PahiloPost

Jun 3, 2026 | २० जेठ २०८३

सत्तापक्षले आफै मसँग आएर राजनीतिक समितिको नेतृत्व गर्नोस् भन्नुपर्ने हो : प्रचण्ड



सत्तापक्षले आफै मसँग आएर राजनीतिक समितिको नेतृत्व गर्नोस् भन्नुपर्ने हो : प्रचण्ड

पहिलोपोस्ट-
काठमाडौँ: एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्चस्तरीय समितिको नेतृत्वमा कांग्रेस एमालेले आफूलाई प्रस्ताव गर्नुपर्ने बताएका छन्। बुधबार पत्रकारहरुसँगको भेटमा प्रचण्डले शान्ति प्रक्रिया टुङ्ग्याउन, संविधान निर्माण गर्न, विश्वासको वातावरण बनाउन समिति चाहिएको बताए।

'सत्तापक्षले मसँग आएर तपाइँ भइदिनु पर्‍यो,  शान्ति सम्झौतामा तपाइँले हस्ताक्षर गरेकै हो। सेना समायोजनमा भूमिका खेलेकै हो भन्नुपर्ने ठाउँमा अहिले प्रचण्डले मागेको जस्तो देखिएको छ,'  प्रचण्डले भने।

'संविधान निर्माणमा सहयोग गर्नका लागि नेतृत्व मलाई दिँदा जनताले सहज अनुभव गर्छन् अन्तर्राष्ट्रियले जगतले पनि सहज महसुस गर्छन्, सहज वातावरण बन्छ भन्ने त सत्तापक्षले बुझ्न पर्ने कुरा हो नि,' प्रचण्डले भने।

'म प्रधानमन्त्री हुँदा,  काँग्रेस सानो (पार्टी) छँदा गिरिजाबाबुलाई प्रस्ताव गरेँ त,' प्रचण्डले दृष्टान्त प्रस्तुत गरे, 'मैले चाँही संयन्त्रको अध्यक्ष मलाई चाहिन्छ भनेको छैन तर सतापक्षले भन्नुपर्ने थियो। यहाँ त उहाँहरुले बनाउने भन्नुपर्ने उच्चस्तरीय राजनीतिक समिति नै नबनाउने भन्न थालियो।'

प्रचण्डले काँग्रेस एमालेलाई ‘प्रचण्ड फोबिया’ भएको दावी गरे। 'एमाओवादी तेस्रो पार्टी भयो, सकियो पनि भन्ने। बिलायो अब प्रचण्ड पनि भन्ने। फेरि त्यो भए के-के हुन्छ भन्ने पनि ठान्ने,  मलाई (उच्चस्तरीय समितिको संयोजक) बनाउन उहाँहरुलाई फलामको च्यूरा किन भएको छ?' प्रचण्डले भने, 'मलाई किन चाहियो। म अपोजिसन पार्टीको लिडर पनि छु, म पार्टीको अध्यक्ष पनि छु। पूर्व प्रधानमन्त्री पनि छु। मलाई संयन्त्रको संयोजक भएर के चाँही हुने हो र?'

प्रचण्डले राजनीतिक समितिको आवश्यकता शान्ति प्रक्रिया टुङ्ग्याउन, संविधान निर्माण गर्न विश्वासको वातावरण बनाउन चाहिएको बताए।

'वैद्यसँग मिलेर संविधान नबनाउने भए सुशीलले बनाउँदैनन्'
प्रचण्डले मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसँग मिलेर संविधान नबाउने खेलमा लागेको भनेर एकीकृत नेकपा माओवादी बारे गलत प्रचार गरिएको बताए। प्रचण्डले दुई माओवादी मिलेर संविधान नबनाउने खेल सुरु हुन लाग्यो भनेर मिडियामा आउँदो नमिठो र दुःख लागेको बताएका हुन्।

'वैद्यजीसँग वार्ता गर्ने एमाओवादीको आविष्कार होइन प्रधानमन्त्री सुशील कोइराला आफ्नै आविष्कार हो। सुशीलजी आफैँले वैद्यजी एक्लैलाई बालुवाटार बोलाएर के गर्नुपर्छ भनेको हो,' प्रचण्डले भने, 'प्रधानमन्त्रीले पछि वैद्य जीको प्रस्ताव मैले सकरात्मक भनेँ भनेर सुनाउनुभयो। हामीले ठिकै छ भन्यौँ। सरकारले कि त पहिले सकारात्मक भन्नै हुन्थेन। भनेपछि त अब गर्न पर्‍यो नि। अहिले माओवादीलाई दोष किन? यो भन्दा ठूलो बेइमानी, यो भन्दा ठूलो राजनीतिक अनैतिकता के हुन्छ?'
 
'हिजो प्रधानमन्त्रीले पुरानो र नजिकको मित्र भन्नु भएको छ वैद्यजीलाई। अब वैद्यजीसँग मिलेर संविधान नबनाउने हो भने त सुशीलजी नै एक नम्बरमा पर्नुहुन्छ नि। तर्क त यस्तो पनि गर्न सकिन्छ।' प्रचण्डले भने।
 
'संविधान बनाउन चार वर्षको संवैधानिक व्यवस्था छ'
अध्यक्ष प्रचण्डले डाक्टर बाबुराम भट्टराई नेतृत्वको राजनीतिक संवाद तथा सहमति समितिमा कांग्रेस र एमालेका नेताहरुले छलफल गरौँ भन्दा ध्यान नदिएको बताए। पहिला समय गुजार्न कांग्रेस, एमालेका नेता विदेश गएको र  १७ गते पछि पनि छलफल भन्दा प्रक्रियामा जान जोड दिएको प्रचण्डले बताए।

'ढिलो भयो भन्दा कहिले विदेश जाने। समय सकिदैँ गएपछि अन्तरवस्तुमा सहमति गर्न सक्रिय होइन कि प्रक्रियामा जाउँ भने,'  प्रचण्डले उल्लेख गरे, 'महिनौँ समय छँदा राज्य पुर्नसंरचना शासकीय स्वरुपका अन्तरवस्तुमा छलफल नै गर्न तयार भएनन्।'

'अहिले मैले मेरो अघि चाँही प्रक्रियामा जाँउ भन्न पाउनुहुन्न भनेको छु,' प्रचण्डले भने, 'संवैधानिक व्यवस्था अनुसार चार वर्ष बाँकी छ। पहिला दुई वर्षको थियो, पहिला तपाइँहरु नै थपौँ-थपौँ भनेर भन्ने अहिले चाँही एक वर्ष नि भएको छैन तपाइँहरु अहिले आफ्नो बहुमत भएको बेलामा लौ प्रक्रियामा लैजाऊँ भनेर भन्ने?'

कांग्रेस एमालेका नेताहरुको खेल विस्तार विस्तार बुझ्न थालेको प्रचण्डले दावी गरे। 'विषयवस्तुमा छलफल गराउने र त्यहाँ केन्द्रित बन्ने भन्दा अर्कोलाई आरोप के लगाउने भन्नेमा दिमाग खियाउनु हुँदो रहेछ,' अहिलेका सबै समस्याको जड कारण सरकारमा भएका पार्टीहरु भएको प्रचण्डको दावी थियो।

प्रचण्डले माघ ८ को कार्यतालिका प्रभावित नहुने गरी संविधान बनाउनुपर्ने बताए। शासकीय स्वरुपमा छलफल अहिले गम्भीर रुपमा कुराकानी नभएको उनले बताए।
 
नेकपा - माओवादीको संविधान निर्माणमा सहभागिता बारे
'वैद्यजीहरुलाई सहभागी नगराई संविधान बनाए पनि संविधान कार्यान्वयन नहुने अवस्था आउँछ। अहिले उहाँहरु पनि आउन चाहिरहनु भएको छ। संविधान निर्माणमा सहभागी हुन चाहेको अवस्था छ। सभामार्फत् सहभागी गराउँ भन्ने मेरो मान्यता छ तर अनन्तसम्म लैजाउँ भन्ने होइन,' प्रचण्डले भने।
 
'प्रधानमन्त्री जिम्मेवार छैनन्'
अहिलेको सरकार सुस्त मनिस्थितिको हुनुमा कांग्रेस एमालेको आन्तरिक किचलो कारण रहेकी प्रचण्डले बताए। तर यसको नैतिक जिम्मेवारी भने प्रधानमन्त्रीको हुने उनको धारणा थियो। 'प्रधानमन्त्रीको स्वास्थ्यसँग जोडेर कुरा गर्न चाहन्न तर उहाँ 'रेस्पन्सिबल लिडर' हुनुहुन्न। अरुले मलाई यस्तो बनाइदिए भन्नुहुन्छ।'
 
राष्ट्रिय सहमति सरकार
'इतिहास हेर्ने हो भने संविधान चाँही सबै पार्टीहरुको सरकार भएको बेलामा मात्र बनेको छ। प्रमुख पार्टीहरु विभाजित भएर संविधान बनेकै छैन। त्यसरी हेर्दा सबै पार्टीको सरकार भयो भने संविधान बनाउन सहज हुनसक्छ भन्ने तर्क मैले पहिला गरेको थिएँ,' प्रचण्डले भने, 'मलाई अहिले पनि त्यो लाग्छ।'

प्रचण्डले राष्ट्रिय सहमतिको सरकार पनि नबन्ने, उच्चस्तरीय राजनीतिक संयन्त्र नबन्ने अवस्थामा संविधान बन्न धेरै कठिन हुने बताए।

पुरा अडियो सुन्नुस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell