु निर्वाचन क्षेत्र समान जनसंख्याका आधारमा टुंग्याउने सहमति पनि तीन दलबीच भएको छ ।

एमाले उपाध्यक्ष भीमबहादुर रावलले अब संविधान निर्माणको प्रक्रिया अगाडि बढ्ने भन्दै आइतबार नै संविधानका अन्तर्वस्तुमा मतदान गरी टुंग्याउने सहमति तीन दलका नेताबीच भएको जानकारी दिए । 'आइतबार नै सबै विषयमा टुंगो लाग्छ,' उनले भने, 'अब कुर्ने भनेको आइतबारसम्म हो त्यसपछि प्रक्रिया अगाडि बढ्छ र संविधान बन्छ ।'

कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले आइतबारसम्म प्रक्रिया रोकिए पनि त्यसपछि स्थगन नहुने बताए । 'आजको सुरु हुने भनिएको मतदानको प्रक्रिया पर्सीसम्मलाई सार्ने निर्णय भएको छ, त्यसपछि प्रक्रिया स्थगन हुँदैन,' उनले भने । 

प्रक्रिया सुरु भएपछि एक हप्तामा संविधान

तीन दलबीच आज भएको सहमति अनुसार शीर्ष नेताले आजै सभामुख सुवास नेम्वाङलाई भेटेर नयाँ प्रक्रिाय थाल्न अनुरोध गर्नेछन् । उनीहरुले आइतबार विहान ११ बजे संविधानसभाको बैठक राख्ने, त्यसको सुरुमै तीन दलका नेताले बोल्ने गरी कार्यसूची बनाउन सभामुखलाई आग्रह गर्ने रावलले बताए । 

तीन दलका नेताले आज संविधानसभालाई गर्ने भनिएको संबोधन पनि अब पर्सीलाई सरेको छ ।

तीन दलबाहेक अरुले राखेका संशोधन प्रस्तावलाई ध्वनि मतबाट अस्वीकार गर्दै तीन दलको संयुक्त संशोधन प्रस्ताव पास गर्ने प्रक्रियाका लागि दुई दिन, पास भएका संशोधन अनुसार धारा नम्बर र क्रम मिलाउन सचिवालयलाई एक दिन र त्यसपछि विधेयकको प्रत्येक धारा दुई तिहाईले पारित गर्न कम्तिमा दुई दिन लाग्ने अनुमान अनुसार प्रक्रिया सुरु भएको एक सातामा संविधान जारी हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell