PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगीको मृत्यु



विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगीको मृत्यु

काठमाडौँ : विश्वका सबैभन्दा होचा व्यक्ति चन्द्रबहादुर डाँगीको ७६ वर्षको उमेरमा अमेरिकामा मृत्यु भएको छ। उपचारका क्रममा अमेरिकन समोअामा रहेको लिन्डन बी जोन्सन ट्रपिकल मेडिकल सेन्टरमा मृत्यु भएको उनका भतिजा दोलख डाँगीलाई उद्धृत गर्दै थानेश्वर गुरागाइँले पहिलोपोस्टलाई बताए।

'मृत्यु भएको नराम्रो खबर चन्द्र बाका भतिज दोलख डाँगीले फोनमा बताएका हुन्', डाँगीको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा लेखाउन सहयोग गरेको बताउने गुरागाइँले पहिलोपोस्टलाई भने, 'अमेरिकामा राति भएकोले सबै जानकारी लिन सकिएन।'

उनका अनुसार डाँगी विगत समयदेखि विभिन्न प्रदर्शनका क्रममा ६ महिनाको कन्ट्र्याक्टका लागि अमेरिका गएका थिए। गिनिज बुकमा नाम लेखिएपछि उनी विश्वकै आकर्षणको केन्द्र बनेका थिए। यसपछि उनलाई विभिन्न देशमा भ्रमणका लागि लगिएको थियो। 

अझै रहनेछ गिनिज बुकमा नाम

मृत्युपछि पनि चन्द्रबहादुर डाँगीको नाम गिनिज बुकबाट हट्ने भने छैन। किनभने उनको नाम गिनिज बुकमा विश्वकै होचा जीवित व्यक्तिका रुपमा नभएर विश्वमा अहिलेसम्म भेटिएकामध्येकै होचा व्यक्तिका रुपमा दर्ता भएको छ। उनको उचाइ ०.५४६ मिटर (एक फिट साढे नौ इञ्च) थियो जसले यसअघि रहेको भारतका गुल मोहम्मदको १ फिट १० इञ्चको उचाइको रेकर्ड तोडेको थियो। 
 

पत्ता लागेपछि तीन वर्षमात्रै बाँचे 

सल्यानको कालिमाटीमा विक्रम संवत् १९९६ मंसिर १५ गते जन्मिएका चन्द्रबहादुर डाँगी विश्वकै होचा व्यक्ति भएको पुष्टि सन् २०१२ मा मात्रै गरियो। त्यतिबेला उनी दाङको पुरन्धरा गाविसमा बसाइँ सरिसकेका थिए। गिनिज बुकको एउटा टिम सन् २०१२ को फेब्रुअरीमा उनी विश्वकै होचा व्यक्ति भएको दावी नेपाली मिडियामा छापिएपछि प्रमाणित गर्न नेपाल आएको थियो। प्रमाणित भएको २४ घण्टामा उनलाई गिनिज बुकले प्रमाणपत्र दिएको थियो। यसको तीन वर्षमा उनको निधन भयो।

 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell