PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अवैध रुपमा ​अमेरिका जान खोज्ने ३४ नेपाली कोस्टा रिकामा पक्राउ



अवैध रुपमा ​अमेरिका जान खोज्ने ३४ नेपाली कोस्टा रिकामा पक्राउ
कोस्टा रिकाको सुरक्षा निकायले जारी गरेको पक्राउ परेका नेपालीहरुको फोटो।

काठमाडौँ : मेक्सिको हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्ने तयारीमा रहेका ३४ नेपाली नागरिक कोस्टा रिकामा पक्राउ परेका छन्।
 
त्यहाँको प्रहरीले पनामा नजिकैको सीमा क्षेत्रमा रहेको इलाकाबाट सोमबार कागजात बिना गैर कानुनी रुपमा देशमा रहेको आरोपमा एकै पटक २७ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका सबै जना नेपाली नागरिक रहेको कोस्टा रिकाको सार्वजनिक सुरक्षा मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ।
 
विज्ञप्तिसँगै फोटो पनि सार्वजनिक गरिएको छ तर परिचय लुकाइएको छ। उनीहरुको परिचय थाहा पाउन सकिएको छैन।
 

यसअघि शुक्रबार पनि नौ जना पक्राउ पर्दा सात जना नेपाली र दुई जना ब‍ंगलादेशी नागरिक परेका थिए।
 
कागजात बिनाका आप्रवासीहरु गैरकानुनी रुपमा बसिरहेको गोप्य जानकारी सोमबार बिहान सात बजेर ४० मिनेटमा आउने बित्तिकै छापा मारी नियन्त्रणमा लिइएको वक्तव्यमा जनाइएको छ।  
 
कोस्टा रिकाले मानव तस्करीविरुद्ध अभियान चलाउने क्रममा यी पक्राउ गरिएका हुन्।
 
मानव तस्करीलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय संगठित अपराधका रुपमा पहिचान गरेको छ। पनामाबाट निकारागुवा, होन्डुरस, ग्वाटेमाला हुँदै मेक्सिकोबाट अमेरिका छिर्न दलालहरुले कोस्टा रिकाको बाटो उपयोग गर्ने गर्छन्।
 
बाटोमा पर्ने देशहरुमध्ये मानव तस्करीविरुद्ध सबैभन्दा आक्रामक अभियान कोस्टा रिकाले सञ्चालन गरिरहेको छ। लाखौँ रुपैयाँ दलाललाई दिएर अमेरिका जान खोज्ने क्रममा धेरै नेपाली त्यहाँ पक्राउ परेको खबर सार्वजनिक हुने गरेका छन्।
 
अवैध रुपमा जान कठिन भएपछि गत वर्ष वैध रुपमै विश्वविद्यालयको आमन्त्रणमा पुगेर चार नेपाली बेपत्ता भएको खबरले पनि कोस्टा रिकामा ठूलै चर्चा पाएको थियो।
 
पक्राउ परेका नेपालीलाई सुरुमा स्वास्थ्य परीक्षण गरिने र त्यहाँको अध्यागमन ऐन अनुसार कारबाही गर्न अध्यागमन पठाइने विज्ञप्तिमा उल्लेख छ।
 
पक्राउ परेकाहरुलाई अध्यागमनले इमिग्रेसन जेलमा राख्ने कोस्टा रिकाका लागि नेपालका अवैतनिक दूत आना भिक्टोरिया बादिल्ला भिल्लानुएभाले बताइन्।
 
'जेल भनिए पनि यो खासमा जेल जस्तो हुँदैन। खान, बस्न असुविधा नभए पनि यसरी पक्राउ परेकाहरु अमेरिका जान धेरै खर्च गरिसकेको हुनाले नेपाल फर्कन चाहँदैनन्। धेरैजसोले शरणार्थीको स्टायटस पाउन निवेदन दिन्छन्,' पहिलोपोस्टसितको इमेल वार्तामा उनले बताइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell