PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लालबाबु पण्डित फेरि फर्किए सामान्य प्रशासन मन्त्रालयमा



लालबाबु पण्डित फेरि फर्किए सामान्य प्रशासन मन्त्रालयमा
फाइल फोटो

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् तेस्रो पटक विस्तार तथा कार्यविभाजन हेरफेर गर्दा लालबाबु पण्डितले फेरि सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन्। 

यसअघि प्रधानमन्त्री ओलीले आफूले शपथ ग्रहण गर्ने दिन फागुन ३ गते दुई जनालाई मन्त्री बनाएका थिए जसमध्ये एक लालबाबु थिए। उनलाई जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो। 

आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तारका क्रममा भने जनसंख्या तथा वातावरण मन्त्रालयलाई फुटाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रम ओलीले आफै राखी वन तथा वातावरणमा शक्ति बस्नेतलाई राखी  सामान्य प्रशासन मन्त्रालयको जिम्मा उनलाई दिइएको छ।* 

उनले दोस्रो पटक यो मन्त्रालयको जिम्मेवारी पाएका हुन्। यसअघि सामान्य प्रशासन मन्त्री हुँदा विदेशमा ग्रिनकार्ड वा पिआर लिएका नेपालका सरकारी कर्मचारीलाई कारबाही गरेर ख्याति कमाएका पण्डित यसपछि राष्ट्रवादी र स्वाभिमानी नेताका रूपमा चिनिँदै आएका छन्।

सर्लाहीबाट तत्कालीन मालेमा भूमिगत राजनीति गर्न मोरङ आएका लालबाबु पण्डितले पनि मोरङको क्षेत्र नम्बर ३ बाट २०४८ र २०५६ मा प्रतिनिधि सभाका चुनाव जितेका थिए। यसपटक मोरङ ६ मा उनले कांग्रेसका डा. शेखर कोइरालालाई पराजित गरी निर्वाचित भएका हुन्। पहिलो संविधान सभामा समानुपातिक कोटाबाट सभासद् भएका पण्डित दोस्रो संविधान सभामा सांसद् बिना नै सामान्य प्रशासन मन्त्री भए र बढी चर्चित भए।

एमालेका पोलिटब्युरो सदस्य रहेका लालबाबु पार्टीको गुटभित्र माधवकुमार नेपालका समर्थक हुन्। माधवसमर्थक भएकै कारण ओलीको सरकारमा सबैले हेपेको मन्त्रालय पाएका पण्डित सबैभन्दा बढी चर्चित र लोकप्रिय भएर निस्किए।

आफूलाई सादा जीवन उच्च विचारको परिपालक भन्न रुचाउने उनी एउटा पुरानो साइकल हाँकेर विराटनगरमा राजनीतिक भेटघाट गरिरहेका हुन्छन्। कतै टाढा जानुपरे वातानुकूलित गाडीभन्दा सार्वजनिक सवारी वा टेम्पो रुचाउँछन्। उनको आत्मपरक शैलीको संस्मरणात्मक पुस्तक सिंहदरबार बदल्ने संघर्ष प्रकाशित छ।  

(*जनसंख्या तथा वातावरण मन्त्रालय टुक्राएर जनसंख्यालाई स्वास्थ्य मन्त्रालयमा र वातावरणलाई वनसित जोडिएको अपडेट गरिएको)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell