PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

परम्परा छाड्दै पूर्वराजपरिवार



परम्परा छाड्दै पूर्वराजपरिवार
सन् २०१० मा पूर्वरानी कोमल नायिका मनीषा कोइरालालाई निर्मल निवासमा टीका लगाइदिँदै। फाइल फोटो

पहिलोपोस्ट-
काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाडे पनि उनका समर्थक र शुभचिन्तकहरु निर्मल निवासमै लामो लाइन लागेर भए पनि पाँच वर्षदेखि निरन्तर दशैँमा टीका लगाउँदै थिए। गणतन्त्र आएपछि यो वर्ष पहिलो पटक निर्मल निवासको ढोका उनीहरुका लागि बन्द भयो।

असोजको पहिलो साता माइल्ड हर्टअट्याक भएर अस्पतालमा भर्ना भएका पूर्व राजालाई चिकित्सकले आराम गर्न सल्लाह दिएकोले पोहोरपरार झैँ सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम नगरिएको उनका सहयोगी फणि पाठकले बताए। यो वर्ष उनले शक्तिपिठ दर्शनको परम्परा पनि कायम राखेनन्। 

टीका र शक्तिपिठ दर्शनको परम्परा बिरामी भएका कारण नगरिएको भनिए पनि पूर्वराजपरिवारले दशैँबाहेक अरु परम्परा पनि बिस्तारै छाड्दै गएको देखिन्छ।
 
दशैँभन्दा अघि काठमाडौँमा हुने इन्द्रजात्राका क्रममा पृथ्वीनारायण शाहको पालादेखि नै जीवित देवी कुमारीको हातबाट टीका लगाउने परम्परा थियो। गणतन्त्र घोषणा भएको केही वर्षसम्म पनि पूर्वराजा ज्ञानेन्द्रले यसलाई कायमै राखे।
 
राष्ट्रप्रमुखका रुपमा सुरुमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र त्यसपछि राष्ट्रपति रामवरण यादवले कुमारीको हातबाट टीका ग्रहण गर्ने गर्थे र त्यस लगत्तै पूर्वराजा ज्ञानेन्द्र पनि त्यहाँ पुग्थे। दलका नेताहरुको असन्तुष्टिका बावजुद उनले यो परम्परा धानिरहेका थिए। तर २०६७ सालदेखि त्यो परम्परा पनि भंग भएको छ।
 
२०६७ सालको इन्द्रजात्राका क्रममा वसन्तपुरमा आयोजना गर्न लागिएको एक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रलाई प्रमुख अतिथि बनाइएको थियो। यसको विरोधमा गतिविधि भएपछि जिल्ला सुरक्षा समितिले सुरक्षामा चुनौती देखिने बतायो र ज्ञानेन्द्रको भ्रमण रद्द गरियो। त्यतिबेलादेखि इन्द्रजात्रामा पूर्वराजाले पाइला टेकेनन्।
 
त्यसैगरी कृष्णाष्टमिको बेला पाटनको कृष्ण मन्दिरमा जाने परम्परा पनि पूर्वराजाले धेरै पहिले नै छाडेका हुन्।
 
तीजको दिन पूर्व रानी कोमल र पूर्व युवराज्ञी हिमानी पशुपतिनाथको मन्दिरमा जाने परम्परा पनि कायम रहन सकेन।
 
पूर्वराजाको अनुपस्थितिमा परम्परा धान्नुपर्ने उनका एक्ला छोरा पूर्व युवराज पारस शाह पत्नी र छोराछोरीलाई छाडेर लामो समयदेखि थाइल्यान्डमै छन्। यस पटक पिता अस्वस्थ भएको खबरका बीच दशैँमा पनि उनी स्वदेश फर्केनन्।
 
अस्वस्थताका कारण पूर्वराजा ज्ञानेन्द्रले नसकेको भनिए पनि राजपरिवारप्रति आस्था रहेका समर्थक र शुभेच्छुकहरुलाई दशैँमा टीका र जमरा लगाइदिन पत्नी पूर्व रानी कोमल वा बुहारी पूर्व युवराज्ञी हिमानीले आँट गर्न सकेनन्।
 
हिमानीले असोज १५ गते आफ्नो ३९ औँ जन्मदिनको अवसरमा बूढानिलकण्ठस्थित असहाय तथा अनाथ बालबालिकालाई खाद्यान्न वितरण र पशुपति वृद्धाश्रममा आफ्नै पहलमा निर्माण गरिएको आश्रय स्थलको उद्‌घाटन गरेकी थिइन्।
 
 
 
   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell