काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधान मन्त्री बनेको दुई साता पुगेको छ। यसबीच नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीले प्रधान मन्त्री ओलीलाई तीन पटक भेट गरिसकेका छन्।
फागु पूर्णिमा (होली)को दिन राजधानी रंगिदै गर्दा राजदूत पुरी बिहीवार प्रधान मन्त्री ओलीसँग होली खेल्न प्रधान मन्त्रीको सरकारी निवास बालुवाटार पुगे। प्रधान मन्त्री निवास बालुवाटारमा राजदूत पुरी पत्नीसहित पुगेका थिए।
काठमाडौंस्थित भारतीय दूतावासले होलीको अवसरमा प्रधान मन्त्री निवास बालुवाटारमा प्रधान मन्त्रीसँगै राजदूत र मिसेस पुरी भन्दै ट्वीटरबाट फोटो सार्वजनिक गरेको छ।
प्रधान मन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले भेटमा होलीको शुभकामना आदान–प्रदान भएको बताए। ‘भेटमा होलीको शुभकामना आदान प्रदान भयो, होलीको अवसरमा भएको भेट थियो, अन्य राजनीतिक विषयबस्तुमा भने कुरा भएन,’ उनले पहिलोपोस्टसँग भने।Ambassador and Mrs. Puri greet Rt. Hon'ble Prime Minister Shri KP Sharma Oli at his residence on the festive occasion of Holi. pic.twitter.com/LC91sooSy9
— IndiaInNepal (@IndiaInNepal) March 1, 2018
प्रधान मन्त्री ओलीसँग पुरीका तीन रणनीतिक भेट
३ फागुनमा प्रधान मन्त्रीको सपथ लिएका ओलीलाई बधाई तथा शुभकामना दिन राजदूत पुरी सोही दिन मध्ये रात ओली निवास बालकोट पुगेका थिए। ओलीलाई भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले पठाएको बधाई सन्देश पुर्याउनका लागि ओली निवास पुगेका उनी दोस्रो पटक ११ फागुनमा प्रधान मन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका थिए। प्रधान मन्त्री ओलीको ६७ औँ जन्मदिनमा शुभकामना दिन ओली निवास पुगेका पुरीले भेटमा ओलीको कार्यकालमा सम्वृद्ध नेपाल बनोस् भन्दै शुभकामना दिए।
साथै उनले सो भेटमा नेपालमा ओली नेतृत्वको सरकारसँग भारत सरकार सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता समेत जनाएका थिए। उनले नेपालको विकासमा भारत सरकार सधैं सहकार्य गरेर अगाडि बढ्न चाहेको भारतीय प्रधान मन्त्री मोदीको सन्देशसमेत सुनाएका थिए।
गत मंसिरमा सम्पन्न प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनको जितेपछि काठमाडौंमा रहेका राजदूत पुरीको सक्रियता बढ्दै गएको देखिन्छ।
मंसिरको अन्तिममा राजदूत पुरीले एमाले अध्यक्ष ओलीसहित तत्कालीन प्रधान मन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरी पुसको पहिलो साता दिल्ली गएका थिए। उनी दिल्ली पुगेकै दिन भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले ओलीसहित तीनै नेतालाई टेलिफोन गरी बधाई तथा शुभकामना दिए।
यसबीच १३ माघमा पुरी भारतको गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा ओलीसँग एउटै मञ्चमा उभिएका थिए। सो कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी भएकी थिइन्।
यसबीच भारतीय राजदूत दुई पटक दिल्ली पुगेर फर्किएका छन्। उनको रिपोर्टिङ र ओलीसँग भएको दोस्रो टेलिफोन संवादपछि भारतीय प्रधान मन्त्री मोदीले आफ्नो विशेष दूतका रुपमा विदेश मन्त्री सुस्मा स्वराजलाई नेपाल भ्रमणमा पठाएका थिए।
स्वराजको नेपाल भ्रमण हुनुभन्दा अगाडि पनि पुरीले पटकपटक ओलीसँग गोप्य भेट गरेका थिए। ती भेटमा स्वराजको नेपाल भ्रमण र दुई देशबीचको सम्बन्धको बारेमा चर्चा भएको बताइन्छ। स्वराज १९ माघमा नेपाल आएकी थिइन्।
नेपाल सरकारको कुनै औपचारिक निम्तोविना नेपाल आएकी उनले नेपालमा राष्ट्रपतिसहित तत्कालीन प्रधान मन्त्री देउवा, हालका प्रधान मन्त्री ओली, पूर्व प्रधान मन्त्री प्रचण्डसहितका नेताहरुले भेट गरेर फर्किएकी थिइन्।
भारतीय राजदूत पुरीको यो सक्रियता र भारतीय कुटनीतिको बढ्दो उपस्थितिले नेपालमा भारतीय चासो बढेको प्रष्ट देखिन्छ।
यता प्रधान मन्त्री ओली निकट परराष्ट्र मामिलाका जानकार तथा नेपाल भारत प्रवुद्ध समूहका नेपाल तर्फका सदस्य डा. राजन भट्टराई यस्ताखाले भ्रमण र भेटले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुँदै जाने बताउँछन्।
‘दुई देशबीचको सम्बन्ध सुधार र प्रगाढ बनाउनका लागि यस्ता भेट आवश्यक छ,’ उनले भने, ‘यी भेटले दुई देशबीचको सम्बन्ध थप मजबुध बनाउँदै लैजान्छ।’
पहिलो पटक २०७२ सालमा प्रधानमन्त्री हुँदा ‘भारत विरोधी’ छवि बनाएका ओलीसँग पछिल्लो पटक भारतले सम्बन्ध सुधारका लागि प्रयास गरिरहेको छ। स्वयम् प्रधान मन्त्री ओलीले पनि भारतसँगको सम्बन्धलाई सुधार गरेर अगाडि बढ्ने बताउँदै आएका छन्।