PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विमला तामाङले दिलाइन् नेपाललाई पहिलो पदक



विमला तामाङले दिलाइन् नेपाललाई पहिलो पदक
पदकका साथ विमला। फोटो : एपी

पहिलोपोस्ट-
काठमाडौँ :
दक्षिण कोरियामा भइरहेको एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। करातेको महिला कातामा धादिङकी १९ वर्षीया विमला तामाङले कास्य पदक जितेकी हुन्। 

उनले आज भएको खेलमा पाकिस्तानकी कुलसूमलाई पनि ४:१ ले क्वार्टरफाइनलमा हराएकी थिइन्। तर सेमिफाइनलमा भियतनामकी गुएन होआङ गानसित ०:५ ले पराजित भए पनि उत्तर कोरियाकी काङ जियुइलाई ५ :० ले हराउँदै कास्य पदक जितेकी हुन्।   

नेपालको पदक तालिकामा हालसम्म यही एउटा कास्य पदकमात्र रहेको छ। 

विमलालाई खेल्न पठाउनेलाई कारबाही?
करातेमा नेपालले कास्य पदक जिते पनि यसभित्रको आन्तरिक विवाद चरमचुलीमा पुगिसकेको छ। केही दिनअघि मात्रै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले विमला तामाङ र अनुपमा मगरलाई खेल्न पठाउने  ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटीमाथि कानुनी उपचार खोज्ने चेतावनी दिएका थिए।

लामाले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘सर्वोच्च अदालतबाट अवैध ठहर भएको ओलम्पिक कमिटीबाट नै सम्भावना बोकेका खेलाडीप्रति कुकार्य भएको हुँदा परिषद कानुनी उपचारको बाटो हिँड्न बाध्य भएको छ।' 

परिषदकै विशेष पहलमा गंगादेवी अधिकारी र चञ्चला दनुवारलाई राष्ट्रिय मान्यताप्राप्त नेपाल कराते महासंघको छनोट प्रतियोगिता पार गर्दै एसियाडलाई छानिएका थिए।

भागबन्डाको सहमति
राष्ट्रिय मान्यता प्राप्त महासंघ एउटा र अन्तर्राष्ट्रिय मान्यताप्राप्त महासंघ अर्को भएपछि यो अन्यौल भएको हो।  सदस्यसचिव लामाले पुरेन्द्रविक्रम लाखेलाई अध्यक्षबाट हटाउँदै दावा गुरुङको अध्यक्षमा कराते महासंघ पुनर्गठन गरेका थिए । तर, प्रधान नेतृत्वको ओलम्पिक कमिटीले लामाले हटाएका लाखे नेतृत्वको महासंघलाई नै अन्तर्राष्ट्रिय मान्यता दिलाएको थियो। त्यसलाई खेलकुद परिषद्ले भने मान्यता दिएको छैन। 

नेपाल ओलम्पिक कमिटीले दुवै महासंघका चार चार जना गरी आठ जनालाई खेलाउने भागवन्डे सहमति गरेको थियो। 

सोही भागवन्डा अनुसार गंगा र चञ्चलालाई खेलाडीको नभई अफिसियलको एक्रिडिएसन कार्डबाट कोरिया लगिएको थियो। त्यसैले उनीहरुले खेल्न नपाएका हुन्। 

राष्ट्रिय मान्यताप्राप्त महासंघले ६८ केजी माथि तौलमा गंगा र एकल कातामा चञ्चला छनौट गरेको थियो। अन्तर्राष्ट्रिय मान्यताप्राप्त महासंघले भने अनुपमा र अहिले पदक जितेकी विमलालाई छानेको थियो।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell