PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

३३ भोट ल्याएर हारेका थिए न्यायाधीश बमका सुटर इस्माइली संविधानसभा निर्वाचनमा



३३ भोट ल्याएर हारेका थिए न्यायाधीश बमका सुटर इस्माइली संविधानसभा निर्वाचनमा

काठमाडौँ : न्यायाधीश रणबहादुर बमलाई गोली हानी हत्या गरेको अभियोग लागेका सञ्जय इस्माइली मगर गएको संविधान सभा निर्वाचनका उम्मेदवार थिए। 

रामेछाप क्षेत्र नम्बर २ बाट चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालबाट उम्मेदवार भएका २८ वर्षीय इस्माइलीले जम्मा ३३ भोट पाएका थिए। 

आजै साउदी अरबबाट काठमाडौँ ल्याइएका सञ्जयबारे जानकारी दिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको पत्रकार सम्मेलनमा उनी राजनीतिक दलसँग पनि आवद्ध रहेको बताइएको हो। 

२०६९ जेठ १८ गते न्यायाधीश बमको शंखमुल युएनपार्क नजिकै गोली हानी हत्या गरिएको थियो। घटनामा संलग्न बाबु थापा भनिने मेघबहादुर थापा, शिव भनिने करण चौधरी, नविन भनिने प्रेमराज खड्का र दीपक कर्णलाई प्रहरीले गएको पुसमा समातेर सार्वजनिक गरिसकेको छ। 

बाबु थापा पनि चुरे भावर पार्टीसँगै आवद्ध हुन्। प्रहरीका अनुसार चुरे भावर एकता पार्टीको अध्यक्षमा आफूलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयमा अन्तरिम आदेश जारी गरी आफू प्रतिकूल फैसला गरेको निहुँमा उक्त दलका नेता बाबु थापासहितका व्यक्तिको संलग्नतामा न्यायाधीशको हत्या गरिएको देखिएको छ। तत्कालीन राजनीतिक परिस्थितिमा आफूलाई आधिकारिकता दिइएको भए मन्त्री बन्न सक्ने सम्भावनालाई उक्त फैसलाले तुहाइदिएको तुस उनले पोखेको अनुसन्धानले देखाएको छ। 

'न्यायाधीश बमलाई ताकेर पहिलो गोली नै सञ्जयले हानेका हुन्,' पत्रकार सम्मेलनमा जानकारी दिइयो। 

साउदी अरबमा ट्याक्सी चालक पेशामा रहेका इस्माइलीलाई नेपालमा नै रहँदा बम हत्याको अभियोगमा प्रहरीले दुईपटक पक्राउ गरेपनि पुष्टि हुन नसक्दा छाडेको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell