PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

आरोप लगाउनेलाई ज्योति मगरको जवाफ- जो आदर्शका कुरा गर्छन्, सबभन्दा ढोँगी तिनै हुन्



आरोप लगाउनेलाई ज्योति मगरको जवाफ- जो आदर्शका कुरा गर्छन्, सबभन्दा ढोँगी तिनै हुन्

‘ढाडे बिरालो…’ बोलको तीजको गीतमा गरेको अभिनयका कारण लोक गायिका ज्योति मगर यतिबेला चर्चामा छिन्, भलै उनको चर्चामा नकारात्मकता ज्यादा छ। बुधबार सामाजिक सञ्जालमा एउटा हल्ला चल्यो- एउटा गीतको सुटिङका क्रममा कुटिइन्। त्यसैका बारेमा कुरा गर्न पहिलोपोस्टले ज्योतिलाई भेटेको थियो। पहिलोपोस्टसँग कुराकानी भैरहँदा कयौँपटक ज्योतिको फोन आयो। जजसले फोन गर्थे, सबैको चासो हुन्थ्यो- तिमी ठिक छौँ? ज्योतिको जबाफ हुन्थ्यो- ‘म एकदम ठिक छु।’ उनी आफूलाई केही नभएको प्रष्टीकरण दिइरहेकी थिइन्। ‘म त हैरान भैसकेँ, साइबर क्राइम अन्तर्गत मुद्दा हाल्नुपर्ला जस्तो भयो’, उनी भन्दै थिइन्।

रोल्पाको नुवागाउँमा जन्मेकी ज्योति मगर स्कुले जीवनदेखि नै गायन क्षेत्रमा आकर्षित भइन्। रोल्पाबाट प्राथमिक शिक्षा र दाङबाट माध्यमिक शिक्षा गरेपछि उनी उच्च शिक्षाका लागि काठमाडौं आइन्। बच्चैदेखि गीत गाउने ज्यतिले स्कुले विद्यार्थी छँदा नै राष्ट्रिय स्तरका पुरस्कार जितिसकेकी थिइन्। व्यवसायिक गायन यात्रा भने उनले ६२/६३ सालपछि सुरु गरेकी हुन्। ग्ल्यामर दुनियाको विवाद र बहसको केन्द्रमा रहने ज्योति गीतमात्र गाउँदिनन्, लेखन, अभिनय र रेडियो नाटकमा पनि उत्तिकै जमेकी छन्। उनले मगर भाषाको फिल्ममा पनि अभिनय गरेकी छन्। पछिल्लो समय उनका बारेमा भैरहेको आलोचना र आसपासका विषयमा उनीसँग पहिलोपोस्टका रविराज बरालले गरेको कुराकानीः

भिडियो सुटिङका क्रममा तपाईँलाई बालाजुका स्थानीय महिलाले कुटपिट गरे रे नि हो? आज दिनभर सोसल मिडियामा, खासगरी ट्विटरमा, तपाईँकै चर्चा थियो।

पहिलो त यो गलत कुरा हो। दोश्रो कुरा, जजसले सामाजिक सञ्जालबाट प्रतिक्रिया दिनुभएको छ, उहाँहरुको ‘लेभल’ के हो? हुँदै नभएको कुराको पछि लाग्ने काम भएको छ। मलाई साथीहरुले सुनाइरहेका छन्- उक्त गलत कुरा भाइरल भैरहेको छ रे। म त बिहानैदेखि घरमा छु। हिजो दिनभर पनि म फोटो सुटमा थिएँ किनभने नयाँ कम्पनीसँग मेरो कन्ट्र्याक्ट भएको छ। आज बिहान उठ्नेबित्तिकै म यही कुरा सुनिरहेको छु। वास्तविक कुरा नबुझी समाचार साइट वा सामाजिक सञ्जालमा लेख्ने हिम्मत कसरी गर्नुभयो? सुनेका भरमा बोल्नु हुन्छ?

तपाईँ कुटिएको कुरा सत्य होइन उसोभए?

यो एकदम गलत कुरा हो। यो विषयमा म बोल्न नचाहँदा नचाहँदै पनि मैले खण्डन गर्नुपर्ने भएको छ। म यो विषयलाई लिएर साइबर क्राइम अन्तर्गत पनि जानसक्छु। म साथीभाइसँग सरसल्लाह गर्दैछु।  

ढाडे बिरालो बोलकी गीतमा रहेछ- ‘यो गर्दा नि पिरलो, ऊ गर्दा नि पिरलो। तपाईँलाई पनि पिरलै रहेछ है? तपाईँमाथि त छाडा भएको आरोप लगाइरहेका छन् नि मान्छेहरु?

छाडाको मापदण्ड के हो? सबै मान्छेलाई सबै कुरा मनपर्छ भन्ने छैन। मन नपरेको कुरा नहेर्दा हुन्छ। मन पराउन र नपराउन सबैलाई छुट छ। यो आलोचित हुनुपर्ने गीत नै होइन। ल ठिकै छ यसका बारेमा आलोचना नै गर्नुपर्छ रे, म त्यो गीतमा खेल्ने मोडलमात्र हो। म सर्जक, लेखक, गायक वा डाइरेक्टर होइन। गीत सेन्समा छ, तर गीतको अर्थ नै नबुझ्नेहरुले ‘ननसेन्स’ कुरा गरिरहेका छन्, किनकि उहाँहरुको ‘लेभल’ नै त्यही हो।

तर तपाईँको पोसाक र हाउभाउ भड्किलो भएको त हो नि

त्यस्तो होइन। समाज बदलिएको छ। समाज खुला संस्कृति चाहिरहेको छ तर केही मान्छेको सोंच बदलिएको छैन। ज्योतिले के राम्रो गर्‍यो भन्दा पनि के नराम्रो गर्‍यो भनेर खोज्ने मान्छेहरु छन्। जो मेरो राम्रो चाहनुहुन्न, उहाँहरुले संस्कार र संस्कृतिको आड लिएर गलत चलखेलमात्र गर्नुभएको हो। जो आदर्शको कुरा गर्छन्, तिनै मान्छे समाजका सबैभन्दा खराब मान्छे हुन्, सबैभन्दा ढोंगी मान्छे तिनै हुन्। अहिले ६ लाख भन्दा बढीले यो भिडियो हेर्नुभएको छ। मन पराएर त हेर्नुभयो होला त।

तपाईँले यसो भनिरहँदा दुई अर्थी लाग्नेखालका शब्द गीतमा हुन्छन्। एकहदसम्म त समाजले आलोचना गर्नु ठिकै होइन र?

हेर्नुस्, हरेक कुरा दुई अर्थी हुन्छ। मान्छेलाई फूलजस्तो, जूनजस्तो भन्छौँ हामी। के त्यो फूलजस्तै हुन्छ त? जून जस्तै हुन्छ त? म त हरेक कुरा अनेकअर्थी, बहुअर्थी देख्छु। त्यो दृष्टिकोणको कुरा हो। छाडाको मापदण्ड के हो? यो त मान्छेको सोंच र दृष्टिकोणले फरक पार्ने कुरा हो। कलालाई कसरी लिने, कसरी बुझ्ने भन्ने कुरा हो। फूलको आखामा फूलै संसार, काडाको आखामा काडै संसार। तपाईँको दृष्टि के हो, त्यसमा भर पर्छ।

लोक गायक रामप्रसाद खनालले हिट हुने भूत चढेको हो भने  ब्लु फिल्म खेल्दा चर्चित हुन झन् छिटो होला, बरु त्यतै लाग्छेउ कि नानीभनेर फेसबुकमार्फत तपाईँलाई सुझाव दिनुभएछ नि। तपाईँको जवाफ के छ?  

उमेरका हिसाबले म उहाँको छोरीजस्तो मान्छे हो। छोरीजस्तो मान्छेलाई ‘ब्लु फिल्म’ खेल भनेर सुझाव दिनेको औकात के हो भन्ने कुरा हो। जहाँसम्म खेल्ने कुरा रह्यो- ब्लु फिल्मका बारेमा उहाँलाई थाहा रहेछ, बनाउनुस्, खेल्नुस्, त्यो फिल्ममा आफ्नी छोरीलाई पनि खेलाउनुस्, अनि म पनि खेलुँला।

तपाईँका बारेमा आएका समाचार पढ्दा मिडियामा तपाईँलाई एउटा बोल्डकलाकारका रुपमा पनि प्रस्तुत गरिँदो हरेछ। तपाईँलाई चाहिँ आफू कस्तो मान्छे लाग्छ?

म पनि एउटा मान्छे हो। म भित्र पनि भावना छन्। म बोल्ड पनि छु, गोल्ड पनि छु। परिस्थितिअनुसार बग्न सक्छु, वातावरणअनुसार रम्न र रमाउन सक्ने क्षमता छ। यहाँ ग्ल्यामरलाई बोल्ड भन्ने चलन छ। बोल्ड भनेको त जस्तोसुकै कठिन परिस्थितिमा संघर्ष गरेर अगाडि बढ्न सक्ने क्षमता हो। त्यसअर्थमा भन्नुहुन्छ भने म बोल्ड नै छु।

तपाईँका पछिल्ला गीत, अभिनयमा तपाईँको हाउभाउ र भेषभुषाले गर्दा संस्कृति दुषित पारेको आरोप छ। सुरुदेखि नै तपाईँका गीत यस्तै हुन् र?

लोकसंस्कृतिमा विकृति भित्र्याएको आरोप जसजसले लगाउँछन्, उनीहरुले राम्रो कुरालाई कहिल्यै पनि ‘एप्रिसियट’ गर्न सकेनन्। राम्रो कुरालाई ‘एप्रिसिएट गर्ने भए त उहाँहरु ढाडे बिरालोजस्तो गीतमात्रै त हेर्नुहुँदैनथ्यो नि। उहाँहरुले मेरो ‘उही मुलाको चाना’ हेर्नुहुन्थ्यो, ‘मायासँग’ भन्ने एल्बम हेर्नुहुन्थ्यो। उही मुलाको चानाले मलाई ज्योति मगर बनाएको हो। जसले अहिले ‘ढाडे बिरालो’ को आलोचना गर्नुभएको छ, उहाँहरुले हिजो ‘उही मुलाको चाना’ लाई ‘एप्रिसिएट’ गर्नुभयो त? यो भन्दा अघिको तीजको गीत ‘टिपन सकिन खाइन बरिलै’ मेरा आमाहरुको पालमा गाउने गीत हो। त्यसरी नै गाएको छु, भेषभुषा पनि परम्परागत नै छन्। खै त त्यसको चर्चा गरेको? अपेक्षा चाहिँ ढाडे बिरालोको गर्ने, अनि गाली पनि गर्ने? एकपटक सोच्नुपर्‍यो- उहाँहरुले आफूलाई गाली गर्‍या कि मलाई ?

फेरि पनि तपाईँ प्रायः किन छोटा लुगामा नै अभिनय गर्नुहुन्छ?  

मेरो ड्रेसको बारेमा यहाँ खुब कुरा उठ्छ। मेरो गीतहरु अलि ‘स्पाइसी’ छन्। मैले गुन्युचोली लगाएर ‘पिरतीमा दम छ’, ‘उही मुलाको चाना’ गाएँ भने सुहाउला त? अथवा मैले स्कर्ट वा वनपिस लगाएर ‘रुँदैरुँदै जान्छु मेला’ भन्ने गीत गाउँदा पनि सुहाउँदैन होला। त्यो तालमेलको कुरा हो, प्रस्तुतिको कुरा हो। नमिल्दो कुरा गर्‍यो भने त दर्शक/स्रोताले रुचाउँदैनन् नि।

लोकगीतमा विकृति आयो, यसको मौलिकता हरायो भन्ने कुरा त केही वर्षदेखि उठि नै रहेको छ नि। हैन र?

मौलिकता भनेको के? लोकगीत ‘टिपिकल’ भएन भनेर गुनासो गर्नेहरुलाई मेरो प्रश्न छ- टिपिकल लोकगीत भनेको कस्तो हो? मलाई देखाइदिनुस् न। अहिले रेकर्ड हुने कुनै पनि गीत टिपिकल होइनन्। टिपिकल लोकगीत हुन त टिपिकल मेलोडी र बाजा चाहियो। सारंगी, बासुरी, मादल, खैजडीमात्र प्रयोग हुनुपर्‍यो। यदि टिपिकल नै बनाउने हो भने कम्प्युटर प्रयोग नै गर्नुभएन। मेरो आफ्नो शैली छ। सबैको आआफ्नो शैली छ। समाजसँगै परिमार्जन र परिवर्तन हुँदै जानु नै लोकगीत हो। आजभन्दा भोलि यो फेरिन्छ। यो बुझ्नुपर्‍यो।

एकातिर तपाईँको आलोचना बढेको छ त अर्कोतिर तपाईँको व्यस्तता। कार्यक्रमहरु लिएर विदेश पनि गैरहनुहुन्छ। विकृति भित्र्याएको भए त बजारले तपाईँलाई नरुचाउनुपर्ने। तपाईँको आलोचना र मागबीचको सम्बन्ध के हो?

(लामो हाँसो) यी दुईबीच त्यस्तो सम्बन्ध छैन। म कार्यक्रम लिएर घुमिरहन्छु। एकथरी मेरा समर्थक हुनुहुन्छ- सर्जक अनि स्रोता। उहाँहरु मेरो माग गर्नुहुन्छ, माया गर्नुहुन्छ। आलोचनाले त्यसलाई कुनै असर नै गर्दैन। अर्का छन्, आलोचक। उनीहरु पनि भित्र कतै मलाई माया नै गर्छन्। तर कतिपयले मलाई नराम्रो नै भन्छन्। तर नराम्रो भन्नेहरुको पनि के भयो भने- उहाँहरुको ‘थिंकिङ प्यार्टन’ एउटा छ, भित्री चाहना अर्को छ। सोच्नुहुन्छ एकथोक, बोल्नुहुन्छ अर्कोथोक। बाहिर खोक्रो आडम्बर र ढोंग देखाउने चलन छ। यो ठिक होइन।

यो अन्तिम प्रश्न हो। अन्त्यमा के भन्न चाहनुहुन्छ?

तीजका अवसरमा मेरो आफ्नै पनि गीत आउँदैछ। अहिले चर्चा वा आलोचना भैरहेको ‘ढाडे बिरालो’ मा मैले अभिनयमात्र गरेको हो, यो मेरो आफ्नै गीत होइन।

अर्को कुरा, एउटालाई गाली गर्ने बहानामा हामी कतिसम्म गिर्न सक्छौँ भनेर मूल्यांकन गरौँ। सामाजिक सञ्जालमा मलाई गाली गर्नेहरुलाई मेरो आग्रह छ- मलाई गाली गर्ने नाममा तपाईँ आफै असभ्य त बन्नुभएको छैन? गीतको भाव नै नबुझी एकोहोरो गाली त गर्नुभएको छैन? आफ्नो अनुहार ऐनामा हेर्नुहोस्, अनि मलाई गाली गर्नुहोस् भन्न चाहन्छु। अर्को कुरा जसले मेरो राम्रो कुराको ‘एप्रिसियट’ गर्दैन, उसलाई गाली गर्ने अधिकार पनि छैन। गाली गर्ने अधिकार त्यसलाई छ, जसले मेरो राम्रो कुरालाई ‘एप्रिसिएट’ गर्छ। हैन भने सुनेका भरमा लहैलहैमा लागेर गाली गर्नु भनेको बालुवामा पानी खन्याएजस्तै हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell