PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

​‘४ नेताका लागि २ अर्ब खर्चेर सुझाव संकलनको नाटक मञ्चन गरियो’



​‘४ नेताका लागि २ अर्ब खर्चेर सुझाव संकलनको नाटक मञ्चन गरियो’
फाइल फोटो

काठमाडौं : संविधानसभाको बैठकमा संविधानको प्रारम्भिक मस्यौदामाथिको सुझाव प्रतिवेदनमा छलफल सुरु भएको छ। मंगलबार पेश गरिएको प्रतिवेदनमाथि सभासदहरुले बुधबार दिनभरी धारणा राख्नेछन्।

सुझावमाथिको छलफल बुधबार नै सिध्याउने तयारी छ। प्रतिवेदनमा ७५ जिल्लाका १ लाख ८४ हजार ६ सय ४७ जनाले प्रत्यक्ष सुझाव दिएका थिए। देशभरबाट १ लाख ५३ हजार १ सय ९३ सुझाव संकलन भएको छ।

अनलाइन, टेलिफोनबाट ३३ हजार ७ सय ५३ वटा तथा विदेशमा भएका अन्तरक्रियाबाट ४ हजार ९ सय ९५ वटा सुझाव संकलन भएको प्रतिवेदनमा उल्लेख छ । संविधानसभामा छलफलपछि सुझावलाई मस्यौदामा समेटिनेछ।

४ मधेशी दलको बहिस्कार

संविधानसभामा बुधबार सुरु भएको मस्यौदाको सुझाव प्रतिवेदनमाथिको छलफल मधेशवादी चार दलले बहिस्कार गरेका छन्। संघीय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश सद्भावना पार्टी र सद्भावना पार्टीले बहिस्कार गरेका हुन्।

संविधानसभा बैठक सुरु भएपछि सभासद लक्ष्मणलाल कर्णले धारणा राख्दै सुझाव प्रतिवेदनमाथिको छलफलको औचित्य नभएको दाबी गरे। उनले सुरक्षा घेराभित्र सुझाव संकलन गरिएको दाबी गर्दै यसको अर्थ नहुने बताए। एउटा कार्यक्रममा ५ सय देखि  एक हजार प्रहरी राखेर सुझाव संकलन गरिएको कर्णको भनाई छ। 

संविधानको प्रारम्भिक मस्यौदा चार दलका चार नेता बाहेक अरुले स्वीकार नगरेको भन्दै कर्णले मस्यौदा कसका लागि बनेको हो भनेर प्रश्न गरे। संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा भएका सहमति पनि मस्यौदा समितिले उल्टाएको, दलित र जनजाति समुदायले मस्यौदाको विरोध गरेका कारण फेरि पुनर्लेखन गर्न कर्णले माग गरे। 

उनले २ अर्ब रुपैयाँ सकेर सुझाव संकलनको नाटक मञ्चन गरिएको दावी गरे। ‘म चार दल पनि भन्दिन ४ नेताका लागि यो नाटक मञ्चन भइरहेको छ’, कर्णले भने ‘जुन दिनदेखि सविधान बन्छ, त्यही दिनदेखि जल्न सुरु हुन्छ।’  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell