PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रधानमन्त्रीसँग कुराकानीदेखि भारतीय राजदूतसँग कानेखुशीसम्म : शपथ समारोहमा प्रधानन्यायाधीश पराजुलीका ६ दृश्य

प्रधानमन्त्रीसँग कुराकानीदेखि भारतीय राजदूतसँग कानेखुशीसम्म : शपथ समारोहमा प्रधानन्यायाधीश पराजुलीका ६ दृश्य

सविन मिश्र/पहिलोपोस्ट


काठमाडौँ : बुधबार अपराह्न पौने पाँच बजे शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा बहालवाला तथा नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन महाराजगञ्ज पुग्नुअघि नै प्रधान न्यायाधीश गोपाल पराजुली न्यायपरिषद् सचिवालयको सचिवस्तरीय निर्णयबाट पदमुक्त भएको खबर सार्वजनिक भइसकेको थियो। यस्तो रह्यो शपथका केही दृश्य

१) बधाईको जवाफ आएन

राष्ट्रपतिलाई सपथ गराइसकेपछि प्रधान न्यायाधीशले  भने, बधाई छ। त्यसको जवाफ राष्ट्रपतिले दिइनन्। उनले हाँसेर रातो कलमले शपथ पत्रमा हस्ताक्षर गरिन्।

२) उपराष्ट्रपतिको बुके, बाँकीको नमस्कार

राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेलले माइकबाट राष्ट्रपतिलाई बधाई दिन अनुरोध गरेपछि उपराष्ट्रपति नन्दबहादुर पुनले फूलको बुकेसहित बधाई दिए भने बाँकीले नमस्कार गरे। प्रधानन्यायाधीश पराजुलीले भने नमस्कार गरिरहे। उनीसँग कुरा गर्दागर्दै राष्ट्रपति भण्डारी प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महरा भएतर्फ फर्किइन्। उनीहरुसँग कुरा गरेपछि फेरि पराजुलीतर्फ नै फर्किइन्। त्यसपछि पराजुलीलाई नमस्कार गरिन् र पराजुली जलपान समारोहतर्फ अघि बढे।

३) एउटै टेबलमा विशिष्ट

जलपान समारोहमा प्रधानमन्त्री ओली, पत्नी राधिका, उपपराष्ट्रपति पुन, सभामुख महरा र प्रधानन्यायाधीश पराजुली एउटै टेबलमा बसे। टेबल शेयर गरिरहेका मध्ये ओली त्यहाँबाट उठेर अन्य उपस्थित व्यक्तिसँग गफ गर्न थाले। 

ओलीपछि महरा र पुन पनि टेबलमा उठे। त्यतिन्जेल पाँचै जनाले एक एक कप चिया खाइसकेका थिए। 

सबैले टेबल छाडेपछि राधिका र पराजुली टेबलमा बसिरहे। त्यसको एकछिनमा एमाले सांसदहरु आउन थालेपछि राधिका पनि उनीहरुसँग गफ गर्न थालिन् पराजुली एक्लै भए। 

४) भारतीय राजदूतसित कानेखुशी

राष्ट्रपति कार्यालयको दक्षिणतर्फको बगैँचाबाट पराजुली भएतर्फ भारतीय राजदूत मञ्जीवसिंह पुरी गए। पुरीले ढाडमा कोट्याएपछि बसिरहेका पराजुली उठे। दुईजनाबीच कानेखुशी भयो।  छोटो कुरा गरेर पुरी त्यहाँबाट हिँडे। 

भारतीय राजदूत हिँडेपछि पराजुली फेरि त्यही आशनमा बसे। त्यतिन्जेल उपराष्ट्रपति पुन र सभामुख महरा फर्किएर आइसकेका थिए। अर्को टेबलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी जलपान गर्दै थिए। 

५) प्रधानमन्त्रीसित प्रधानन्यायाधीशको कुराकानी

उनीहरुले खाइसकेपछि पराजुली उठेर गए र सबैसँग हात मिलाए। त्यहाँबाट पराजुली र रेग्मी निस्किए र प्रधानमन्त्री ओली नजिकै गए। करिब २ मिनेट तीनजना बीच उभिएर वार्ता भयो। 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले बगैँचाबाट नमस्कार गरेपछि ओली त्यहाँबाट अघि बढे। खिलराज बिदा भएर घर हिँडे। 

पराजुली एक्लै भए। पहिले चिया मात्रै खाएका पराजुलीले मिठाई लिएर पुरानै टेबलमा बसे। टेबल खाली भइसकेको थियो। 
पराजुलीले मिठाइ खाँदै गर्दा कांग्रेस नेता रामचन्द्र पौडेल र पूर्वसभामुख तारानाथ रानाभाट त्यहाँ पुगे। पौडेलले सामान्य शिष्टाचार मात्रै पुरा गरे, रानाभाट गफ गर्न थाले। 

६) पत्रकारलाई छलेर निस्किए पराजुली

राष्ट्रपति कार्यालयमा एमाले माओवादी नेताहरुसँग फोटो खिच्नेको भीड नै देखिन्थ्यो। बगैँचाबाट नेताहरु विस्तारै निस्किन थाले। त्यत्तिकैमा पराजुली फोनमा कुरा गर्दै बाहिरिए। 

अरु सबै नेता र पत्रकारहरु राष्ट्रपति कार्यालयको एउटा ढोका अगाडि उभिएका थिए। पराजुली भने अर्कै ढोकाबाट निस्किएर गाडी चढे। 
 


ट्रेन्डिङ पोस्ट

Ncell