PahiloPost

Jun 3, 2026 | २० जेठ २०८३

सरकार सञ्चालनमा पार्टी भित्रबाटै असहयोग भएको प्रधानमन्त्रीको गुनासो



सरकार सञ्चालनमा पार्टी भित्रबाटै असहयोग भएको प्रधानमन्त्रीको गुनासो

मनोज सत्याल/पहिलोपोस्ट
काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले सरकार सञ्चालनमा पार्टीका नेताहरु नै असहयोग गरेको गुनासो गरेका छन्। सोमबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री कोइरालाले पार्टी भित्र गुटबन्दी भएको र चाहेको जस्तो सहयोग नपाएको बताएका हुन्।

कोइरालालाई उदृत गर्दै सभासद् रामहरी खतिवडाले उपसभापति रामचन्द्र पौडेल र बरिष्ट नेता शेरबहादुर देउवाले सरकार सञ्चालनमा असहयोग गरेको बताए। 'सरकारमा पार्टीको तर्फबाट सहयोगको आभास नै नभएको भनेर प्रधानमन्त्रीले कुरा राख्नुभयो,' खतिवडाले भने। बैठकको सुरुमा आफ्नो धारणा राखेर कोइराला बाहिरिएका थिए।

बरिष्ट नेता देउवाले भने आफूले कोइरालालाई प्रधानमन्त्री र सभापति एकै जना हुदाँ काम गर्न सजिलो हुने भन्दै आफूले कोइरालालाई सहयोग गरेको बताएका थिए।

प्रधानमन्त्री कोइरालाले विपी पदयात्रा बारे आफूसँग सोधपुछ नगरेको भन्दै बैठकमा असन्तुष्टि व्यक्त गरेका थिए। विपी पदयात्रा काँग्रेसको निती तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको हो। प्रतिष्ठानको प्रमुखमा उपसभापति रामचन्द्र पौडेल रहेका छन्।

त्यस्तै प्रधानमन्त्री कोइरालाले आइतबार डेमोक्रेटिक लयर एशोसिएशनको कार्यक्रमको नेता देउवाले उद्घाटन गरेकोमा समेत आपत्ति जनाएका थिए। एशोसिएशनको नेपालगन्जमा भएको नवौं महाधिवेशन बहिष्कार गरेको समूहको विशेष महाधिवेशन उद्घाटनमा देउवा सहभागी भएकोमा कोइरालाले आक्रोश व्यक्त गरेका हुन्।

प्रधानमन्त्री कोइराला उपचारका लागि अमेरिकाबाट फर्किएपछि पहिलोपटक काँग्रेसले संसदीय दलको बैठक बसेको हो।

संविधान विवादित विषयमा एकै प्रकारको धारणा राख्न निर्देशन
बैठकमा उपसभापति रामचन्द्र पौडेलले संविधानका विवादित विषय संवैधानिक राजनीतिक संवाद समितिबाट संविधानसभा पुगेको र छलफलमा पार्टीको धारणा स्पष्ट रुपमा राख्न सुझाएका थिए।

काँग्रेस सभासद्हरुले संविधानका विवादित विषयमा पार्टीको धारणा स्पष्ट नहुदाँ विभिन्न छलफल तथा बहसमा धारणा बाझिने गरेको गुनासो गर्दै आएका छन्। उनीहरुले प्रत्यक्ष निर्वाचित र समानुपातिक सभासद्को धारणा फरक परेको भन्दै नेतृत्वले लापरवाही गरेको बताउँदै आएका छन्।

बैठकमा शासकीय स्वरुप, न्यायप्रणाली र राज्यको पुर्नसंरचनाबारे विवादित विषय र पार्टीको धारणा बारे उपसभापति रामचन्द्र पौडेललले जानकारी गराएको सचेतक चिनकाजी श्रेष्ठले बताए। बरिष्ट नेता देउवाले भने अध्ययन गरेर संविधानसभामा धारणा राख्न सुझाएको श्रेष्ठले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell