PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

विरोध र झडपबीच देशभर संविधानमा सुझाव संकलन जारी, कहाँ के हुँदैछ?



विरोध र झडपबीच देशभर संविधानमा सुझाव संकलन जारी, कहाँ के हुँदैछ?

काठमाडौँ : विभिन्न स्थानमा विरोधका बीच संविधानको प्रारम्भिक मस्यौदामाथि देशभर सुझाव संकलन कार्य भइरहेको छ। तराई मधेशका जिल्लाहरुमा सुझाव संकलन स्थलमा झडप भएका खबर प्राप्त भएको छ भने काठमाडौँ र पोखरामा विरोध प्रदर्शन भएको छ। सरकारले संविधानमा सुझाव संकलन कार्य प्रभावकारी बनाउन आज र भोलि सार्वजनिक बिदा समेत दिएको छ।

कहाँ- कहाँ के हुँदैछ?

रौतहटको गौरमा सुझाव संकलनका क्रममा झडप हुँदा २ जना घाइते भए। नेकपा एमालेका नेता माधवकुमार नेपालमाथि आक्रमण समेत भएको छ। उनको गाडी तोडफोड भएको छ। सुझाव संकलनमा संघीय समाजवादी फोरम नेपाल र मधेशकेन्द्रित दलहरुले अवरोध प्रयास गरेपछि प्रहरीले लाठिचार्ज समेत गरेको थियो। प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका थिए। रौतहटमा सुजाव संकनलका क्रममा आफूलाई धारणा समेत राख्न नदिएको सभासद् डिम्पल कुमारी झा ले बताइन्। उनले माधव नेपालको उपस्थिति पहाडको मधेश माथिको शासन भएको धारणा राखिन्।
 

नुवाकोटमा पेट्रोल बम प्रहार

नुवाकोटमा अर्थमन्त्री समेत रामशरण महतको गाडीमा पेट्रोल बम प्रहार भएको छ। महत सुझाव संकलनमा सहभागी हुन जाँदै गर्दा उनको गाडीलाई लक्षित गरी पेट्रोल बम प्रहार भएको साथमा रहेका रमेश महतले जानकारी दिए।


देशभर कहाँ के भइरहेछ लाइभ ट्विट -


अपडेट काठमाडौँ : क्षेत्र नम्बर १ मा पर्ने विजयस्मारक माविको एउटा कक्षाकोठामा सुझाव संकलन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रम स्थलबाहिर सशस्त्र र नेपाल प्रहरीका दुई गाडी तैनाथ थिए। कडा सुरक्षा बीच चेकजाँच गरी मात्र कार्यक्रमस्थल भित्र पठाइएको थियो। कार्यक्रम सुरु भएपछि राप्रपा नेपालका कार्यकर्ताले हिन्दु राष्ट्र कायम गर्न नाराबाजी गरेका थिए। त्यसैगरी संविधान मान्दैनौँ भन्दै नाराबाजीसमेत भएपछि प्रहरीले उनीहरुलाई बाहिर निकालेका थिए। 
 
काठमाडौं :
संविधानको पहिलो मस्यौदामाथि सुझाव सङ्कलन गर्न आयोजित कार्यक्रममा अधिकांश जनताले अब बन्ने नयाँ संविधानमा सके हिन्दू राष्ट्र कायम राख्नुपर्ने नत्र धार्मिक स्वतन्त्रता उल्लेख हुनुपर्ने माग गरेका छन्।  नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिद्वारा दशरथ रङ्गशालामा आयोजित काठमाडौँ क्षेत्र नं १ को कार्यक्रममा बोल्ने अधिकांश वक्ताले ८० प्रतिशतभन्दा बढी हिन्दू धर्मावलम्बी भएको मुलुकलाई धर्मनिरपेक्ष भन्न नमिल्ने राय व्यक्त गरेका थिए। विस्तृत

अपडेट काठमाडौँ : भगवती मा.वि. साँखुमा भएको संविधानको मस्यौदा विधेयकमाथिको सुझाव सङ्कलन कार्यक्रममा सहभागी एमाले उपाध्यक्ष विद्या देवी भण्डारी लगायत अन्य सभासदहरु । तस्बिर: प्रदीपराज वन्त,रासस



अपडेट - काठमाडौँ : ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदामाथि सुझाव दिँदै युवा वर्गले ‘सांसद हुन कम्तीमा ‘स्नातक उत्तीर्ण’ को व्यवस्था नयाँ संविधानमा हुनुपर्ने सुझाव दिएका छन्। 

संविधानसभाको ‘नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति’ले काठमाडौँ महानगरपालिका अन्तर्गत वडा नं ९ को कुलेश्वर, तीनकुनेमा आयोजना गरेको सुझाव सङ्कलन कार्यक्रमका सहभागीमध्ये धेरै युवाले चालक बन्न प्रवेशिका परीक्षा उत्तीर्ण हुनुपर्ने तर सांसद, मन्त्री हुन कुनै योग्यता नचाहिने प्रावधान सच्याउन जरुरी भएको सुझाव दिएका हुन्। कार्यक्रममा प्रह्लाद गिरीले शिक्षित नेतृत्वले मात्रै नयाँ योजना र कार्यक्रम ल्याई नेपाललाई चाँडै विकासको पथमा लैजाने भन्दै नेतृत्वका लागि शिक्षाको मापदण्ड तोक्नुपर्ने राय दिए। स्थानीयवासी केशव पोखरेलले प्रारम्भिक मस्यौदामा राष्ट्रको प्रमुख निकाय राष्ट्रपतिको पदका लागिसमेत कुनै शैक्षिक योग्यता नतोकिएको बताउँदै त्यसलाई सच्याउन सुझाव दिए। 

अपडेट - सप्तरीको राजविराजमा सुझाव संकलनमा अवरोध गर्ने क्रममा फोरम नेपाल र सद्भभावना पार्टीका जिल्ला नेता घाइते। सदभावनाका दिनेश यादव र फोरम नेपालका जिल्ला अध्यक्ष घाइते।  

अपडेट - दाङमा संविधानसभाको चुनाव समेत बहिष्कार गरेको नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा माओवादीले सुझाव संकलन कार्यमा अवरोध पुर्‍याएको छ। माओवादीले क्षेत्र नं ५ स्थित श्रीगाउँमा सुझाव संकलनमा अवरोध गरेको हो। 

अपडेट - बाँकेको नेपालगत्र्ज क्षेत्र नं ३ मा पनि राप्रपा नेपालले संविधानको मस्यौदा माथिको सुझाव संकलनमा अवरोध श्रृजना गरेको छ। राप्रपा नेपालले नाराबाजी गर्दै अवरोध श्रृजना गरेको हो। जसका कारण सुझाव संकलन केहीबेर प्रभावित समेत भएको थियो।
 



धनुषाको क्षेत्र नं ५ को थेरा र क्षेत्र नं २ को औरही मा सुझाव संकलनका क्रममा झडप भएको छ। प्रदर्शनकारीले सुझाव संकलन कार्य रोक्न खोजेपछि प्रहरीले लाठी चार्ज गर्दा ६ जना घाइते भएका छन्। प्रहरीको सुरक्षा घेराबीच सुझाव संकलन कार्यलाई निरन्तरता दिइएको छ।

त्यसैगरी पर्सा क्षेत्र नं २ मा सुझाव संकलनमा गएका सभासद् माथि कुर्सी प्रहार भएको एभिन्युज टेलिभिजनले जनाएको छ। जिविस भवनमा जारी सुझाव संकनलका क्रममा कुर्सी प्रहार भएको हो। जनकपुरको मूल बजारको भानु चोकमा प्रहरी र सुझाव संकलनको विरोध गर्ने दलका कार्यकर्ताबीच झडप भएको छ। 

काठमाडौँको क्षेत्र नं १ स्थित दशरथ रंगशालाको कभर्डहलमा भएको सुझाव संकलनका दौरान राप्रपा नेपालले विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर घम्साघम्सी समेत भएको थियो। उनीहरुले हिन्दु राष्ट्र कायम राख्न माग गर्दै नाराबाजी समेत गरेका थिए। नाराबाजीमा सभासद् समेत सहभागी भएका थिए।

मस्यौदा समितिका सभापति समेत रहेका कृष्ण सिटौला सहभागी रहेको झापा क्षेत्र नं ३ मा सुझाव संकलन कार्यमा राप्रपा नेपालले ढुङ्गा मुढा प्रहार गर्दै अवरोध प्रयास गरेका छन्। सामुदायिक भवनमा भएको कार्यक्रममा राप्रपा नेपालका कार्यकता विरोधमा उत्रिएका थिए।
 

 

पोखरामा प्रदर्शन

पोखरामा पनि सुझाव संकलन कार्यलाई रोक्न माग गर्दै संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताले नाराबाजी गरेका छन्। उनीहरुले विरोध प्रदर्शनसमेत गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell