प्रेम गुरागाईं -
आजभोलि विदेशमा केही समय बसेर नेपाल ‘घुम्न’ जाँदा आफ्नो सम्पर्कमा रहेकाहरुबाट मिडियामा अन्तर्वार्ता दिने लहर चलेको छ। उनीहरु आफू बसेको देशको विकासका कुराहरुको प्रशंसा गरेर थाक्दैनन्, अनि नेपाललाई चाहिं खत्तम छ भन्छन्। कति छिटो बिर्सेको आफू जन्मेर, हुर्केर, पढेर केही बुझ्ने भएपछि धन कमाउन, आफ्ना छोराछोरीहरूलाई अरुका भन्दा गतिला बनाउने व्यक्तिगत स्वार्थका लागि प्यारो जन्मभूमिलाई माया मारेर बिदेसिएको।
केही वर्ष विदेशिएर मातृभूमि फर्कँदा नानाथरिका कमजोरी देखाई दोस्रो दर्जाको नागरिक भएर बाँचिरहेको कर्मभूमिलाई हरेक दृष्टिले उच्च देखाउनु कहाँसम्म सुहाउँछ?
ठीक छ, विकसित मुलुकमा बसेर नेपाल फर्कँदा अवश्य पनि तुलना त भइहाल्छ। तर त्यो तुलनाबाट आउने परिणामले नेपालको विकासमा सहायता पुर्याउँछ वा नेपालका युवाहरूलाई 'म पनि त्यस्तो विकसित मुलुकमा जान पाए हुन्थ्यो' भनेर दिनरात सताउँछ? कहिले सोच्नुभएको छ ?
यो पंक्तिकार स्वयं अमेरिकामा झण्डै दुई दशक बसिसकेकाले यहाँ कै उदाहरण बढी थाहा छ। यहाँको विकासको प्रमुख उत्प्रेरक हरेक राष्ट्रिय स्तरका नेतृत्व वर्गमा 'अमेरिकी सपना' भन्ने सामूहिक नारा हो। ३० करोड जनसंख्या भएको ठाउँमा प्रमुख दुई पार्टीले काम चल्न सक्नुबाट सिक्नुपर्ने पाठ के हो भनेर अध्ययन गर्दा थाहा हुन्छ : यहाँ सबैलाई कुर्सीको मात्र मोह छैन। आफ्नो दक्षतामा भर परेर 'एक पटक हारे के भो त, फेरि राम्रो काम गरेर अर्को चुनावमा जिती हालिन्छ नि' भनिन्छ। अनि आफ्नो समाजका लागि झन् पहिलेको भन्दा बढी मेहनत गर्दै चाकडी, नातावाद, कृपावाद, टिके प्रवृत्ति इत्यादिलाई प्रोत्साहन दिने चलन यहाँ पटक्कै हुँदैन।
अमेरिकी सपना र राष्ट्रिय एकताको कुरा गर्दा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको बारेमा कुरा गर्नै पर्ने हुन्छ। उनका धेरै महत्वपूर्ण भनाई मध्ये प्रमुख भनाई थियो : 'मेरो देशले मलाई के दियो भनेर कहिल्यै नसोध, बरु मैले मेरो देशलाई के दिएँ भनेर सोध।'
वास्तवमा हामी नेपालमा जन्मेर, हुर्केर विदेशिएका पिँढीले आगामी दिनहरुमा 'देशका लागि के गर्न सक्छु' भनेर सानो स्तरमा नै भए पनि केही न केही गर्न सक्नु पर्छ। त्यसपछि 'थोपा थोपाले सागर बन्छ' भनेझैं केही वर्षपछि नै नेपालका बारेमा अरु कुनै विकसित मुलुकलाई तुलना गर्नु पर्ने दिन नआउला।
यो छोटो भिडियोमा जोन एफ केनेडीले सगरमाथाको उदाहरण दिएको देख्दा मन प्रसन्न भयो। अरु केही गर्न नसके नेपाललाई 'सगरमाथा', 'बुद्ध', 'सीता', 'अरनिको', 'पशुपतिनाथ' को मुलुकका रुपमा पहिचान गराउन आफूले सक्ने प्रयास गरेमा पर्यटक प्रवर्द्धनले मात्र पनि देश धेरै माथि उठ्न सक्छ। सँधै हामीले नेपालभन्दा बिहार, थाइल्यान्ड, सिंगापुर, दक्षिण कोरिया कति छिटो विकास भए तर 'नेपाल सँधै खत्तम' भन्दै आफ्नो जन्मभूमिलाई अरुसामु प्रस्तुत गर्न लाज मान्नु पर्दैन।
