PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सरकार र पार्टीको नेतृत्व म आफै गर्छु : प्रधानमन्त्री



सरकार र पार्टीको नेतृत्व म आफै गर्छु : प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कोइराला

एक महिना लामो उपचारपछि आज साँझ स्वदेश फर्कन लागेका प्रधानमन्त्री सुशील कोइरालाले आफू पूरै निको भइसकेको बताएका छन्। न्युयोर्कमा पत्रकार नारायण श्रेष्ठसँगको कुराकानीमा उनले पार्टी र सरकारको नेतृत्व आफैले गर्ने विश्वास व्यक्त गरे। ‘मैले म नै हुनुपर्छ भनेको छैन, म बाइ हुक अर क्रुक पावरमा टिकिराख्ने मान्छे पनि हैन’, प्रधानमन्त्रीले सबैको सहयोग आफूलाई रहेको बताए।

फोक्सोमा दाग देखिएपछि चिकित्सकको सुझाव अनुसार प्रधानमन्त्री गएको असार २ गते उपचारका लागि अमेरिका प्रस्थान गरेका थिए। न्यूयोर्कको मेमोरियल स्लोन-केटरिङ्ग क्यान्सर सेन्टरमा उनको उपचार गरिएको थियो।

उपचारपछि म्यानह्याटनस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनको आवासमा उनले स्वास्थ्य लाभ गरेका थिए।

प्रधानमन्त्रीसँग निजी चिकित्सक डाक्टर करवीरनाथ योगी, पारिवारिक सदस्य अतुल कोइराला, मृदुला कोइराला र सुरक्षा अधिकृत प्रकाश देउजा पनि छन्।

प्रधानमन्त्री नेपाल फर्कनुअघि श्रेष्ठले लिएको अन्तर्वार्ता :


नारायण :  अहिले कस्तो छ प्रधानमन्त्री ज्यु तपाईँको स्वास्थ्य स्थिति ?
प्रधानमन्त्री कोइराला: छातिमा दाग देखिएपछि यहाँ (अमेरिका)मा डाक्टरहरुलाई देखाएँ। उनीहरुले रेडियोथेरापी दिने निर्णय गरे। अहिले टेक्नोलोजीको निकै विकास भइसकेको रहेछ। अहिले मेरो (रोगको) पहिलो चरणमात्र भएको हुनाले पनि सजिलो भयो। डाक्टरहरुले प्लानिङ गर्दा रहेछन्। स्पटलाई चारैतिरबाट घेर्ने काम हुने रहेछ। त्यो हुन्छ नि चारैतिरबाट हात्तीहरुले घेरेर बाघको शिकार गर्ने, त्यसरी नै त्यो रेडियमले स्पटलाई घेर्ने रहेछन्। एक हप्तापछि पूरै निको भयो।

त्यसो भए तपाईँ अहिले पूरा आराम हुनुहुन्छ ?
प्रधानमन्त्री : हैन, त्योभन्दा पहिला पनि मलाई कहाँ थाहा थियो र। यस्तो छ भन्ने नै भएन। रेडियोथेरापीको आफ्टर इफेक्टका रुपमा वाकवाकी लाग्ने, पखाला लाग्ने, खाना रुचि नहुने, खोकी लाग्ने, ज्वरो आउन सक्ने भनिएको छ। मलाई ज्वरो पनि आएको छैन। पखाला पनि लागेको छैन र वाकवाक पनि लागेको छैन। खाली खोकी मात्र लागिरहेको छ। अब खोकीकै लागि यहाँ बसिराख्ने कुरा भएन।

कतिपय ठाउँमा राजनीति र स्वास्थ्यलाई सँगसँगै हेर्ने चलन पनि छ। कतिको आत्मविश्वास छ म पार्टी र सरकारलाई अझै नेतृत्व गरेर लानसक्छु भन्ने यहाँलाई ?
प्रधानमन्त्री :मलाई त पूरा विश्वास छ। मुलुकको यस्तो अवस्था छ। पार्टीका सबै साथीहरु पनि सकारात्मक देखेको छु। सबैको सहयोग ममा छ। मैले मै हुँ अब, मै जसरी पनि बन्नुपर्छ भनेको छैन। म बाइ हुक अर क्रुक पावरमा टिकिराख्ने मान्छे पनि हैन।

तपाईँ अहिले उपचार गराइरहनुभएको अमेरिकी समाजमा त नेतृत्व फेरिनुपर्छ कि स्वास्थ्यको स्थिति हेरेर भनेर टिकाटिप्पणी हुन्छ। नेपालमै पनि कतिपय राजनीतिक नेताहरुको स्वास्थ्य स्थिति अलि खस्केको देखिन्छ। यो विषयलाई मान्छेहरुले कसरी हेरिदिउन् भन्ने लाग्छ ?
प्रधानमन्त्री : कसरी हेरिदिउन् भन्दा पनि अहिले कसैले पनि डिस्टर्ब (नेतृत्व परिवर्तन) होस् भनेर चाहेको जस्तो मलाई लाग्दैन।  नेपाल फिर्नेबित्तिकै २६ जना सभासद र राजदूत नियुक्त गर्छु। काङग्रेसको भागमा परेको ९ जनाको लिष्ट मसँग तयार छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell