PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फोटो होइन, 'इस्यु'को चर्चा होस्



फोटो होइन, 'इस्यु'को चर्चा होस्
अवार्ड र विजयी फोटोका साथ विजय गजमेर

विजय गजमेर-
पिजे क्लबको प्रतियोगितामा फोटो अफ दि इयर छनौट गरिदिनुभएकोमा सबै निर्णायकहरुलाई धन्यवाद। यो अवसरमा म विशेष धन्यवाद म काम गर्ने पत्रिका नागरिक दैनिकका फोटो सम्पादक चन्द्रशेखर कार्की, प्रधान सम्पादक प्रतीक प्रधान र सुदीप श्रेष्ठलाई दिन चाहन्छु। उहाँहरुकै कारण मैले रिहानासँगै गएर यो फोटो स्टोरी खिच्ने मौका पाएको थिएँ। 

यो एउटा प्रतिनिधि फोटोमात्रै हो। फोटोमा देखिएकी रिहाना सेख ढपालीलाई उनकै पतिले मोटरसाइकल र भैँसी दाइजो नदिएको निहुँमा जिउँदै जलाइदिएका थिए। पछि उनलाई उपचारका लागि वीर अस्पताल ल्याइएको थियो। अस्पतालमा उपचार गर्दैगर्दा घर (माइती) को याद आएकोले उनी डाक्टरहरुसँग दुई साताको छुट्टी लिएर गाउँ जाँदै थिइन्। 

उनीसँगै एम्बुलेन्समा बसेर मैले यो यात्रालाई पछ्याएको थिएँ। यससम्बन्धी फोटोहरु नागरिक दैनिकमा पनि प्रकाशित भएको थियो। 

जुन फोटो अहिले फोटो अफ दि इयर भएको छ। मलाई याद छ यो फोटो मैले अन्तिममा खिचेको फोटो हो। म फर्कन लाग्दा उनी खाटमा थिइन्। काठमाडौँदेखि एउटा पत्रकारले पछ्याउँदै आएको देख्दा उनलाई पनि अब त दोषीले सजाय पाउँछन् होला जस्तो लाग्यो होला। विदा लिएर निस्कन लाग्दा मैले त्यो फोटो खिचेको थिएँ। उनले भनेकी थिइन्- 'मलाई मेरो फिकर छैन, तर मलाई जलाउनेहरू पारी (भारत) निस्फिक्री घुमिरहेका छन्। प्रहरीलाई थाहा छ, तर त्यहाँ गएर समात्न सकेको छैन। म खालि न्यायको प्रतीक्षामा छु।'

यो फोटोले पुरस्कार पाएसँगै अब यो फोटोको बारेमा चर्चा हुन्छ होला। तर म चाहन्छु फोटोको भन्दा पनि यो इस्युको चर्चा होस्। रिहाना एक प्रतिनिधि पात्र मात्र हुन्। उनी जस्ता धेरै महिला दाइजोको निहुँमा यातना भोग्न बाध्य छन्। उनले न्याय पाए मात्रै यो फोटोको अर्थ रहन्छ। 

यसरी आएँ फोटोग्राफीमा
खासमा मैले सानोमा फोटोग्राफी गर्छु भनेर सोचेको पनि थिइनँ। न मेरो ब्याकग्राउन्ड पत्रकारिता हो। मेरो परिवारमा दूरदूरसम्म कसैले पनि फोटोग्राफी गरेको छैन। 

मेरो घर धरान हो। धरानमा साथी-साथीहरु मिलेर भ्युधरान डट कम साइट चलाएका थियौँ। सबै कुरा आफै गर्थ्यौँ हामीले। साइट डिजाइनदेखि कन्टेन्ट लेख्ने र अपलोड गर्ने फोटो खिच्ने सबै। जर्नलिज्म ब्याकग्राउन्डका कोही नभएकोले समाचारहरु राख्न भने गाह्रो भयो। साइटमा फेरि समाचार पनि आवश्यक हुने। 

हामीले त्यहीँको ‘विश्वस्त सूत्र’ नामको लोकल पत्रिकासँग साझेदारी गर्‍यौँ। हामीले उनीहरुलाई फोटो दिने र उनीहरुले हामीलाई साइटमा अपलोड गर्न न्युज दिने। यसरी हामीले साइट चलायौँ। बिस्तारै धरान र वरपरका गतिविधि समेट्ने यो साइट लोकप्रिय हुँदै गयो। 

सुरुमा हामीले दाइको क्यामेरा सापटीमा लिएर फोटो खिचेका थियौँ। फोटो खिच्दै जाँदा साथीहरुमध्ये मैले खिचेको फोटो सबैभन्दा राम्रो आउन थाल्यो। सबले प्रशंसा गर्न थाले। त्यसपछि म फोटोग्राफीमा आएको हुँ। 

अरु नातेदारहरुले त फोटो खिचेर के गर्छस् तैँले भनेर हतोत्साही गर्न खोजे। तर मम्मीले भने कहिल्यै त्यसो भन्नुभएन। उहाँले सँधै ‘मन लागेको, रुचि भएको कुरा गर’ भन्दै ऊर्जा दिइराख्नुभयो। मेरो परिवारमा मम्मी मात्र हुनुहुन्छ। मलाई पहिलो पटक निकोन कूलपिक्स ई ७६००- क्यामेरा किन्न पनि पैसा नपुग्दा मम्मीले नै थपिदिनुभएको थियो। 

विराटनगर गएर १९ हजार रुपैयाँमा किनेको त्यो क्यामेराबाट मैले फोटोग्राफी यात्रा अघि बढाएँ। त्यसपछि काठमाडौँ आएर फोटोग्राफी सिकेँ। राजधानी दैनिकमा इन्टर्नको काम गरेँ केही समय। 

चन्द्रशेखर दाइ (कार्की) ले मलाई पछि नेपाल फोटो न्युज एजेन्सी फूल टाइम काम गर्न काठमाडौँ बोलाउनु भयो। लगत्तै नागरिक दैनिक पनि सुरु भयो। त्यतिबेलादेखि म नागरिक दैनिकसँग आवद्ध छु। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell