PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्लुटोको पर्वत नेपालीको नाममा, पृथ्वीबाहिर रह्यो तेन्जिङ नोर्गेको नाम



प्लुटोको पर्वत नेपालीको नाममा, पृथ्वीबाहिर रह्यो तेन्जिङ नोर्गेको नाम

काठमाडौँ : नेपाल र तिब्बतको सीमामा पर्ने ७ हजार ९१६ मिटर अग्लो एक हिमाललाई सगरमाथाका पहिलो आरोही तेन्जिङ नोर्गेको नाममा 'तेन्जिङ पिक' नामाकरण गर्ने प्रस्ताव दुई वर्षअघि सरकारी समितिले गरेको थियो। यसले औपचारिकता पाइनसके पनि पृथ्वीभन्दा धेरै टाढा यम ग्रह (प्लुटो) मा भेटिएको पर्वतलाई नोर्गे मोन्टेस (नोर्गे माउन्टेन) नामाकरण गरिएको छ। 

'सौर्य मन्डलका कुनै पनि ठाउँको नाम नेपालीको नाममा रहेको यो पहिलो हो', अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका एमेस रिसर्च सेन्टरका न्यु होराइजन्स कोइन्भेस्टिगेटर जेफ मूरेले पिबिएसलाई बताए। 

प्लुटोमा खिचिएका हिउँसहितका पर्वतहरुको फोटो बुधबार सार्वजनिक भएको थियो। यसैको नाम पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गेको सम्मानमा नोर्गे मोन्टेस राखिएको हो। 

बेलायती आरोहण समूहमा शेर्पाहरूको सरदार भै  तेन्जिङ र अर्का आरोही एडमण्ड हिलारी सन् १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे सगरमाथा शिखर पुग्ने प्रथम (संयुक्त) आरोही भएका थिए। उनको जन्म नेपालको खुम्बु क्षेत्रमा भएको मानिन्छ भने मृत्यु भारतको दार्जिलिङमा भएको थियो। 

विक्रम संवत् २०१० जेठ १६ गते विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गरेर फर्किएका तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको स्वागतार्थ काठमाडौँमा सम्मान कार्यक्रम भएको थियो। इतिहास शिरोमणि बाबुराम आचार्यको संयोजकत्वमा तेन्जिङ शेर्पा स्वागत समिति गठन गरिएको थियो। बनेपादेखि खुला जिपमा काठमाडौँ ल्याइएका सगरमाथा आरोहीद्वय शेर्पा र हिलारीलाई डिल्लीबजारको उकालोबाट बग्गीमा नगर परिक्रमा गराई वसन्तपुर गद्दी बैठकमा अभिनन्दन गरिएको थियो।

जनकविकेशरी धर्मराज थापाले त्यसैताका गाएका थिए-
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा,  
गम्केर बजा खैँजडी, झम्केर नाच मुजुरा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell