PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नयाँ संविधान लागू भएको सात दिनभित्र प्रधानमन्त्री निर्वाचन, नयाँ राष्ट्रपति एक महिनाभित्र



नयाँ संविधान लागू भएको सात दिनभित्र प्रधानमन्त्री निर्वाचन, नयाँ राष्ट्रपति एक महिनाभित्र

  • पहिलोपोस्ट -
काठमाडौँ : दलहरुले फास्ट ट्रयाकमा प्रक्रिया अघि बढाई संविधान जारी गर्ने हो भने जारी हुनेबित्तिकै वर्तमान सरकार कामचलाउ हुने र सात दिनभित्र व्यवस्थापिका संसदले नयाँ प्रधानमन्त्री चुन्नुपर्ने संवैधानिक व्यवस्था प्रस्तावित संविधानको मस्यौदामा गरिएको छ। 

संविधानको प्रारम्भिक मस्यौदाको भाग ३५ मा रहेको सङ्क्रमणकालीन व्यवस्थाको धारा २८८ मा भनिएको छ

यो संविधान प्रारम्भ भए पछि धारा २८६ को उपधारा (६) बमोजिम आह्वान गरिएको व्यवस्थापिका—संसदको अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुनेछ । 

धारा २८६ को उपधारा (६) मा 'यो संविधान प्रारम्भ हुँदाका बखत व्यवस्थापिका—संसदको अधिवेशन चलिरहेको रहेनछ भने राष्ट्रपतिले यो संविधान प्रारम्भ भएको मितिले सात दिनभित्र व्यवस्थापिका—संसदको अधिवेशन आह्वान गर्नेछ' भनिएको छ। हाल व्यवस्थापिका संसदको वर्षे अधिवेशन चलिरहेको हुँदा अधिवेशन चल्दाचल्दै संविधान जारी भयो भने सात दिनभित्र मुलुकले नयाँ प्रधानमन्त्री देख्न पाउनेछ। 

यदि अधिवेशन अन्त्य भइसकेपछि संविधान जारी भयो भने संविधान जारी भएको सात दिनभित्र व्यवस्थापिका संसद बस्नेछ भने त्यसको सात दिनभित्र प्रधानमन्त्री निर्वाचन हुनेछ। 


संविधान जारी भइसकेपछि ६०१ सदस्यीय संविधानसभा यो  स्वतः व्यवस्थापिका—संसदमा रुपान्तरण हुनेछ र त्यस्तो व्यवस्थापिका संसद्को कार्यकाल नेपालको अन्तरिम संविधान, २०६३ बमोजिमको संविधानसभाको कार्यकाल पूरा नभएसम्म कायम रहनेछ। तर त्यस्तो कार्यकाल पूरा हुनु अगावै यस संविधान बमोजिमको प्रतिनिधिसभाको निर्वाचन हुने भएमा त्यस्तो निर्वाचनको लागि उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म कायम रहनेछ । 

राष्ट्रपति र उपराष्ट्रपति एक महिनामा

यो संविधान प्रारम्भ हुने बित्तिकै राष्ट्रपति र उपराष्ट्रपति पनि कामचलाउ भई अर्काे राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित नभएसम्म आ– आफ्नो पदमा बहाल रहने छन्।

यी पदको निर्वाचनका लागि संसदको अधिवेशन आह्वान भएको मितिले एक महिनाको म्याद संविधानले दिएको छ। 
 
व्यवस्थापिका—संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्यको बहुमतद्वारा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गर्नु पर्ने संविधानमा व्यवस्था छ।  

गणतन्त्र नेपालका दोस्रो राष्ट्रपति र उपराष्ट्रपतिको पदावधि धारा ६६ बमोजिमको निर्वाचक मण्डलबाट राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भई कार्यभार नसम्हालुञ्जेल रहने छ। 

सभामुख र उपसभामुख २० दिनभित्र 

नयाँ संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका व्यवस्थापिका संसद्का सभामुख र उपसभामुख अर्काे सभामुख र उपसभामुख निर्वाचित नभएसम्मका लागि काम चलाउ हुनेछन्। 

नयाँ सभामुख र उपसभामुखका लागि व्यवस्थापिका—संसदको अधिवेशन प्रारम्भ भएको मितिले बीस दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था संविधानमा छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell