PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सुशील कोइरालालाई राष्ट्रपति मान्न तयार छौँ : प्रचण्ड



सुशील कोइरालालाई राष्ट्रपति मान्न तयार छौँ : प्रचण्ड
फोटो : बिबिसी

काठमाडौँ : एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफूलाई संवैधानिक राष्ट्रपति बन्ने कुनै इच्छा नभएको भन्दै सुशील कोइरालालाई राष्ट्रपति मान्न तयार भएको बताएका छन्। 

प्रमुख चार दलबीच सोमबार राति भएको १६ बुँदे सहमतिमा छोटो प्रक्रियाबाट संविधान जारी भए लगत्तै नयाँ स‌ंविधान अनुसार निर्वाचन नभएसम्मका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखको नयाँ निर्वाचन हुने उल्लेख छ।
 
'राष्ट्रपतिमा हाम्रो कुनै दावी छैन', बिबिसी नेपाली सेवालाई अन्तर्वार्ता दिँदै प्रचण्डले भने, यो विषयमा सम्झौतामा हस्ताक्षर हुनुअघि प्रमुख राजनीतिक दलका चारै नेताको बीचमा छलफल भएको थियो। मैले के आभास पाइसकेको थिएँ भने प्रधानमन्त्री सुशील कोइरालाले संविधान घोषणापछि प्रधानमन्त्री पद त्याग गरिसकेपछि र ओलीजी प्रधानमन्त्री बन्ने बाटो खुलेपछि र राष्ट्रपतिले छाड्नुपर्ने अवस्थामा के होला काङ्ग्रेसलाई भन्ने कुरा उठिराख्या थियो। र मैले बडो प्रष्टसँग त्यहाँ भनेको थिएँ राष्ट्रपतिमा अहिले हाम्रो दावी छैन। नेपाली काङ्ग्रेसले नै राष्ट्रपति लिओस्। अब नेपाली काङ्ग्रेसले निधो गरोस् यदि उहाँहरु रामवरण यादव जो अहिले राष्ट्रपति हुनुहुन्छ, उहाँलाई नै फेरि राष्ट्रपति निर्वाचित गर्न चाहन्छ भने हामीलाई आपत्ति छैन। सुशील कोइरालाजी आफै राष्ट्रपति हुन इच्छुक हुनुहुन्छ भने र काङ्ग्रेसले त्यही निर्णय गर्छ भने पनि हामीलाई आपत्ति छैन। यसो भनेपछि नै सम्झौताको वातावरण अझ राम्रो बनेको हो।'

उनले आफू सक्रिय राजनीतिमा नै लाग्नु पर्ने भएकोले सेरेमोनियल सम्मानित पदमा खुम्चिन इच्छा नभएको र देशको आवश्यकता पनि त्यस्तो नभएको बताए। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा आफ्नो पार्टीको अडान कायमै रहेकोले नैतिक रुपमा पनि सेरेमोनियल राष्ट्रपतिमा जान नमिल्ने उनको कथन थियो। 

११ बाट ८ प्रदेशमा

प्रचण्डले अघिल्लो संविधान सभामा २०६९ जेठ २ गते दलहरुबीच भएको सहमतिको स्मरण गर्दै भने, 'विगतमा ११ प्रदेशमा सहमति हुँदै थियो तर केही कारणले सहमति भत्कियो। हामीले ठूलो मूल्य चुकाउनुपर्‍यो।'

त्यतिबेला नामाकरण र सीमाङ्कन संघीय आयोगले टुङ्ग्याउने गरी सहमति भएको थियो। तर नाम र सीमा बिनाको प्रदेश मान्न तयार नहुने भन्दै विरोध भएपछि सहमति भत्किएको थियो। 

१२ बुँदेको यात्रा १६ बुँदेबाट टुङ्गिने

प्रचण्डले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने १२ बुँदे सहमतिबाट सुरु भएको यात्रा संविधान घोषणा गर्ने १६ बुँदेबाट टुङ्गिने बताए। उनले भने, 'मलाई प्रतिगामीको नाइके भन्नेहरुले धरातलीय यथार्थलाई आत्मसात गरेनन् भन्ने लाग्छ। १२ बुँदे सहमतिबाट सुरु भएको राजनीतिक यात्रा १६ बुँदेबाट टुंगिदै छ। १२ बुँदे लिने र दिनेबाटै सुरु भएको थियो।'

१६ बुुँदेे सहमतिले ९० प्रतिशत जनताको मनमा शान्ति सन्तोष र विश्वास दिलाएको उनको जिकिर थियो। 

उनलाई सोधियो जिन्दगीको योजना के छ? उनको जवाफ थियो, 'संविधानसभाबाट अग्रगामी संविधान बनाउने। त्यो लगभग पूरा हुँदैछ। अब समाजवादको आधार तयार पार्न आर्थिक वृद्धितिर लैजाने।'

प्रचण्डले समाजमा उथलपुथल ल्याउने काम गरेको बताए, '५२ सालयता केही साहसिक काम गरेँ। नेपाली समाजमा ठूलो उथलपुथल ल्यायो भन्ने लाग्छ। मैले चाहना राख्ने भनेको कार्यकारी प्रमुख भएर निश्चित योजनासहित देशलाई आर्थिक वृद्धितिर लैजाने हो।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell