PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुझाव संकलनमा अवरोध भए? विशेष व्यवस्था भन्छ- संविधानको प्रक्रिया रोकिँदैन



सुझाव संकलनमा अवरोध भए? विशेष व्यवस्था भन्छ- संविधानको प्रक्रिया रोकिँदैन

काठमाडौँ : संविधानको प्रारम्भिक मस्यौदामा जनताको सुझाव संकलन गर्ने क्रममा विभिन्न स्थानमा अवरोध भएर कार्यक्रमै सञ्चालन गर्न नसकिए पनि यसले संविधान निर्माणको प्रक्रिया अगाडि बढ्न नरोकिने विशेष व्यवस्था गरिएको छ।
 
संविधानसभाले असार २४ गते पारित गरेको सुझाव संकलन कार्ययोजना अनुसार अन्तर्क्रिया कार्यक्रममार्फत् देशभर सोमबार र मंगलबार सुझाव संकलन कार्य भइरहेको छ। सोही कार्ययोजनामा राखिएको विशेष व्यवस्थामा सुझाव संकलन कार्य हुन नसके वा अवरोध भए पनि संविधान निर्माण प्रक्रिया अगाडि बढाउने बाटो खुल्ला गरिएको हो।

कार्ययोजनाको ६ नं बुँदामा विशेष व्यवस्थामा भनिएको छ - 'कार्ययोजनामा उल्लिखित मिति र समयमा जनताको राय सुझाव संकलन सम्बन्धी कार्यक्रम र व्यवस्थापन सम्बन्धमा मौसमी प्रतिकूलता वा अन्य कुनै कारणले निर्धारित कार्य सम्पन्न हुन नसकेमा सो कारणले संविधानको पहिलो मस्यौदा उपर संविधानसभा नियमावली २०७० बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन बाधा पर्ने छैन।'

कार्ययोजनामा ४ र ५ गते संविधानको प्रारम्भिक मस्यौदामा सुझाव संकलन गर्ने, ६ र ७ गते सुझाव विश्लेषण गरी समितिले संविधानसभाका अध्यक्षलाई बुझाउने उल्लेख छ।

विशेष व्यवस्थाले देशभर भइरहेको सुझाव संकलन कार्य प्रभावित हुनसक्ने अवस्थाबारे संविधानसभा पहिला नै सचेत रहेको देखिएको छ। संविधानसभाका अध्यक्ष समेत रहेका सुवास नेम्वाङले सुझाव संकलन कार्यलाई अगाडि बढाउनु अघि सुरक्षा विशेष समितिको बैठक राखेका थिए। सो समितिले सभासद्हरुको सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell