PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

३७ भाग, २९६ धारा र १२१ पेजको संविधानको मस्यौदा तयार, सभासद्लाई बाँडियो



३७ भाग, २९६ धारा र १२१ पेजको संविधानको मस्यौदा तयार, सभासद्लाई बाँडियो

  • मनोज सत्याल/पहिलोपोस्ट -
काठमाडौँ : संविधान मस्यौदा समितिले शुक्रबार राति अबेरसम्म तन्किएको बैठकमा ३७ भाग र २९६ धारा र १२१ पेजको संविधानको मस्यौदा अध्ययनका लागि सभासद्लाई वितरण गरेको छ। 

सुरुमा अपराह्न ५ बजे डाकिएको समितिको बैठक राति ८ बजे बस्ने भनिए पनि पौने १० बजे बल्ल सुरु भएको थियो। बैठकमा कार्यदलले तयार पारेको एकीकृत मस्यौदा पेश गरिएको थियो। समितिमा सदस्य रहेका ७३ सदस्यलाई संविधानको मस्यौदा बाँडिएको हो।

मस्यौदाको अन्तिम पेजमा एमाओवादी सचेतक गिरिराजमणि पोखरेलले आफ्नो पार्टीको तर्फबाट फरक मत पेश गर्दै प्रस्तुत गरेको ध्यानाकर्षण पत्र राखिएको छ। समितिका सदस्य एमाओवादी सभासद् रामनारायण विडारीले आफूहरुले फरक मत प्रस्तुत गरेको जानकारी दिए।

शुक्रबार दिनभर कानुनविद्सँग बसेर मस्यौदालाई अन्तिम रुप दिइएको थियो। 

यसअघि बुधबार बसेको बैठक विवादित विषयमा दलहरुबीच सहमति भइनसकेको भन्दै आजसम्मका लागि सारिएको थियो। 

के-केमा भयो सहमति?

विवादित विषयमध्ये केहीमा दलहरुबीच सहमति भएको छ भने केहीमा अझै टुङ्गोमा पुग्न बाँकी छ। एमाओवादीले केही विषयमा फरक मत राखेर जाने भएको छ। 

शुक्रबार भएका सहमति मध्ये विशेष क्षेत्र प्रदेशले तोक्न सक्ने एक प्रमुख विषय हो। सं‍विधानमा 'आमा वा बुबा' लेख्ने कि 'आमा र बुबा' लेख्ने भन्ने विषयमा आमा र बुबा नै लेख्ने सहमति भएको छ। 

बहुलवादको विवाद

नेपाली कांग्रेसले अडानका रुपमा राख्दै आएको बहुलवादको विषयलाई समिति सदस्य अइन्द्रसुन्दर नेम्वाङले उपयुक्त स्थानमा राख्ने तर कहाँ राख्ने भन्ने टुङ्गो लाग्न बाँकी भएको बताए। तर कांग्रेस सभासद् रमेश लेखकले भने शासकीय स्वरुपमा यसलाई राखिएको बताए।

जिल्ला, नगरपालिका, गाविसको संरचना कायमै

देश संघीयतामा जाने भए पनि हाललाई ७५ जिल्लाको संरचना कायमै रहने भएको छ। का‍ंग्रेस सभासद् गगन थापाले संविधान जारी भएको ६ महिनाभित्र अहिले कै संरचनामा स्थानीय निकायको निर्वाचन हुने संवैधानिक सुनिश्चितता भएको ट्विट गरेका छन्। 

प्रदेश निर्वाचन समानुपातिक पनि

यसअघि दलहरुबीच प्रदेश निर्वाचन पहिलो हुनेले जित्ने प्रत्यक्ष प्रणालीमा गर्ने सहमति भएको भनिए पनि हाल यसमा पनि मिश्रित निर्वाचन प्रणाली अपनाउने प्रस्ताव गरिएको छ। केन्द्रीय संसदमा जस्तै प्रदेश निर्वाचनमा पनि ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिकको प्रस्ताव गरिएको छ।
 

अझै बाँकी छ मिलाउन, शनिबार शीर्ष नेताको बैठक

सभासद् भानुभक्त ढकालका अनुसार दलहरुबीच मिलाउन बाँकी विषयहरुमा छलफल गर्न भोलि शनिबार बिहान ९ बजे प्रमुख दलका शीर्ष नेताको बैठक बस्नेछ। शीर्ष नेताले टुङ्गो लगाएका विषयमा छलफल र परिमार्जन पूर्ण समितिले गर्नेछ।

समितिमा शनिबार र आइतबार छलफल हुने तय भएको छ। संविधान सभाको बैठक सोमबार असार १४ गते दिनको ३ बजे डाकिएको छ। तर पद्मसुन्दर लावतीको निधन भएकोले दलहरुबीच त्यतिन्जेल सहमति भइनसके शोक प्रस्तावमात्र पारित गरी अर्को दिन बैठक बस्ने गरी समय लम्ब्याउने बाटो पनि खुला छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell