PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मोदीलाई नेपालसित नजिक्याउने भारतीय मन्दिरका 'हाइप्रोफाइल' नेपाली पुजारी



मोदीलाई नेपालसित नजिक्याउने भारतीय मन्दिरका 'हाइप्रोफाइल' नेपाली पुजारी

उमेश श्रेष्ठ/पहिलोपोस्ट-
वाराणासी : संविधानसभा बैठकमा गएको साउनमा सम्बोधन गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काशीस्थित विश्वनाथ मन्दिरका नेपाली पुजारीले आफ्नो नेपालसँगको नाता अझै गाढा बनाएको बताएका थिए।
 
भारतको सांस्कृतिक राजधानी मानिने काशीको संसदीय क्षेत्रबाट निर्वाचन जितेर प्रधानमन्त्री भएका मोदीले भनेका थिए, 'जब म काशीको प्रतिनिधि बनेँ, मेरो नेपालसँगको नाता अझै जोडियो। किनभने काशीमा एउटा मन्दिर छ, जहाँ पुजारी नेपालको हुने गर्छ। र, नेपालमा पशुपतिनाथ छ, जहाँका पुजारी भारतीय हुन्छन्।'
 
मोदीले यसो भनिरहँदा बैठक सभासद्हरुको तालीले गुञ्जायमान बनेको थियो।
 
को हुन् त भारतको महत्त्वपूर्ण मन्दिरमा बसेर नेपालसित मोदीलाई अझै नजिक्याउने ती 'हाइप्रोफाइल' पुजारी? यो थाहा पाउन पहिलोपोस्ट टिम भदौको दोस्रो साता काशी पुगेको थियो।
 
काशी विश्वनाथ मन्दिर
हिन्दुहरुको पवित्र तीर्थस्थल काशीमा रहेको एउटा प्रमुख मन्दिर काशी विश्वनाथ मन्दिर हो। भगवान शिवको यो मन्दिर दर्शन गर्न प्रति वर्ष लाखौँ यात्री आउँछन्।
 
ध्वनि प्रदूषणमा कुख्याति कमाएको काशीका साँघुरा सडकबाट काठमाडौँको असनभित्रका जस्ता साना गल्लीहरुबाट केही मिनेट अगाडि बढेपछि कडा सुरक्षा घेरामा रहेको विश्वनाथ मन्दिर देखिन्छ।
 
मन्दिरमा २१ जना पूजारी छन् तर मुख्य गर्भगृहमा पूजा गर्ने अनुमति ११ पुजारीलाई मात्रै छ। तिनैमध्ये एक हुन् बाग्लुङको भीमपोखरा गाविसमा जन्मिएका टेकनारायण उपाध्याय।
 
पहिलोपोस्ट संवाददाता राति नौ बजे मन्दिर पुग्दा उपाध्याय आफ्ना भारतीय सहकर्मीहरुका साथ १२ ज्योतिर्लिंगमध्ये एक विश्वेश्वर ज्योतिर्लिङ्ग शृङ्गार गर्दै थिए। भारतीय पुजारीहरु लगातार मन्त्रोच्चारण गर्दै थिए, उनी भने मन्त्रोच्चारणसँगै ज्योतिर्लिङ्गलाई एकपछि अर्को गर्दै फूलमालाहरुले सजाउँदै थिए। एक घण्टाभन्दा लामो समय सजावट र भोगआरती पछि केही भारतीय सहयोगी पुजारीहरुले उनलाई खुट्टैमा ढोगे।
 
बाग्लुङदेखि बनारससम्म
'विश्वनाथ मन्दिरको सेवामा लागेको १४ वर्ष भयो', पुजारी बन्नुभन्दा पहिलेदेखिको आफ्नो निवासमा पहिलोपोस्टसित कुरा गर्दै उपाध्यायले भने, 'सेवा शर्त नियमावली बनिनसकेकोले जबसम्म शरीर चल्छ, ७०-८० वर्षसम्म पनि, सेवा गर्ने अवसर पाइन्छ।'
 
उत्तर प्रदेश राज्य सरकार मातहत रहेको ट्रस्टले सबै पूजारीलाई तलबभत्ता दिएर मन्दिर सञ्चालन गर्ने गरेको छ। उनको तलब भारु १५ हजार रुपियाँमात्रै हो। तर रकमभन्दा पनि सबैतिरबाट आफूले पाउने सम्मानलाई उनी गौरवका साथ लिन्छन्।
 
काठमाडौँको पशुपतिनाथमा जस्तो विश्वनाथ मन्दिरमा नेपाली पुजारी हुनुपर्ने परम्परा भने छैन। 'विश्वनाथ मन्दिरको अहिलेसम्मको इतिहासमा म नै पहिलो नेपाली पुजारी हुँ, उनले भने।
 
'म स्याङ्ग्जाबाट बस चढ्दै गोरखपुर पुगेको थिएँ,' १६ वर्षको उमेरमा बाग्लुङदेखि बनारससम्मको यात्रा सम्झँदै उनले सुनाए, 'काशी आउँछु भन्ने थियो। तर काशीको बारेमा मलाई केही थाहा थिएन। इतिहासमा पढेको थिएँ काशी संसारभन्दा अलग छ, भगवान पशुपतिनाथको त्रिशुलमा बसेको छ काशी।'
 
'यहाँ आएपछि कति दिन भोकै बस्नुपर्‍यो। कति दिन घाटका सिँढीहरुमा सुत्नुपर्‍यो', आफ्नो स‍ंघर्षका दिनहरु सम्झँदा उनी भावुक देखिए।
 
बाग्लुङमै हुँदा उनले रामकोटस्थित परमानन्द वेद विद्यालयमा पढेका थिए। पन्डित पिताकै साथमा लागेर उनी पनि पूजाआजा लगाउने काम गर्थे। काशीमा पनि एक वर्षपछि  पूजापाठ गर्न सुरु गरे। सँगसँगै बनारस हिन्दु विश्वविद्यालयमा अध्ययन पनि जारी राखे।
 
अध्ययनकै क्रममा सन् १९९० मा काशी नरेशको पुजारी बन्ने मौका पाए। 'परीक्षा दिएर छनौट भएको हुँ', उनले भने, '८० जनाले परीक्षा दिएकोमा दुई जना छनौट भएका थिए जसमा म पनि परेँ।'
 
'काशी नरेशलाई वेद सुनाउन म नियुक्त भएको थिएँ,' उपाध्याय सम्झन्छन्‌, 'त्यसपछि मलाई पढ्न र दैनिक खर्च जुटाउन समस्या भएन।'

 
सेनामा भर्ती
सन् १९९५ मा उनी भारतीय सेनाको गोर्खा फौजमा भर्ती भए। त्यतिबेला उनी भर्खर २०/२१ वर्षका थिए।
 
फौजमा भर्ती भएपछि उनले आफ्ना पितालाई यो खबर सुनाउन चाहे। 'त्यतिबेला अहिले जस्तो मोबाइलको सुविधा थिएन, तार पठाउनु पर्थ्यो। म हजुरसित बात गर्न चाहन्छु भनेर तार पठाएँ। एक हप्ता लाग्थ्यो सदरमुकाम आउन', आफ्नो जीवनधार परिवर्तन गर्ने त्यो क्षण सम्झँदै उनी भन्छन्, 'पिताजीलाई मैले म सेनामा भर्ती भएको कुरा सुनाएँ।'
 
'म सेनामा भर्ती त भएँ, अब हजुरको आदेश के छ भनेर सोध्दा उहाँले भन्नुभयो, सेनामा गएर आफ्नो जीवन त आरामले बिताउने भइस् बाबु, म मरेपछि पिण्ड र जल कसले देला?'
 
पिताको अन्तरक्लेष देखेर उनले क्रान्तिकारी निर्णय लिए। र, तत्कालै भने, 'म सेनामा जान्नँ पिताजी।'
 
सेनाको जागिर खान उनी त्यहाँबाट फर्केर कहिल्यै गएनन्।  
 
१९९७ मा उनले वेदको परीक्षामा स्वर्ण पदक पाए। त्यसपछि उनलाई स्वर्गद्वारीदेखि जनकपुरसम्मबाट वेद पढाउने अफर आयो।
 
नेपाल जान तयार पनि भइसकेका थिए। तर त्यसअघि सल्लाह लिन बनारसकै एक जना कहलिएका सन्त कहाँ गए। उनले 'कल तुम्हेँ बताएँगे' भन्दै फर्काइदिए।
 
त्यही रात उनले सपनामा विश्वनाथ दर्शन गरिसकेपछि एक जना सन्तले प्रसाद लिऊ भनेर दिएको देख्छन्। भोलिपल्ट सन्तलाई त्यही कुरा सुनाएपछि उनले भनेछन्, 'अब तुमको काशी छोडके कहीँ नहीँ जाना है।'
 
'बाबा विश्वनाथले तिमीलाई पोको दिएका छन्, त्यसैबाट जीवनपर्यन्त खाँदै बस, कहिल्यै सकिने छैन, कतै जानु पर्दैन' सन्तको भनाई अहिले पनि झल्झली सम्झन्छन् उनी।
 
त्यसको केही समयपछि नै विश्वनाथ मन्दिरमा पूजारीको 'वान्टेड' निस्कियो। ४८० जना प्रत्याशी। नियुक्त हुने स‍ंख्या जम्मा पाँच। उनले पनि परीक्षा दिए। छनौट समितिले सबै कुरामा निपुण देखेपछि उपाध्यायले पूजारीको नियुक्ति पाए।

मोदी कनेक्सन
संविधान सभामा आफ्नो बारेमा मोदीले गरेको सम्बोधनबाट उनी दङ्ग छन्। त्यसो त प्रधानमन्त्री हुनुभन्दा पहिलेदेखि नै नरेन्द्र मोदीसित उपाध्यायको चिनजान थियो।
 
आफ्नो नेतृत्वको भारतीय जनता पार्टीले अत्यधिक बहुमत पाएर प्रधानमन्त्री हुने निश्चित भइसकेपछि मोदी विश्वनाथ मन्दिरमा पूजा गर्न आएका थिए।
 
त्यसै क्रममा दक्षिणा माग्दा आफूले भनेको कुरालाई नेपालीमा अनुवाद गर्दै उनी सुनाउँछन्, 'नेपालको जनतासँग तपाईँप्रति धेरै आशा छ। नेपाल हिन्दु राष्ट्र थियो, अझै पनि छ। तर केही स्वार्थी तत्वले राजनीतिक षड्यन्त्र गरी नेपालको हिन्दु राष्ट्रको अस्तित्वलाई समाप्त गर्न खोजिँदैछ। त्यसबाट तपाईँले बचाउनु पर्छ। यो शरीर नेपालको हो, त्यसैले म नेपालको तर्फ, नेपाली जनताको तर्फबाट तपाईँलाई निवेदन गरिरहेको छु। मेरो लागि दक्षिणा यही हुनेछ।' 
 
सांस्कृतिक सम्बन्ध
मोदीले विश्वनाथ र पशुपतिनाथलाई जोड्ने गरी गरेको सम्बोधनपछि यहाँ नेपालप्रतिको चासो बढेको अनुभव गर्छन् उपाध्याय। 'भारतमा रहेको द्वादश ज्योर्तिलिङको दर्शन गरेर जबसम्म पशुपतिको दर्शन गरिँदैन तबसम्म पुण्य पाइँदैन भनेर धर्मशास्त्रमा लेखिएको छ। म यहाँका श्रद्धालुहरुलाई त्यही सुनाउँछु।
 
नेपालबाट विश्वनाथको दर्शनमा पुग्ने श्रद्धालुहरुप्रति उनको विशेष लगाव रहन्छ। पण्डाहरुबाट ठगिएका नेपाली श्रद्धालुलाई कति पटक उनले आफै बोलाएरै विश्वनाथको ज्योर्तिलिङ दर्शन गराएको उनी बताउँछन्।

राष्ट्रपति रामवरण यादवले पनि विश्वनाथ दर्शन गर्न आउँदा आफूलाई पशुपतिबारे यहाँका श्रद्धालुलाई बताइरहन भनेको उनी सुनाउँछन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell