PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​सीमाङ्कनको असन्तुष्टिले बन्दैबन्द, कहाँ कति दिनदेखि बन्द?



​सीमाङ्कनको असन्तुष्टिले बन्दैबन्द, कहाँ कति दिनदेखि बन्द?

  • पहिलोपोस्ट-
काठमाडौँ : साउन २३ गते संवाद समिति अन्तर्गतको विशेष समितिले ६ प्रदेशको सीमाङ्कनको टुङ्गो लगायो। लगत्तै सीमाङ्कनमा विरोध जनाउँदै देशका विभिन्न स्थानमा आन्दोलन सुरु भयो।
 
त्यसअघि नै संविधानको पहिलो मस्यौदाबाट असन्तुष्ट बनेका संयुक्त मधेशी मोर्चाका दलहरुले आन्दोलनको घोषणा सुरु गरिसकेका थिए। तर सीमाङ्कन टुङ्गो भए लगत्तै विभिन्न स्थानमा आन्दोलन सुरु भयो।
 
मधेशका जिल्लाहरु यतिबेला बन्दले पल्सिएका छन्। कतिपय जिल्लामा खद्यान्न समेत अभाव देखिन थालेको छ। कतिपय स्थानमा दिनहुँ प्रदर्शन हुने गरेका छन्। सुर्खेतमा प्रदर्शनकै क्रममा तीन जनाले ज्यान गुमाइसकेका छन् भने सप्तरीमा एकको ज्यान गएको छ। कहाँ के का लागि प्रदर्शन भइराखेको छ त?  
 

कैलालीमा थारुको प्रदर्शन

दलहरुले सीमाङ्कन टुङ्गो लगाउने संकेत देखिएलगत्तै कैलालीमा थारुहरुले प्रदर्शन गरे। थारु कल्याणकारिणी सभाले आन्दोलनको नेतृत्व गर्‍यो।
 
कञ्चनपुर र कैलालीमा रहेका थारुहरुले बाँके, बर्दिया र दाङसमेत मिसाएर क्लष्टरको रुपमा आफूहरुलाई छुट्टै प्रदेशको माग गर्दै आएका थिए। तर कैलाली र कञ्चनपुर अखण्ड सुदुरपश्चिमको आन्दोलनसँगै सुदुरपश्चिममै कायम रह्यो। त्यस यता कैलालीमा दिनहुँ प्रदर्शन हुदैँ आएको छ। थरुहट संघर्ष समितिको नाममा कैलालीमा प्रदर्शन भइराखेको छ भने कैलाली बन्द छ। नाकाको रुपमा रहेको कैलाली बन्दको प्रत्यक्ष असर सुदुर पश्चिमका अन्य जिल्लाहरुमा परेको छ।
 

सुर्खेतमा प्रादेशिक राजधानीका लागि प्रदर्शन

मध्य पञ्चिमाञ्चल क्षेत्रको ब्यापारिक केन्द्रको रुपमा रहेको सुर्खेत प्रदेश विभाजनसँगै ६ नम्बर प्रदेशमा पर्‍यो। सुदूरपश्चिम जस्तै मध्यपश्चिम पनि अखण्ड राख्नुपर्ने र त्यसको राजधानी सुर्खेत हुनुपर्ने त्यहाँका वासिन्दाले माग राख्दै उग्र प्रदर्शन गरे। प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली नै चलायो जसमा तीन जनाको ज्यान गयो।
 
अखण्ड मध्यपश्चिमको आन्दोलन चर्काउन संघर्ष समिति गठन भयो। आन्दोलनमा ऐक्यवद्धता जनाउँदै ब्यापारीहरु पसल बन्द गरेर सडकमा उत्रिए।
 
मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १५ जिल्लामध्ये ८ वटालाई सुदूरपश्चिमाञ्चल विकास क्षेत्रसँग मिसाइएको र बाँकी ७ लाई तराईतिर जोड्ने गरी दलहरुले सीमांकनमा सहमति भएको थियो। उनीहरुले मध्य पश्चिमलाई अखण्ड राख्न माग गर्दै लगातार सुर्खेत बन्द गर्दै आएका छन्।
 

अखण्ड आन्दोलनमा रुकुम, नवलपरासी र बाग्लुङमा प्रदर्शन

सीमाङ्कनको क्रममा आफ्नो जिल्ला टुक्रयाइएको विरोधमा २४ गते बाग्लुङमा प्रदर्शन भयो। बाग्लुङ २४ गते र २५ गते बन्द रह्यो। तर दलहरुको छलफल पछि नटुक्र्याउने आश्वासनमा स्थानीयले आन्दोलन रोके।
 
नवलपरासीमा पनि अखण्ड भन्दै आन्दोलन भयो। तर नवलपरासीमै जिल्ला टुक्रयाइएकोमा दीपावली पनि भयो। तर २५ गते नवलपरासीको सदरमुकाम परासी बजारमा प्रदर्शन भयो र बन्द भयो। त्यसयता नवलपरासी नेपाल बन्द र मधेश बन्दको मारमा पर्दै आएको छ।

सीमाङ्कनका क्रममा टुक्रयाइएको रुकुममा पनि दिनहुँ प्रदर्शन हुने गरेको छ। रुकुमलाई टुक्रयाएर आदिलाई कर्णाली प्रति छाडिएको र जिल्लालाइ गरिब देखाउन खोजिकए भन्दै प्रदर्शन भयो। त्यहाँ नागरिक समाजले रुकुम अखण्ड राख्नुपर्ने माग राख्दै प्रदर्शन गर्दै आएका छन्। उनीहरुले पानी पर्दा समेत बेवास्ता गर्दै छाता ओढेर दैनिक प्रदर्शन र सभा गर्ने गरेका छन्।

जुम्लामा कर्णाली विशेष क्षेत्रका लागि प्रदर्शन

जुम्ला, हुम्ला लगायतका जिल्लाहरुमा पनि कर्णालीलाई छुट्टै राज्य नभए विशेष क्षेत्र बनाउन माग गर्दै प्रदर्शन हुँदै आएको छ। जुम्लामा आन्दोनका कारण कर्फ्यु आदेश नै जारी गर्नुपर्ने अवस्था बन्दै आएको छ। त्यहाँ प्रदर्शनकारीले सरकारी कार्यलय तोडफोड गर्दा यसै साता झडप समेत भएको थियो।
 
प्रदेशको सीमांकनमा कर्णाली अञ्चललाई सुदूरपश्चिमका जिल्लाहरु रहेको ६ नम्बर प्रदेशमा जोडिएको छ। ६ प्रदेशको सीमांकनबाट पनि कर्णाली अञ्चल उपेक्षित नै रहने निश्कर्ष निकालेर जुम्ला, हुम्ला,  डोल्पा, मुगु र कालिकोट जिल्लामा आन्दोलन भइरहेको छ। अरु जिल्लामा शान्तिपूर्ण प्रदर्शन,धर्नाहरु भए पनि जुम्लामा आन्दोलन बढी उत्तेजित देखिएको छ।
 

सप्तरी र कपिलवस्तुमा मा मधेशी मोर्चाको बन्दमा झडप

सप्तरी जिल्ला गत आइतबार र सोमबार संयुक्त मधेशी मोर्चा र नेकपा-माओवादी नेतृत्वको मोर्चाका कारण बन्द रह्यो। मंगलबारदेखि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको अनिश्चितकालीनको बन्दको मारमा छ।
 
सप्तरीमा मंगलबार प्रहरी र प्रदर्शनकारीबीच झडप भयो। झडपमा एक जनाको ज्यान नै गयो। मधेशी मोर्चाको बन्दले प्रभावित भएको सप्तरीको माग के हो भन्ने विषयमा प्रमुख दलहरु नै अन्यौलमा परे। कांग्रेसका रामचन्द्र पौडेलले माग नै नबुझिएको सार्वजनिक प्रतिक्रिया नै दिए।
 
कपिलवस्तुमा पनि मंगलबार झडप भयो। थारु र मधेशीहरुको बाहुल्यत रहेको कपिलवस्तुमा माग नै नयाँ बन्यो – 'अखण्ड मधेश थारुहट प्रदेश'। प्रदेश नं ५ रहेको कपिलवस्तु रोल्पा, प्युठान, गुल्मी जस्ता पहाडी जिल्लाहरुसँग समेत जोडिएको छ। मंगलबारको प्रदर्शनमा प्रहरीले गोली नै चलाउनु पर्‍यो जसमा ६ प्रदर्शनकारी घाइते समेत भए।
 

कहाँ कहाँ कति दिनदेखि बन्द?

पहिला नेपाल बन्द र लगत्तैको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आव्हान गरेको बन्दका कारण तराई/मधेशका जिल्लाहरुमा छटपटाहट बढेको छ। मुल्यवृद्धि भएका छन्। स्कूल, पसल, उद्योगहरु चलेका छैनन्। लामो दुरीका सवारी साधनहरु चल्न सकेका छैनन्।
 
पूर्वको झापा पाँच दिनदेखि बन्द रहेको छ। थारु संघर्ष समितिले झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा र उदयपुरमा थारु प्रदशेको माग गर्दै बन्द गरेका हुन्। त्यस्तै मोरङको विराटनगर पनि बन्दको चपेटमा छ। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अनिश्चितकालिन बन्दले ५ दिन यता विराटनगर पनि प्रभावित छ। उदयोगहरु चल्न सकेका छैनन्। उदयपुर, सप्तरी र सिराहामा पनि बन्द रहेका छन्। सबै भन्दा लामो बन्द भने कैलालीमा भएको छ। कैलाली बन्द भएको नौ दिन पुगेको छ।  जसका कारण बाहिर जिल्लाहरुमा जाने सामानहरु समेत धनगढीमा रोकिएपछि पहाडि जिल्लामा औषधी समेत अभाव हुन थालेका छन्।
 

सीमाङ्कन र प्रदेशको राजधानीको माग

उता नेताहरुले प्रदेशको राजधानीका लागि लबिङ सुरु गरेका छन्। प्रदेश नं ५ मा रहेको रुपन्देहीमा प्रदेशको राजधानी तोक्नुपर्ने र प्रदेशको नाम लुम्बिनी प्रदेश राख्न माग गर्दै त्यहाँ सधासद्हरुले शीर्ष नेताहरुलाई ज्ञापन पत्र नै बुझाए। प्रदेश नं ५ कै दाङका सभासद्हरुले भने दाङमा सदरमुकाम राख्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन्। यसरी विभिन्न स्थानमा प्रादेशिक राजधानीको विषयमा समेत पछिल्लो समय माग गर्नेहरु बढेका छन्। यसको स्वरुप पछि आन्दोलनमा बदलिनसक्ने अवस्था समेत यथावत् छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell