PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

​स्वामी प्रपन्नचार्यको निधन, कुटीमा नै समाधि गरिने



​स्वामी प्रपन्नचार्यको निधन, कुटीमा नै समाधि गरिने
Source: soluonline.com

काठमाडौँ: स्वामी प्रपन्नचार्यको ९२ वर्षको उमेरमा आज बिहान साढे तीन बजे निधन भएको छ। लामो समयदेखि पिसाब र श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित उनको मृगस्थलीस्थित आश्रममा नै निधन भएको हो।

उनको आज साँझ पशुपति क्षेत्रमा रहेको आफ्नै कुटीमा समाधि गरिने आफन्तहरुले जनाएका छन्।

तत्कालीन राजपरिषद् स्थायी समितिका सदस्य समेत रहेका उनले नेपाली भाषा, साहित्य, संस्कृतिसम्बन्धी धेरै अनुसन्धानमूलक कृति प्रकाशन गरेका छन्।


‘वेदमा के छ ?’ नामक उनको कृति चर्चित छ। किराँत जातिको इतिहासलगायत संस्कृतिसम्बन्धी धेरै कृति पनि प्रकाशित छन्। हालै नेपाल संस्कृत विश्वविद्यालयले उनलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गरेको थियो।

सरकारले उनको योगदानको कदर गर्दै आजीवन मासिक ३० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो। १९८० सालमा पाँचथरमा जन्मेका उनले ३० वर्षको उमेरदेखि लेखपढ प्रारम्भ गरेका थिए। 

को हुन् स्वामी प्रपन्नाचार्य?

१९८० सालमा पाँचथर जिल्लाको लालीखर्क बरडाँडामा जन्मिएका प्रपन्नाचार्यको खास नाम काले राई हो। वनारस संस्कृत विश्वविद्यालयबाट वेदशास्त्रमा आचार्य र विद्यावारिधि गरेका उनको एक दर्जन भन्दा बढी पुस्तकहरु प्रकाशित छन्।

प्राचीन हिन्दु विज्ञान, वेदमा के छ?, किराँतहरु मंगोलिसयाबाट आएका शरणार्थी होइनन् लगायतका उनका कृतिहरु चर्चित छन्। खोज, अनुसन्धान र विवेचनामा रुची राख्ने विद्वान प्रपन्नाचार्य संस्कृत, नेपाली र हिन्दी भाषाका ज्ञाता थिए।

उनी हिन्दु धर्म र संस्कृति आधुनिक विज्ञानसँग समन्धित भएको विचार राख्थे। उनी केही वर्षदेखि पशुपतिनाथ मन्दिरको पूर्वतर्फ चन्द्रेश्वर सत्तलमा बस्दै आएका  थिए। उनको योगदानको कदर गर्दै किराँत समुदायले अभिनन्दन पनि गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell