PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​दलहरु ८ प्रदेशमा सहमत, ५ बजे लिपिबद्ध गर्ने



​दलहरु ८ प्रदेशमा सहमत, ५ बजे लिपिबद्ध गर्ने

  • मनोज सत्याल/पहिलोपोस्ट-
काठमाडौं : प्रमुख चार राजनीतिक शक्ति विवादको मूल विषय स‌ंघीयतामा सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दलहरु आठ प्रदेश बनाउन सहमत भएका हुन्। 

'अधिकतम आठ भन्नुले त्यसमा भयो भनेर बुझ्दा हुन्छ', बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्र बडुले भने, 'साँझ ५ बजेको बैठकले लिपिबद्ध गर्छौँ, सहमति भयो भन्दा हुन्छ।' 

प्रधानमन्त्री सुशील कोइराला ८ प्रदेश निर्माण गर्न बैठकमा सहमत भएका हुन्। '८ मा जाँदा के समस्या हुन्छ भनेर प्रधानमन्त्रीले भन्नुभयो', कोइरालालाई उदृत गर्दै बडुले भने। 

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पनि आठ प्रदेशमा जान दलहरु सहमत भएको पत्रकारहरुलाई बताए। कांग्रेस र एमालेले यसअघि सात प्रदेशको संयुक्त अवधारणामा निरन्तर अडान राख्दै आएका थिए भने एमाओवादी नेतृत्वको मोर्चाको १० प्रदेशमा अडान थियो। 
 

नामाङ्कनको जिम्मा प्रदेश सभालाई

दलहरु आठ प्रदेश बनाउँदा नामाङ्कनको जिम्मा प्रदेश सभालाई दिन र सिमाङ्कनको जिम्मा विज्ञहरु सम्मिलित आयोग बनाएर दिन पनि सहमत भएको बडुले जानकारी दिए। एकीकृत नेकपा माओवादीले यसअघि देखि नै ८ प्रदेशमा गएर नामाङ्कनको जिम्मा प्रदेश सभालाई दिन सकिने भन्दै लचकता अपनाएको थियो। ६ प्रदेश बनाउँदा बहुपहिचान झल्कने नामाकरण गर्नुपर्ने उसको प्रस्ताव थियो। 

सोमबार बिहान साढे ९ बजेदेखि करिब २ घण्टा भएको छलफलपछि दलहरु ८ प्रदेश निर्माण गर्न राजी बनेका हुन्। 

नेकपा एमालेका वरिष्ठ नेता समेत रहेका पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि साँझ ५ बजेको बैठक निर्णायक हुने बताए। 'छलफल गम्भीर वातावरणमा भयो, आजै ५ बजे टुङ्ग्याउने भन्ने भयो', खनालले भने। एमालेको आइतबार बसेको स्थायी समिति बैठकले ६ प्रदेशमा लचक हुने तर सहमति हुने अवस्थामा बाधक नबन्ने निर्णय गरेको थियो। 

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले साँझ पाँच बजे बसेर टुङ्ग्याउन दलहरु तयार भएको बताए। एमाओवादी सचिव वर्षमान पुनले ५ वजे टुंगो लगाउने गरी सैद्धान्तिक सहमति भएको जानकारी दिए। 'अध्यक्ष ज्यूका अनुसार ५ बजे टु‌गो लगाउने गरी ८ प्रदेशमा सहमति भएको हो।'
 

६ प्रदेश नै हुनुपर्छ - रामचन्द्र पौडेल

सोमबारको बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले धेरै प्रदेश बनाउदा मुलुकलाई आर्थिक भार पर्ने भएकाले कम प्रदेश बनाउनु पर्ने आफ्नो धारणा रहेको बताए। 'भूकम्पले भत्काएको एउटा सिंहदरबार त बनाउन सकेको छैन, केन्द्रीय संसद बनाउन सकेको छैन, ८/१० वटा प्रदेश बनाउन देशले कसरी थेग्न सक्छ' उनले भने ' बढीमा ६ प्रदेश भन्दा जानुहुँदैन भन्ने मेरो भनाई छ।'

पौडेलले ६ प्रदेशको कुराकानी गरे पनि बडुले निर्णय ८ को हुने इङ्गित गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell