
काठमाडौं : आइसीसी वान डे वर्ल्ड कप क्वालिफायरमा नेपालले आइतवार घरेलु टोली जिम्बावेसँग पहिलो खेल खेल्दैछ।
नेपालले सिनियर क्रिकेटमा जिम्बावेसँग खेल्न लागेको यो पहिलो पटक हो। तर नेपालका कप्तान पारस खड्काले भने खेल हुनु एक दिन अघि क्वालिफायर खेल्न उत्साहित रहेको र प्रेसर ठूला टिमलाई हुने बताएका छन्।
'हामी यहाँ क्वालिफायर खेल्न पाउँदा उत्साहित छौँ। डिभिजन टू सबै टिमका लागि प्रतिस्पर्धात्मक प्रतियोगिता थियो तर हामी त्यसबाट अगाडी बढ्न सफल भयौँ।' खड्काले भने, 'प्रेसर सम्भवत ठुला टिमलाई हुन्छ। तर हामीलाई विश्वास छ की हामी अगाडी बढ्न सक्छौँ र त्यसका लागि हामीले एक पटकमा एउटा खेलको बारे मात्र सोच्छौँ।'
उता जिम्बाबेका पूर्व खेलाडी समेत रहेका जिम्बाबेका प्रशिक्षक हेथ स्ट्रीकले घरेलु मैदान र कन्डिसनमा खेल्दा आफूहरुलाई फाइदा पुग्ने बताएका छन्। 'मैले सन् २००३ मा यहाँ वर्ल्डकप खेलेको थिएँ। घरेलु समर्थकका माझ खेल्नु रमाइलो हुनेगर्छ।'
स्ट्रीकले त्यहाँको विकेट राम्रो र फ्ल्याट रहेको र बलिङ अट्याकलाई सुहाउँदो हुने बताएका छन्।
यद्यपी प्रशिक्षक स्ट्रीकले कुनै पनि टिमलाई कमजोर नमान्ने बताएका छन्। 'हामी कठिन समूहमा छौँ र कुनै टिमलाई कमजोर आँक्दैनौँ तर हामी अगाडी च्यालेन्ज गर्न तयार छौँ।'