PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'सुनकोशीको ताल फुटेको होइन, पानी आफै बगेको हो'



'सुनकोशीको ताल फुटेको होइन, पानी आफै बगेको हो'

डा. रन्जन कुमार दाहाल
इन्जिनियरिङ भूगर्भविद (पहिरो विज्ञ)-
गएको साउन १७ गते सिन्धुपाल्चोकको जुरे क्षेत्रमा पहिरो गएपछि थुनिएको सुनकोशी नदीबाट बनेको कृत्रिम ताल आज बिहान फुट्यो भनेर अहिले मिडियामा जुन चर्चा भइरहेको छ, त्यो प्राविधिक रुपमा गलत हो। ताल फुटेको होइन, प्राकृतिक रुपमा नै सेकेन्डरी च्यानलको कमलो भाग आफै ठूलो भएर पानी बगेर गएको हो।

फुटेको भए पानी अनियन्त्रित रुपमा बग्थ्यो। लेदो माटो, झारपातहरु बग्थ्यो। त्यस्तो केही भएको देखिँदैन। अहिले त सेकेन्डरी च्यानलबाट पानी बढी मात्रामा बगेर गएको मात्र हो। तीन घण्टामा तालको पानी बिस्तारै घट्दै गएको हुनाले यसलाई ताल फुटेको भन्न मिल्दैन।

हिजो त्यस क्षेत्रमा ठूलो वर्षा भएपछि तालमा पानीको सतह बढेको थियो। त्यही पानीका कारण सेकेन्डरी च्यानल आफै ठूलो भएर पानी बगेर गएकोले ठूलो क्षति हुन नपाएको हो।

सेनाले सुरुमा प्राइमरी च्यानलबाट पानीको निकास गराउन खोजेको थियो। हामीले त्यहाँबाट पानी निकाल्न पाए सुरक्षित हुन्छ भनेर भनेका थियौँ। तर त्यहाँबाट निकास गराउन गाह्रो पर्‍यो।

त्यसपछि सेकेन्डरी च्यानलको सुरक्षित हुनसक्ने बिन्दू हामीले सेनालाई पहिल्याइदिएका थियौँ। मैले पानीको सतह घटाउन सम्बन्धित निकायलाई बारम्बार घच्घच्याइरहेको थिएँ। तर सबैको ध्यान बाटो खोल्नतिर मात्रै गयो। मेसिनरी नपुगेर अगाडि नै खोल्नु पर्ने पानीको निकास खोल्न सकिएन। निकास खोल्न एक दुई वटा मात्रै एक्साभेटर प्रयोग गरियो भने १५ वटा जति चाहिँ बाटो खोल्न मात्रै प्रयोग गरियो।


फोटो सौजन्यः कपिल धिताल
त्यसैले जुन तरिकाले सुरक्षित रुपमा पानीको निकास खोल्नुपर्थ्यो, त्यो गर्न सकिएन। तर पनि म यसलाई प्रकृतिले माया गरेको नै भन्छु।
तालको पानी आफै सेकेण्डरी च्यानलको सापेक्षिक रुपमा कमलो भाग खुलेर बग्नु नै प्रकृतिको माया हो। यो सेकेण्डरी च्यानल खोलिएको ठाउँ ठूला एस्काभेटरले खोल्नु पर्ने ठाउँमा आफै ३ घन्टामा खोलिनु जति खतरनाक थियो, त्यति नै खतरा पनि टरेको छ।

वारीपट्टी १५ वटा जति एस्कभेटरले बाटो खोल्ने काम र ड्याम पट्टी दुई वटाले मात्र च्यानल खोल्ने काम गरेका थिए।  आज त्यही चाँडो खोल्नु पर्ने च्यानलबाट पानी सजिलै बगेर गएकोलाई ड्याम फुट्यो भन्नुभन्दा पानी छिटो बगेर गएको भन्नु ठिक होला।  फुट्यो भन्दा सबैलाई डर हुन्छ तर पानी छिटो बग्यो भन्नुले वास्तविकता झल्किन्छ।
 
ताल खोल्न नहुने भन्नेलाई झापड
ताल खोल्न हुँदैन संरक्षण गर्नुपर्छ भन्दै केही अघि काठमाडौँमा कार्यक्रम समेत भएको म सम्झन्छु। यो एकदम वाहियात विषय थियो। ताल खोल्न नहुने भन्दै कराउनेहरुलाइ प्रकृतिले यो राम्रो झापड दिएको हो।

धन्न कुनै ठूलो घटना भएको छैन। तालको पानी घटाउन हामीले समयमा काम गर्न नसकेपछि आखिरमा प्रकृतिलाई नै दिक्क लागेर बाटो खोल्ने नाममा प्रकृतिलाई कोपरेको सहन नसकी सुनकोशीको पानी घटाइदिएको रुपमा मैले यसलाई लिएको छु।

तालको पानी नखोलेको भए पनि ढिलोचाँडो असुरक्षित रुपमा यसको पानी बाहिरिन्थ्यो।

प्रकृतिले ३ घन्टामा हामीलाई आफूले १ महिना ५ दिन अगाडि गरेको आफ्नो गल्ति सुधारेर खुशी दिइन्। अब तालको राजनीति र बेतुके कुरा लगभग समाप्त भएको छ। तालको पानी खोल्न मेसिन पुर्‍याउन नसक्नेदेखि ताल खोल्न नचाहने सबैलाई प्रकृतिको यो गज्जबको उपहार हो।

   

 पहिरोको खतरा छ

सुनकोशीको कृत्रिम तालको पानीको सतह एक्कासी घटेपछि अब त्यस क्षेत्रमा पहिरोको खतरा बढेको छ। यसमा हामी निकै सतर्क      हुन  जरुरी छ।
पानीको सतह घटेपछि त्यहाँको जमिनले सहन सक्दैन। त्यसैले तालको दायाँ बायाँ जहाँ सेना र व्यापारीहरु सडक कोतरेर ट्र्याक   खनिरहेका छन्, त्यस क्षेत्रमा अहिले पानी पर्‍यो भने पहिरोको खतरा एकदमै बढी छ।
​यसबारे मैले गृह मन्त्रालय, नेपाली सेना लगायतका सम्बन्धित निकायमा जानकारी गराइसकेको छु। हामी पहिरोको जोखिमप्रति   एकदमै सतर्क रहन जरुरी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell