PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चुनाव हारेका महेश बस्नेत मन्त्री बने, एमालेभित्रै असन्तुष्टि



चुनाव हारेका महेश बस्नेत मन्त्री बने, एमालेभित्रै असन्तुष्टि

उमेश श्रेष्ठ/पहिलोपोस्ट-
काठमाडौँ : पटक पटक विवादमा आइरहने निर्वाचनमा पराजित युवा संघ अध्यक्ष महेश बस्नेत र झलनाथ खनालका स्वकीय सचिव रहेका दीपकचन्द्र अमात्यलाई प्रधानमन्त्री सुशील कोइरालाले एमालेको सिफारिशमा क्रमशः उद्योग मन्त्री र पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त गरेका छन्।
 
बस्नेत जनताबाट मात्र हैन पार्टी प‍ंक्तिबाट समेत अस्वीकृत पात्र हुन्। एमाले महाधिवेशनमा केपी ओली प्यानलबाट उम्मेदवार बनेका बस्नेत केन्द्रीय सदस्यमा पराजित भएका थिए।
 
ओलीका विश्वासपात्र बस्नेत त्यसअघि संविधान सभा निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट पराजित भएका थिए। अघिल्लो संविधान सभाको निर्वाचनमा पराजित उम्मेदवारलाई प्रधानमन्त्री समेत बनाएको 'गौरवशाली' इतिहासलाई कायम राख्दै एमालेले यस पटक पनि विवादास्पद छविका पराजित उम्मेदवारलाई उद्योग मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी दिएको हो।
 
मौजुदा मन्त्रिरिषद्‌मा रहेका दुई मन्त्री भीम आचार्य र कर्ण थापाप्रति एमाले नेतृत्व असन्तुष्ट थियो। तर आजै उनीहरुलाई हटाएर मन्त्री नियुक्त गरिन्छ भन्ने सुँइकोसमेत अध्यक्ष केपी ओलीका एकदमै निकट नेताहरु बाहेक अरुले पाएका थिएनन्।
 
विवादास्पद नेता
आफ्नै पार्टीका नेता माधवकुमार नेपालले समेत बस्नेतलाई लक्षित गरी धनवाद, डनवाद पार्टीको समस्या रहेको आरोप लगाएका थिए।
 
त्यस्तै काभ्रेमा भएको एउटा कार्यक्रममा उनकै संगठनका सदस्यहरुले बस्नेतले गुन्डागर्दी शैलीमा पेस्तोलै निकालेर आफू विरोधीहरुलाई धम्क्याएको सार्वजनिक गरेका थिए।
 
सेलिब्रिटी एसएसपी रमेश खरेललाई बस्नेतले अपराध नियन्त्रण गर्न नसक्ने तर सिंघम शैलीमा नाटक मात्र गर्न जान्ने भन्दै कलाकार राजेश हमालसँग तुलना गरेको समाचार सार्वजनिक भएको थियो।
 
२०६८ साल मंसिर १५ गते युवा स्वरोजगार कोषको कार्यालय तोडफोड गर्दै उनको नेतृत्वमा रहेको युवा संघका कार्यकर्ताहरुले प्रहरीसँग झडप गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
 
बाबुराम भट्टराई नेतृत्वको सरकार हटाउन भएको आन्दोलनका क्रममा बस्नेतले जलिरहेको मसाल प्रहरीतर्फ झोसेका थिए। यो फोटो सार्वजनिक भएपछि डिएसपी दीपशमशेर राणाले फेसबुकमा उनको आलोचना गर्दा राणाको सरुवा गरिएको थियो।
 
राणाले बस्नेतलाई गुन्डा भन्दै उनीहरुलाई नेताको संरक्षण रहेको लेखेका थिए।

बस्नेतले बचाउमा त्यो फोटो फेक भएको दावी गरे पनि फोटो खिच्ने एएफपीका पत्रकार प्रकाश माथेमाले त्यसको खण्डन गरेका थिए।
 
कसरी भए ओलीनिकट ?
२३ वर्षकै उमेरमा भक्तपुरको गुन्डु गाविसका अध्यक्ष बनेका बस्नेत पहिला झलनाथ खनाल निकट थिए।
 
प्रजातान्त्रिक राष्ट्रिय युवा स‍ंघका कोषाध्यक्ष रहेका बस्नेतलाई माओवादी भ्रातृ संगठन वाइसिएलको शक्ति सन्तुलन गर्न गठित अर्ध सैनिक दस्ता युथ फोर्सको प्रमुख बनाएपछि उनको उदय सुरु भएको हो। 
 
युथ फोर्सको अध्यक्ष बनाइँदासम्म पनि उनी खनाल निकट नै थिए। युवा संघको लहानमा भएको सम्मेलनमा बस्नेतले उपाध्यक्ष बन्ने इच्छा व्यक्त गर्दा खनाल पक्षले त्यसका लागि योग्य नभएको भन्दै पन्छाएका थिए। त्यसपछि उनी उपाध्यक्ष हैन अध्यक्ष लड्छु भन्दै ओलीसित नजिकिएका थिए।
 
बस्नेत ओलीको क्याम्पमा आउनुअघिसम्म युवा संगठनमा ओलीको खासै पकड थिएन। बस्नेतकै कारण ओलीले पनि युवा संगठनमा प्रभाव वि‌स्तार गर्न सफल भएका हुन्।
 
अर्का मन्त्री पनि विवादास्पद
प्रधानमन्त्री कोइरालाले एमालेको सिफारिशमा मन्त्री बनाएका अर्का विवादास्पद व्यक्ति हुन् दीपकचन्द्र अमात्य। एमाले पंक्तिमा बस्नेतभन्दा अमात्यको नियुक्तिले बढी विवाद जन्माउने संकेत देखिएको छ। 
 
२०४७ सालमा झलनाथ खनाल कृषि तथा वनमन्त्री रहँदा र त्यसको दस वर्षपछि प्रधानमन्त्री हुँदा अमात्यले प्रमुख स्वकीय सचिव भएर काम गरेका थिए। झलनाथ खनालको आर्थिक क्रियाकलापबारे पूर्ण जानकारी राख्ने अमात्यलाई एक्कासी मन्त्री बनाइनुलाई पार्टी पंक्तिभित्रै आश्चर्यको रुपमा हेरिएको छ।
 
नाम बताउन नचाहने केन्द्रीय सदस्यहरुले यसलाई 'पैसाको खेल' का रुपमा लिएका छन्। 'पार्टीभित्र कुनै औपचारिक निर्णयसमेत नगरी विवादास्पद नियुक्त गरिएको छ, यसले पार्टीमा अझै विवाद थपिन्छ', एक केन्द्रीय सदस्यले भने।

प्यानलै बनाएर महाधिवेशनमा भिडेका ओली र नेपाल पक्षबीचको तिक्तता बाँकी नै रहेको बेला विवादास्पद व्यक्तिलाई मन्त्री बनाउने यस्तो निर्णयप्रति ओली निकट भन्न रुचाउने नेताहरु नै असन्तुष्ट देखिएका छन्।
 
यसले पार्टीभित्र दीर्घकालीन असर पर्ने देखिन्छ।
 
अर्का असन्तुष्ट केन्द्रीय सदस्य ज्वाइँ हटाएर दलाल ल्याइएको कटु टिप्पणी गर्न पछि परेनन्। हटाइएका उद्योग मन्त्री कर्ण थापा ओलीका र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्य झलनाथ खनालका नाताले ज्वाइँ पर्छन्। 

कांग्रेसले आफ्नो भागमा रहेका दुई मन्त्रालयमा पनि नियुक्त गर्ने तयारी गरी दिलेन्द्प्रसाद बडुलाई मन्त्री बनाउने तयारी गरिरहँदा एमालेले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाई नयाँ मन्त्री पठाउन सिफारिश गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell