PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

संविधानसभा छाड्ने दललाई ओलीको व्यङ्ग्य – एक दुई आँप झरेका हुन्



संविधानसभा छाड्ने दललाई ओलीको व्यङ्ग्य – एक दुई आँप झरेका हुन्

  • मनोज सत्याल/पहिलोपोस्ट-
काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेशकेन्द्रित दलले संविधानसभा बहिष्कार गर्नुलाई तराई-मधेश नै बाहिर गएको भनेर ब्याख्या गर्न नहुने बताएका छन्। पार्टी केन्द्रीय कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले भने – 'तराई बाहिर गएको होइन, केही-केही गएका छन्, तराई एमालेसँग छ, कांग्रेससँग छ।'

मधेशबाट प्रतिनिधित्व गर्नेका पार्टी सभसद् सहित पत्रकार सम्मेलनमा उपस्थित ओलीले पत्रकारहरुलाई मधेशी सभासद्हरु देखाइदिन सुझाव दिए। उनले टेलिभिजनका क्यामेरा पर्सन र फोटोपत्रकारहरुलाई आफ्नो पार्टीका मधेशी सभासद्हरुको फोटो खिच्न समेत आग्रह गरे।

उनले संविधान जारी गर्नका लागि झण्डै साढे ५ सय सभासद् अझै प्रक्रियामा रहेको उल्लेख गरे। 'पार्टीको मान्यता पाउनु बेग्लै कुरा हो – तराईका जनता संविधान बनोस् भन्ने चाहन्छन्, संविधान जारी गर्न चाहने अरु पार्टी छन्, थुप्रो पार्टी छन्', पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र गृहमन्त्री वामदेव गौतमसहित एउटै ड्यासमा बसेका ओलीले भने।


उनले संविधानसभा परित्याग गर्ने दललाई झरेको आँपको संज्ञा दिदैँ कथा सुनाए - 'एउटा बोटमा लटरम्म आँप फलेको रहेछ, तर २/३ वटा झरेपछि किसानले आँप त झरेर सकियो भन्छ। तर खासमा बोटमा आँप सकिएको हुन्न, केवल किसानले झरेको मन नपराएको हो।'

ओलीले आँपको कथासँग व्याख्या गर्दै संविधान जारी गर्न अझै दलहरु संविधानसभामा रहेको उल्लेख गरे। उनले संविधानसभा बहिष्कार गरेका दलहरुलाई इङगित गर्दै भने – 'संविधानसभामा तपाइँहरुलाई जनताले संविधान बनाउन पठाएको हो, छाडेर हिँड्न होइन।'

वार्ताको आह्वान

एमालेले मधेशमा आन्दोलनरत दलहहरुलाई वार्तामा सामेल हुन आह्वान गरेको छ। एमाले अध्यक्षले जारी गरेको विज्ञप्तिमा भनिएको छ – प्रधानमन्त्रीबाट आह्वान हुँदासमेत मधेशकेन्द्रित दलका नेताहरुमा वार्ताबाट समस्याको  समाधान खोज्ने गंम्भीरता र तत्परता नदेखिएको स्थितिप्रति अचम्भित भएका छौँ।'

एमालेले संविधानको जारी प्रक्रियामा सुस्तता अपनाइएको र वार्ताबाट निस्कने निकासलाई संविधानको जारी प्रक्रियाबाट समाधान गर्न सकिने धारणा राखेको छ।


'केही पार्टी भावनामा बगेको देखिन्छ', ओलीले भने, 'आउनुस् संविधानसभाबाट संविधान बनाऔँ, वार्ताबाट सहमति सामेल गर्ने प्रशस्त ठाउँ छ। ५४ वटा संशोधन छन्, सहमति भए भने अरु पनि विधि छन्, संविधान जारी नहुँदासम्म ठाउँ छ।'

एमाले अध्यक्ष ओलीले मधेशकेन्द्रित दलहरुले संविधानसभा छाडेपनि प्रदेशको सीमा जनताको माग अनुसार हेरफेर गरिएको उल्लेख गरे। 'उहाँहरु संविधानसभामा नहुँदा पनि माग सम्बोधन भएनन् भन्ने होइन, उहाँहरु कराउँदै हुनुहुन्छ, हामी माग पूरा गरिराखेका छौँ।'


'हिंसा आफैँ भएको होइन'

ओलीले तराईका जिल्लाको आन्दोलनमा जबरजस्ती हिसां भड्काएको टिप्पणी गरे। 'हिसां आफैँ भएको छैन', ओलीले तर्क गरे, 'बलजफ्ती हिसांको वातावरण श्रृजना गर्ने काम भएको छ, परिस्थितिलाई उत्तेजनातर्फ लैजाने काम र जिद्दी र अहंकार पुष्टि गर्न खोज्नु उचित होइन।' ओलीले संविधान जारी भए लगत्तै एमाले तराईमा जाने बताए।
 

यस्तो छ एमाले निष्कर्ष

एमालेले नेपाली जनता यतिबेला संविधान जारी हुने दिनको उत्सुकतापूर्ण पर्खाइमा रहेको ठहर गरेको छ। ९ बुँदे आह्वान पत्रमा एमालेले तराई – मधेशमा उत्पन्न असन्तुष्टिप्रति नेकपा एमाले गम्भीर र चिन्तित भएको उल्लेख गरेको छ। साथै एमालेले  तराईको आन्दोलनले संविधान निर्माणलाई नै अवरोध गर्ने कुराले जानी नजानी यथास्थितिवादी र प्रतिगामीलाई मात्रै फाइदा पुग्ने निष्कर्ष निकालेको छ। 'संघीयतालाई मात्र राज्य पुन: संरचना ठान्ने, खास समुदायलाई लाभ हुने खालको ढाँचालाई मात्रै संघीयता ठान्ने', अहिलेको विश्लेषणले कतिपय महत्वपूर्ण विषय छायाँमा पारिएको एमालेले जनाएको छ।


एमालेलाई अहिले मधेशी, थारु र अरु कतिपय समुदाय विरोधीका रुपमा चित्रण गर्ने षड्यन्त्रकारी दुष्प्रचार भएको भन्दै खण्डन गरेको छ। त्यस्तै अहिलेको विरोध संविधान बनाउनै नदिने प्रयोजनका लागि भएको गम्भीर शंका उत्पन्न भएको उल्लेख गर्दै पहिलो संविधानसभा विघटन अघि भएको उग्र प्रदर्शन भएको र विघटन लगत्तै शान्त भएको घटनालाई स्मरण गरेको छ।

एमाले अध्यक्षले जारी गरेको विज्ञप्तिमा राजनीतिक समझदारीमा अहिलेको समस्याको समाधान गर्न सकिने उल्लेख गर्दै भनिएको छ – भुइँको टिप्न खोज्दा गोजीको पनि गुम्ने उखान चरितार्थ नहोस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell