काठमाडौँ : निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा कसैले पनि एकभन्दा बढी ठाउँमा उम्मेदवार हुन नपाउने संवैधानिक व्यवस्था गर्न संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई सुझाव दिएको छ।
प्रमुख आयुक्त निलकण्ठ उप्रेतिसहितको टोलीले समितिका सभापति डा. बाबुराम भट्टराईलाई भेटी यस्तो सुझाव दिएको हो।
हाल एकभन्दा बढी ठाउँमा उम्मेदवार हुन पाउने व्यवस्था छ। पछिल्लो संविधान सभा निर्वाचनमा शीर्ष नेताहरु नै दुई ठाउँमा उम्मेदवार बनेका थिए। प्रधानमन्त्री सुशील कोइराला, शेरबहादुर देउवा, माधव नेपाल, वामदेव गौतम दुई ठाउँमा उम्मेदवार भई निर्वाचन जितेका थिए। त्यसैगरी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई पनि दुई ठाउँमा उम्मेदवार भई एक ठाउँमा निर्वाचन जितेका थिए।
आयोगले समानुपातिक निर्वाचन प्रणालीमा तीन प्रतिशत मत पाउन नसक्ने दललाई संघीय तथा प्रान्तीय व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्न रोक लगाउने व्यवस्था गर्न पनि सुझाव दिएको छ।
त्यसैगरी समावेशिता सुनिश्चित गराउन बहुक्षेत्रीय मिश्रित बहुसदस्यीय निर्वाचन प्रणाली लागू गर्नुपर्ने आयोगले सुझाव दिएको छ।
