PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

यसरी बन्दैछ गौतमवुद्ध विमानस्थलको धावनमार्ग



यसरी बन्दैछ गौतमवुद्ध विमानस्थलको धावनमार्ग

  • कृष्ण खनाल- 
भैरहवा : असारको महिना, झमझम पानी परेको छ। तर भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण रोकिएको छैन। धावनमार्ग निर्माणको काम भइरहेका बेला वर्षा लागेपछि निर्माण कम्पनीले खोला फर्काउने र जमिन सम्याउने काम सुरु गरेको छ।

पिच गर्न नमिल्ने भएपनि वर्षायाममा गर्न मिल्ने कामहरु नरोकिएको ठेकेदार नर्थवेष्ट चाइना कम्पनीले जनाएको छ। निर्धारित समयमा काम सक्नका लागि वर्षायाममा पनि काम नरोकिएको हो। 

यतिबेला विमानस्थल क्षेत्रबाट घाँघर नदी फर्काउने काम अन्तिम चरणमा पुगिसेको छ भने सहायक निर्माणको काम सकिएको छ। तीन किलोमिटर लम्बाई र तीन सय मिटर चौडाइको विमानस्थल धावनमार्ग निर्माण सबैभन्दा महत्वपूर्ण भएकाले यसमा विशेष ध्यान दिइएको निर्माण पक्षले जनाएको छ।

मार्ग निर्माणको लागि कुल लागतको ५१ प्रतिशत रकम छुट्याइएको छ। निर्माणाधीन धावनमार्ग हालको धावनमार्गको दक्षिणतर्फ हुनेछ। 

यस्तो बन्नेछ धावनमार्ग

आयोजनाका उपनिर्देशक ओम शर्माका अनुसार धावनमार्गको सतहको घाँस, रुख तथा जराहरु पन्छाउने काम भइरहेको छ। यो काम दुई महिनाभित्र सकिएपछि बेसमेन्ट निर्माण सुरु हुन्छ।

यो चरणमा टप स्वइलिङ गरेर नयाँ माटो फिलिङ गर्ने र कमजोर ठाउँमा खनेर नयाँ माटो राखिन्छ। त्यसलगत्तै सबग्रेड निर्माण हुनेछ। सब ग्रेडमा भार बहन क्षमता (सिबिआर) ५ प्रतिशत भन्दा बढी भएको माटो राखिनेछ। यो भाग माटो र मसिनो गिट्टी मिसाएर बनाइनेछ।

त्यसपछि बेस, बाइन्डर र सरफेस निर्माण गरिन्छ। यो भागमा मोटो खालको गिट्टी र अलकत्रा समेत मिसाई ३० सेन्टिमिटर अग्लो गराइनेछ। 
दुई वर्षपछि निर्माण सकिँदासम्म धावनमार्ग जमिनको सतहबाट १ सय ३५ सेन्टिमिटर अग्लो हुनेछ। 

२०२३ सालमा भारत सरकारको सहयोगमा निर्माण भएको गौतमबुद्ध विमानस्थललाई स्तरोन्नती गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन चीनको नर्थ वेस्ट कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ठेक्का पाएको छ।

सम्झौताअनुसार सन् २०१७ डिसेम्बर ३१ सम्म विमानस्थल निर्माण सम्पन्न गर्नुपर्नेछ। एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएको हो। यो विमानस्थल निर्माणको उद्घाटन गएको माघ १ गते प्रधानमन्त्री सुशील कोइरालाले गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell