PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

काठमाडौंमा ७ रोपनीमा गाई पालेर बसेका थिए राजेश्वर देवकोटा



काठमाडौंमा ७ रोपनीमा गाई पालेर बसेका थिए राजेश्वर देवकोटा

  • विनोद ढकाल/अंगद ढकाल-
काठमाडौंः वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार राजेश्वर देवकोटाको महाराजगञ्जस्थित निवासमा आज बिहान ११ बजे पुग्दा घरायसी कामका सहयोगी गोवर्द्धन धिताल आँगनमा भेटिए। भर्खरै मठ लिपेर बसेका वृद्ध धितालले भने 'बुबालाई एक छिन यहाँ पनि ल्याउने कुरा भएको छ त्यसैले लिपेर राखेको।'

घर सुनसान थियो। देवकोटाका भान्जा र भान्जीबुहारी घरमै भएपनि बाहिर थिएनन्। एक हप्ताअघि अमेरिकाबाट आएका छोरा पनि देवकोटाको निधन भएको बाँसबारीस्थित न्युरो अस्पतालमा नै थिए। अरु आफन्त र शुभचिन्तकहरु पनि अस्पतालतिरै भएकाले हुनसक्छ घर सुनसान थियो। धिताल निन्याउरो अनुहारमा आँगनमा टहलिँदैथिए। हामी पुगेपछि उनले देवकोटाको सम्झना गर्न थाले। 'होचो मान्छे, ढाका टोपी लाएर ठिमठिम हिँड्दा कस्तो राम्रो सुहाउँथ्यो, त्यस्तो मान्छे पनि बितेर जानुभयो' उनी निन्याउरो भए।

७ रोपनी जग्गा र त्यहीँ बिचमा बनेको दुई तले घर छ राजेश्वर देवकोटाको। उनले घरमा ३ वटा गाई पालेका रहेछन्। बारीमा घिरौंला, भिन्डी जस्ता तरकारीसँगै आँप, नास्पाती, हलुवावेद भोगटे, निबुवा,  अनार, आरुबखडा लटरम्म छन्। तेजपात, निम लगायतका जडिबुटी पनि छ।

'त्यो बाँसको झ्याङ पनि हो' धितालले औंलाले देखाए। 'तरकारी किन्नै पर्दैन, यहीँ फलेकोले पुग्छ, पोहोर आफैले निम ल्याएर रोप्नुभयो,' धितालले सम्झिए 'कसैले केही नयाँ जातको विरुवाको कुरा गरे भने ल्याएर रोपिहाल्नुहुन्थ्यो।'

देवकोटाको आँगनमा दुईवटा कुकुरले पहरा दिइरहेका थिए। घरको पछाडिपट्टी रहेको गोठमा तीनवटा गाइ छन्, त्यसमध्ये एउटा दूधालु र दुईवटा बाच्छी।  

धितालले देवकोटाको ब्यक्तिगत आनीबानी पनि बताए। पछिल्लो समय राजनीतिबाट निश्क्रिय रहेका देवकोटा धेरै समय पढाइलेखाइमा बिताउथे। 'रातभरी लेखेको लेख्यै गर्नुहुन्थ्यो, निन्द्रा असाध्यै पातलो थियो' उनले भने। बिहान ३ बजे उठ्ने देवकोटा शौचालय गएर आएपछि झण्डै डेढघण्टा योगा गर्थे। कहिलेकाँही बारीमा आफै कोदालो लिएर खन्न पुग्थे। 'कुन विरुवालाई कति मल हाल्नुपर्छ कहिले हाल्नुपर्छ सिकाउनुहुन्थ्यो' धितालले भने।

सुरुम जनै खटिरा आयो भनेर अस्पतालमा जँचाउन गएका थिए देवकोटा। 'बुबामा पायल्सको समस्या पनि रहेछ, फोक्सोमा पनि समस्या रहेछ' धितालले भने। एक हप्ताअघि भेट्न अस्पताल पुग्दा देवकोटाले भनेका कुरा उनी सम्झिन्छन्। 'किन आएको त, घर त्यसै छोडेर, म तीन दिनपछि आइहाल्थेँ नि' देवकोटाले भनेको कुरा उनले सम्झिए 'हजुरको असाध्यै नियास्रो लागेर आएको बुबा भनेँ।'

धितालबाजेकी पत्नी देवकोटाकी भान्से थिइन्। उनले नै खाना बनाएर खुवाउने र स्वास्थ्यको ख्याल राखिदिन्थिन्। मेरी बुढीलाई असाध्यै विश्वास मान्नुहुन्थ्यो, हामीले जे भनेपनि पुर्‍याइदिनुहुन्थ्यो' उनी निन्याउरो भए  'अब मेरो बिजोग हुने भयो।'

हामीसँग गफिदै गर्दा देवकोटाकी भान्जी बुहारीले घरभित्रबाट बोलाइन्। त्यसपछि वृद्ध भित्र पसे, हामी त्यहाँबाट निस्कियौं।






@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell