PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

संविधान २०७२ : विदेशको नागरिकता लिइसकेका एनआरएनले पनि नेपाली नागरिकता पाउने



संविधान २०७२ : विदेशको नागरिकता लिइसकेका एनआरएनले पनि नेपाली नागरिकता पाउने

  • पहिलोपोस्ट -
काठमाडौँ : प्रस्तावित संविधानको मस्यौदामा सशर्त दोहोरो नागरिकताको प्रावधान राखिएको छ। यसअघिका संविधानहरुमा वंशज, अंगीकृत र सम्मानार्थ नागरिकताको मात्र व्यवस्था भए पनि यस पटक गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिएको छ। 

संविधानको मस्यौदाको धारा १९ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरेका व्यक्तिले पनि यस्तो नागरिकता पाउने व्यवस्था छ। तर, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सात देशभन्दा बाहिरका देशमा बसोबास गरेका नेपाली मूलका व्यक्ति मात्र यस्तो नागरिकताका लागि योग्य हुनेछन्।

गैरआवासीय नेपाली नागरिकता भएकासँग राजनीतिक अधिकार अर्थात् भोट खसाउने, उम्मेदवार बन्ने आदि जस्ता अधिकार हुने छैनन्। 
यद्यपि उनीहरुलाई सम्पति किनबेच गर्ने, विभिन्न कम्पनीहरुमा लगानी गर्ने जस्ता कानुन बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हुनेछन्। 

राजनीतिक अधिकारसहितको नागरिकता प्राप्त गर्न भने पुनः नेपालमा आई पाँच वर्ष बसोबास गरी विदेशी मुलुकको नागरिकता परित्याग गर्नुपर्ने व्यवस्था धारा १६ को नागरिकताको पुनःप्राप्ति शीर्षकमा व्यवस्था गरिएको छ।  

अन्य मुलुकको नागरिकता प्राप्त गरेमा नागरिकता कायम नरहने व्यवस्था धारा १८ ले गरेको छ। यही धाराको उपदफा २ ले नेपाली नागरिकता प्राप्त गर्न योग्यता पुगेको कुनै व्यक्ति अन्य मुलुकको पनि नागरिकता प्राप्त गर्न योग्य रहेछ भने त्यस्तो व्यक्तिले नागरिकता प्रमाणपत्र लिन योग्यता पुगेको दुई वर्षभित्र नेपालको नागरिकता नरोजे त्यस्तो व्यक्ति नेपालको नागरिक नहुने व्यवस्था गरेको छ। 

त्यस्तै नाबालिकको हकमा बालिग भएको मितिले निश्चित अवधिभित्र (दुई वा पाँच वर्षभित्र भन्नेमा सहमति हुन बाँकी रहेको) नेपालको नागरिकता नरोजे नेपालको नागरिक नहुने व्यवस्था छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell