PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

न्यायपरिषद्ले आज किन लेख्यो प्रधानन्यायाधीश पराजुलीको पद सकिसकेको पत्र?



न्यायपरिषद्ले आज किन लेख्यो प्रधानन्यायाधीश पराजुलीको पद सकिसकेको पत्र?

काठमाडौँ : परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले न्यायपरिषद्लाई २०७४/११/३० (आज) गते चलानी नम्वर ४२४/०७४/७५ को पत्र पठायो।

न्यायपरिषद् सचिवालयले प्रधान न्यायाधीश गोपाल पराजुलीको अवकाश भैसकेको जानकारी दिनका लागि बुधवार लेखिएको पत्रमा त्यो पत्र के विषयमा थियो भन्ने उल्लेख गरेको छैन। 

तर यो पत्र प्रधानन्यायाधीश गोपाल पराजुलीको एसएलसी परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्रमा भएको जन्ममितिसँग सम्बन्धित थियो। 

यो प्रमाणपत्रमा पराजुलीको जन्म मिति २०११/१/१३ उल्लेख छ। यो हेर्दा प्रधान न्यायाधीश पराजुलीको उमेर ६३ वर्षमात्र पुगेको देखिन्छ। तर यही पत्रको आधारमा न्यायपरिषद् सचिवालयले उनको पद साउन २१ मै सकिएको भन्दै पत्र कसरी लेख्यो त?

यस्तो छ कारण

पराजुलीले जिल्ला प्रशासन कार्यालय तनहुँबाट २०३०/०४/२१ गते नागरिकता लिएका थिए। नागरिकताको प्रमाणपत्रमा '२१ वर्ष पुगेको' उल्लेख छ। पुराना नागरिकताहरुमा यसैगरी जन्ममितिको साटो उमेर उल्लेख हुने गर्छ। तर नागरिकता लिँदाको मितिमा उल्लेख वर्षका आधारमा जन्ममिति यकिन गर्ने गरिन्छ। पराजुलीको नागरिकता लिँदा २१ वर्ष पुगेको भन्नुको अर्थ उनको जन्म २००९/४/२१ भन्दा अघि हो।

उनले शारदा माध्यामिक विद्यालयबाट प्राप्त गरेको टेस्ट परीक्षाको चारित्रिक प्रमाणपत्रमा भने उनको जन्म मिति २०१०/१/१६ छ। उनले पछि नागरिकताको प्रतिलिपि लिंदा २०१०/१/१६ नै जन्ममिति खोलिएको छ। कानुन अध्ययन संस्थानबाट प्राप्त गरिएका सबै प्रमाणपत्रमा पनि २०१०/१/१६ नै जन्म मिति उल्लेख छ। कर्मचारी सञ्चय कोषको परिचयपत्रमा पनि जन्ममिति २०१०/१/१३ उल्लेख छ।

न्यायपरिषद् ऐन, २०७३ को दफा ३१ को उपदफा ७ मा लेखिएको छ- उपदफा ६ बमोजिम छुट्टाछुट्टै प्रमाणपत्रमा उल्लेख भएको जन्म मितिको अन्तर एक वर्षभन्दा बढी देखिएमा वर्ष मात्र उल्लेख भएको प्रमाण पत्रको आधारमा उपदफा ३ बमोजिम जन्ममिति कायम गरिनेछ। 


यो प्रमाणपत्र नबुझाउँदा न्यायपरिषद् ऐन २०७३ को दफा ३१ को उपदफा ५ को न्यायाधीशले पेश गरेका कुनै प्रमाणपत्रमा वर्ष मात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्म मिति खुलेको भएमा र सो प्रमाण पत्रमा उल्लेखित जन्म मितिहरुको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा पूरा जन्ममिति खुलेकोलाई आधार लिइने उल्लेख छ। 

यही व्यवस्थाको सुविधालाई लिएर गोपाल पराजुलीले अहिलेसम्म २०१० वैशाख १६ गतेको जन्ममितिको आधारमा सेवा गर्दै आएका थिए। 

तर परीक्षा नियन्त्रण कार्यालयले आफूसँग भएको पराजुलीलेको एसएलसी उत्तीर्ण गरेको प्रमाणपत्रमा  जन्म मिति २०११/१/१३ उल्लेख भएको न्यायापरिषद्लाई पत्र पठाएपछि गोपाल पराजुलीका प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिको फरक एक वर्षभन्दा बढी भयो। यसरी उमेर एक वर्षभन्दा फरक भएपछि न्यायपरिषद्को अर्को धारा आकर्षित हुन पुग्छ। 

परीक्षा नियन्त्रण कार्यालयको पत्रअनुसार पराजुलीको जन्ममितिको हकमा न्यायपरिषद् ऐन, २०७३ को दफा ३१ को उपदफा ७ मा रहेको उपदफा ६ आकर्षित भयो। 

यो दफाबमोजिम छुट्टाछुट्टै प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिको अन्तर एक वर्षभन्दा बढी देखिएमा वर्ष मात्र उल्लेख भएको प्रमाणपत्रको आधारमा उपदफा ३ बमोजिम जन्ममिति कायम गरिनेछ भन्ने उल्लेख छ। 

यस आधारमा पराजुलीले सुरु नागरिकता लिएको र जन्ममितिमा वर्ष मात्र उल्लेख भएको प्रमाणपत्र आकर्षित भयो। यो प्रमाणपत्रअनुसार पराजुली गत साउनमै सेवा निवृत्त हुनुपर्ने हो। 

यो जानकारी न्यायपरिषद्ले आज प्राप्त गर्‍यो र त्यही जानकारीका आधारमा सेवा अवधि साउन २१ मै सकिएकोले प्रधानन्यायाधीश गोपाल पराजुली पदमा नरहेको जानकारी सचिवस्तरीय निर्णयबाट भएको भन्दै पत्र न्यायपरिषद् सचिवालयले पठायो। 

न्याय परिषद् संविधान बमोजिम न्यायाधीशको नियुक्ति, सरुवा, अनुशासन सम्बन्धी कारबाही, बर्खासी र न्याय प्रशासन सम्बन्धी अन्य विषयको सिफारिस गर्न वा परामर्श दिन गठित संस्था हो जसमा अध्यक्ष प्रधान न्यायाधीश स्वयं रहन्छन् भने  सदस्यहरूमा संघीय कानून तथा न्याय मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश एक जना, राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गरेको एक जना कानूनविद् सदस्य र नेपाल बार एसोसिएशनको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त कम्तीमा बीस वर्षको  अनुभव प्राप्त वरिष्ठ अधिवक्ता वा अधिवक्ता रहन्छन्। 

नेपालको संविधानको धारा १३१ को (ख) अनुसार प्रधान न्यायाधीशको उमेर ६५ वर्ष पूरा भएमा पद रिक्त हुने उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell