PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

कसरी चल्यो युनिटी सञ्चालक विष्णु क्षेत्री मारिएको हल्ला ?



कसरी चल्यो युनिटी सञ्चालक विष्णु क्षेत्री मारिएको हल्ला ?

काठमाडौं : बुधबार बिहान ८ बजेतिर युनिटी काण्डमा अदालतबाट दोषी ठहर भएका विष्णु क्षेत्रीका दाजु कृष्ण क्षेत्रीले फेसबुकमा एउटा सनसनीपूर्ण स्टाटस लेखे। उनले आफ्ना भाइ विष्णुमाथि सांघातिक हमला भएको र उनको हत्या भएको खुलासा गरे।

स्टाटससँगै उनले एउटा पुरुष शवको फोटो पनि राखेका छन्। नजिकका आफन्तले यति लामो स्टाटस र त्यसलाई पुष्टि गर्नेगरी फोटो नै राखेपछि घटनाबारे अविश्वास गर्ने आधार रहेन। केही अनलाइनहरुले यसै स्टाटसलाई आधार बनाएर समाचार पनि बनाए।   

तर प्रहरी भने यो घटना पुष्टी नभएको बताउँछ। घटनाबारे जानकारी पाएपछि ललितपुर प्रहरीले उनको निवास भैंसेपाटी क्षेत्रमा घटनाबारे अनुसन्धान गर्‍यो। 'हामीले पनि अनलाइनहरुबाटै थाहा पाएका हौं, तर हत्याबारे केही तथ्य खुल्न सकेको छैन,'  ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले भने 'सबैतिर खोजी गर्‍यौं यसबारे सूचना केही भेटेका छैनौं, घरमा पनि पुग्यौं केही पनि भेटेनौं।'

नेटवर्क मार्केटिङ ब्यवसाय मार्फत सर्वसाधारणको करोडौं रकम ठगी गरेका कारण युनिटी लाइफका प्रबन्ध निर्देशक क्षेत्री  उनका दाइ कृष्ण क्षेत्री अदालतबाट दोषी ठहर भएकाले प्रहरीको खोजीको सूचीमा छन्। उनीहरुको खोजीका लागि प्रहरीले रेड कर्नर नोटिस पनि जारी गरेको छ।


कृष्णले दुई घण्टा पनि नबित्दै आफ्नो फेसबुक स्टाटस डिलिट गरेकाले थप आशंका उब्जाएको छ। उनले किन यो स्टाटस राखे र पछि किन हटाए भन्ने केही खुल्न सकेको छैन। उनीसँग सम्पर्क गर्ने कोसिस पनि सफल हुन सकेको छैन।

युनिटीले नेटवर्क मार्केटिङमा ३ लाख ६६ हजार सर्वसाधारणबाट ३ अर्ब ७९ करोड रुपैयाँ उठाएको पर २ अर्ब ५७ करोड रुपैयाँ राजस्व छलेको प्रहरीको दावी छ।

यस घटनामा ललितपुर जिल्ला अदालतले १२ जनालाई दोषी ठहर गर्दै ३ वर्ष कैदको फैसला सुनाएको थियो। युनिटीका अध्यक्ष काशी गुरुङ सहितका केही सञ्चालक पक्राउ परे पनि क्षेत्री फरार छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell