PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेपालको ३० वर्षीय अन्तर्राष्ट्रिय क्रिकेट टाइमलाइन : पहिलो पटक ओडिआई स्ट्याटस, कहिले के भयो?

नेपालको ३० वर्षीय अन्तर्राष्ट्रिय क्रिकेट टाइमलाइन : पहिलो पटक ओडिआई स्ट्याटस, कहिले के भयो?

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : सन् १९८८ मा पहिलो पटक इन्टरनेशनल क्रिकेट काउन्सिल आइसीसीको एफिलियट नेशनको मान्यता पाएको नेपालले त्यसको ३० वर्षपछि पहिलो पटक वान डे इन्टरनेशनल ओडिआई नेशनको स्ट्याटस पाएको छ।

जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत प्लेअफ खेलमा पपुअ न्यू गिनीलाई पराजित गर्दै नेपालले ऐतिहासिल सफलता हात पारेको हो। अर्को प्लेअफमा नेदरल्याण्ड्सले हङकङलाई समेत हराएपछि नेपालले आगामी चार वर्षका लागि ओडिआई स्ट्याटस पक्का गरेको हो।

तीन दशकको अन्तर्राष्ट्रिय इतिहासमा नेपाली क्रिकेटले निक्कै आरोह अवरोह बेहोर्‍यो। सन् २००८ मा डिभिजन ५ बाट यात्रा थालनी गरेको नेपालले अन्तत: त्यसको दश वर्षपछि अहिलेसम्मकै ठूलो सफलताको रुपमा ओडिआई स्ट्याटस हात पार्‍यो।

जुनबेला नेपाली क्रिकेटको नियमनकारी निकाय क्यान नै आइसीसीको निलम्वनमा छ र क्रिकेट टिम  र खेलाडी अभिभावकविहीन जस्तै भएको छन् त्यसैबेला खेलाडी र म्यानेज्मेन्टको अथक मेहनत र परिश्रमका कारण नेपालले ठूलो फड्को मारेको छ।

नेपालका कप्तान पारस खड्काले धेरै वर्षको मेहनत र परिश्रमले नेपालले ओडिआई स्ट्याटस पाएकोमा सबैलाई बधाई दिएका छन्।
 

सन् २०१४ को टी-२० वर्ल्डकपमा छनोट हुँदै नेपालले टी-२० इन्टरनेशनल नेशनको स्ट्याटस समेत पाएको थियो। तर, अर्को क्वालिफायरमा खराब प्रदर्शन गरेपछि नेपालले २०१५ मा नै त्यो स्ट्याटस गुमायो।

१९८८ मा एफिलियट नेशनको स्ट्याटस पाएको नेपालले त्यसको दुई वर्षपछि सन् १९९० मा एसीसीको सदस्य भएको थियो। यस्तै १९९६ मा नेपालले आइसीसीको एसोसिएट नेशनको मान्यता पायो।

त्यही वर्ष नेपालले एसीसी ट्रफी खेल्दै अन्तर्राष्ट्रिय मैदानमा आफूलाई प्रस्तुत गरेको थियो।

३ पटक वान डे वर्ल्डकपको लागि क्वालिफायर खेलेको नेपालले एक पटक टी-२० वर्ल्डकप समेत खेल्यो।

यस्तै सन् २०१२ मा युएईसँगै संयुक्त रुपमा एसीसी ट्रफी च्याम्पिनय बनेको नेपालले डिभिजन ५ देखि डिभिजन १ सम्मको यात्रा तय गर्दै वर्ल्ड क्रिकेट लिग च्याम्पियनसमेत खेलिसकेको छ।

नेपालले डिभिजन ५ र डिभिजन ४ को एक-एक पटक उपाधि जित्दा दुई पटक डिभिजन ३ को च्याम्पियन बनेको थियो। यस्तै एकपटक डिभिजन २ को उपविजेता समेत बनेको नेपाल वर्ल्ड क्रिकेट लिगमा सातौं भएको थियो।

नेपाल क्रिकेट संघको निर्वाचन विधान अनुसार नभएको र सरकारी हस्तक्षेप भएको भन्दै आइसीसीले सन् २०१६ अप्रिलमा क्यानलाई निलम्बन गरेको थियो। अहिलेसम्म त्यो फुकुवा हुन सकेको छैन। तर, आइसीसीले नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्न भने छुट दिएको छ र यसै सन्दर्भका बीच नेपालले वान डे इन्टरनेशनल स्ट्याटस हात पारेको छ।

नेपाली सिनियर टोलीमा अहिले नयाँ पुस्ताको प्रतिनिधित्व गरिरहेका सन्दीप लामिछानेले ट्वीट गर्दै वर्षौँको कडा मेहनत र धैयर्ताको रिजल्ट पाएको र यसका लागि धैरै लेजेन्ड्सले परिश्रम गरेको लेखेका छन्।
 

 

नेपाली क्रिकेट टाइमलाइन:

विस २००३ : नेपाल क्रिकेट संघ (क्यान) को स्थापना

सन् १९८८ : आइसीसीको एफिलियट मान्यता प्राप्त

१९९० : एसीसीको मान्यता प्राप्त

१९९६ : आइसीसीको एसोसिएट मान्यता प्राप्त

१९९६ : बंगलादेश विरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल

२००० : एसीसी ट्रफी सेमिफाइनल

२००१ : वर्ल्डकप क्वालिफायर (पहिलो चरण)

२००२ : एसीसी ट्रफी (उपविजेता)

२००४/५ : इन्टरकन्टिनेन्टल कप (पहिलो चरण)

२००५ : एसीसी फास्ट ट्रयाक टुर्नामेन्ट (उपविजेता)

२००६ : एसीसी फास्ट ट्रयाक टुर्नामेन्ट (विजेता)

२००८ : डिभिजन-५ (तेस्रो स्थान)

२०१० : डिभिजन-५ (च्याम्पियन)

२०१० : डिभिजन-४ (तेस्रो स्थान)

२०१० : एसीसी ट्रफी (उपविजेता)

२०१२ : एसीसी ट्रफी (च्याम्पियन युएईसँग संयुक्त)

२०१२ : टी-२० वर्ल्डकप क्वालिफायर (सातौँ)

२०१३ : टी-२० वर्ल्डकप क्वालिफायर (तेस्रो स्थान)

२०१३ : टी-२० वर्ल्डकपका लागि छनोट

२०१३ : डिभिजन-४ (च्याम्पियन)

२०१३ : डिभिजन-३ (च्याम्पियन)

२०१४ : वर्ल्डकप क्वालिफायर (नवौँ स्थान)

२०१४ : एसीसी प्रिमियर लिग (तेस्रो स्थान)

२०१५ : डिभिजन-२ (चौथो स्थान)

२०१५ : टी-२० वर्ल्डकप क्वालिफायर (१४औँ स्थान)

२०१५-१७ : डब्लुसिएल (सातौँ स्थान)

२०१६ : लर्ड्समा एमसीसीसँग खेल

२०१८ : डिभिजन-२ (उपविजेता)

२०१८ : वर्ल्डकप क्वालिफायर

२०१८ : वान डे इन्टरनेशनल स्ट्याटस प्राप्त



ट्रेन्डिङ पोस्ट

Ncell