PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कतिसम्म गर्न सक्छन् आइएनजिओ? रेडक्रसले उठायो ५० करोड डलर र बनायो जम्मा ६ घर



कतिसम्म गर्न सक्छन् आइएनजिओ? रेडक्रसले उठायो ५० करोड डलर र बनायो जम्मा ६ घर

  • जस्टिन इलियट/प्रोपब्लिका-
  • लौरा सुलेभान/एनपिआर-
सन् २०११ को अन्त्यतिर रेडक्रसले क्यारेबियन* मुलुक हाइटीका अत्यन्त गरिब इलाकाको पुनर्निर्माणका लागि मल्टिमिलियन डलरको योजना सार्वजनिक गर्‍यो। हाइटी सन् २०१० मा गएको ठूलो भूकम्पले ध्वस्त भएको थियो। ‘लामिका’ नाम दिइएको उक्त योजनाको नारा थियो, ‘मेरो छिमेकमा एउटा सुन्दर जीवन’, जसको उद्देश्य हाइटीमा सयौं स्थायी घरहरु निर्माण गर्नु थियो।

तर आजसम्म क्याम्पेचेमा एउटा पनि घर बनेनन्। त्यहाँका प्राय: मानिसहरु धातुले बेरेर बनाइएका छाप्राहरुमा बस्छन्। खानेपानी उपलब्ध छैन, बिजुली छैन, शौचालय छैन। जब पानी पर्छ अनि छाप्राहरु हिलो र पानीमा डुब्छन्।

भूकम्पले ध्वस्त बनाएको हाइटीको पुनर्निर्माणका लागि रेडक्रसको प्रोजेक्टका लागि सहयोगको खोलो बग्यो, झण्डै ५० करोड डलर (करिब ५० अर्ब नेपाली रुपैयाँ) जम्मा भयो।

प्रोजेक्टमा संलग्न समूहले सार्वजनिक रुपमै उत्सव गरे। तर यथार्थमा रेडक्रस हाइटीमा बारम्बार असफल भयो। गोप्य टिपोट, रेडक्रसकै केही असन्तुष्ट अधिकारीहरुका इमेल र चिन्तित र असन्तुष्ट केही भित्रियाहरुको जानकारी अनुसार रेडक्रसले गरेको वाचा सबै खेर गए, सहयोगको गलत प्रयोग भयो र सफलताको गलत दाबी गरियो।

रेडक्रसका अनुसार उसले हाइटीमा १ लाख ३० हजारभन्दा बढी स्थायी घर बनाएको थियो। तर वास्तविक तथ्यांक हेर्दा हाइटीमा रेडक्रसले बनाएको घरको संख्या मात्र ६ वटा छन्।

हाइटीको भूकम्प पछि संसारभरीका दातृ संस्थाहरुले हाइटीमा काम गर्न राम्रै संघर्ष गरे। प्रोपब्लिका र नेसनल पब्लिक रेडियोले गरेको विस्तृत अध्ययनले रेडक्रस भने आफ्नै कारणले असफल भएको देखाएको छ। रेडक्रसका अनेकन असफलता र अव्यवस्थाका बाबजुद पनि प्राकृतिक प्रकोपका बेला अमेरेकीहरुले सबैभन्दा बढी विश्वास गर्ने संस्था रेडक्रस नै हो।

रेडक्रसका केही वर्तमान र पूर्व कर्मचारीहरुका हनुसार हाइटीमा रेडक्रस असफल हुनुको कारण मध्ये एउटा कारण फ्रेन्च वा क्रिओल भाषा बोल्न नजान्ने विदेशीहरुमाथिको परनिर्भरता हो। हाइटीकै स्थानीय कर्मचारीभन्दा बढी विदेशीहरुलाई विश्वास गर्दा रेडक्रस असफल भएको देखिएको छ।

रेडक्रसले हाइटीका लागि जम्मा भएको लाखौं डलर कहाँ र कसरी खर्च भयो भनेर त्यसको डिटेल रिपोर्ट सार्वजनिक गर्नेछैन्। तर प्रोपब्लिकाले गरेको रिपोर्टिङका अनुसार रेडक्रसले दाबी गरेकोभन्दा धेरै कम सहयोग मात्र हाइटी पुगेको छ।

आफूले नै तयार गरेको प्रोजेक्टलाई सही दिशा दिन नसक्ने नेतृत्वका कारण पनि रेडक्रस हाइटीमा असफल भएको हो। अमेरिकन रेडक्रसले आफूसँग जम्मा भएको पैसा अनेकौं संस्थाहरु मार्फत् बाडेको छ। ती संस्थाहरुले पाएको पैसाको ठूलो रकम उनीहरुका कर्मचारी र प्रशासनिक खर्चमा सकिएको छ। अझ दुखद त के छ भने रेडक्रसले अन्य संस्थालाई दिएको पैसामा रेडक्रसको खर्च पनि जोडिएको छ। एउटा घटनामा त प्रोजेक्टलाई दिएको झण्डै एक तिहाई रकम रेडक्रसले नै खर्च गरेको छ।

रेडक्रसले जारी गरेको विज्ञप्ति अनुसार हाइटीमा भूकम्पपछि प्राय: सबै संस्थाहरुले हाइटीको भूमि सम्बन्धी दोहोरो व्यवस्थाका कारण चुनौतिहरुका सामना गरेका छन्। ‘सबै मानवीय संस्थाहरुजस्तै रेडक्रसले पनि सरकारसँगको अप्ठेरो सम्बन्धका कारण भएका ढिलासुस्ती, भूमि अधिकार सम्बन्धि विवाद, हाइटीको भन्सारको ढिलासुस्ती, छोटो समयमै ठूलो माग आपूर्ति गर्न सक्ने योग्य कर्मचारीको अभाव तथा भूकम्पपछि फैलिएको महामारीको चुनौति सामना गर्नुपर्‍यो,’ रेडक्रसले भनेको छ।

रेडक्रसले आफूले हाइटीमा सतप्रतिसतभन्दा बढी मेहनत गरेको दाबी गरेको छ। उसका अनुसार यो प्रोजेक्ट अन्तर्गत रेडक्रसले ४ हजारभन्दा बढी घरहरु मर्मत, हजारौं बासिन्दालाई अस्थायी बसोबास, भूकम्पपछि ४४ मिलियन डलर बराबरको खाद्यान्न तथा अस्पताल बनाउन सहयोग गरेको छ।

‘लाखौं हाइटीबासीहरु सुरक्षित, स्वस्थ, धेरै सहनशील र भविष्यमा हुनसक्ने प्राकृतिक प्रकोपको पूर्व तयारीमा राम्रा भएका छन्। अमेरिकन रेडक्रसका सहयोगीहरुलाई यसका लागि धन्यवाद,’ रेडक्रसका सिइओ म्याकगभर्नले भूकम्पको पाँचौं वर्षगाँठको रिपोर्टमा भनेका छन्।

अर्को एउटा रिपोर्टका अनुसार रेडक्रसले भूकम्पपछि झन्डै ४५ लाख हाइटीबासीलाई आफ्ना खुट्टामा उभिन सक्ने बनाउन रेडक्रसले सघाएको छ। तर उसले यसको पुरा तथ्याङ्क सार्वजनिक गरेको छैन। हाइटीका तत्कालिन प्रधानमन्त्री जँ म्याक्स बेलेरिभले यो तथ्याङ्कमा शंका गरेका छन्, किनकि त्यो बेला हाइटीको जनसंख्या १ करोड थियो।

‘होइन होइन,’ रेडक्रसको दाबीका बारे बेलेरिभले भने, ‘यो असम्भव हो।‘

हाइटीमा भूकम्प गएकोबेला रेडक्रस आफैं संकटमा थियो। चर्चित ९/११ आक्रमण र कटरिना आँधीका कारण रेडक्रस संकटमा बाँचिरहेको थियो। हाइटीको भूकम्प रेडक्रसका लागि पैसा संकलन गर्ने राम्रो अवसरका रुपमा आयो। रेडक्रसले यसका लागि केही सेलिब्रेटीको प्रयोग गर्‍यो अनि उसले सोचेभन्दा धेरै सहयोग संकलन हुँदा पनि सहयोग माग्ने काम रोकेन।

मागेभन्दा बढी सहयोग संकलन गरेपछि रेडक्रसका सिइओले यो सहयोग रकम हाइटीको दीर्घकालीन पुनर्निर्माणका लागि खर्च गर्ने घोषणा गरे। तर रेडक्रसले त्यो कहिल्यै पुरा गरेन।

रेडक्रसले आफ्नो प्रोजेक्टका लागि छानेको स्थानीय समुदायका नेता जँ जँ फ्लबर्टका अनुसार रेडक्रसले कुनै पनि वाचा पुरा गरेन। ‘रेडक्रसले हामीलाई क्याम्पेचेमा आउँदैछौं भन्यो र क्याम्पेचेलाई पुरै परिवर्तन गर्ने बतायो,’ उनले भने, ‘अहिलेसम्म मैले बुझेको छैन उनीहरुले कुन परिवर्तनको कुरा गरेका थिए। मलाई लाग्छ, रेडक्रस आफ्नै लागि काम गर्छ, स्थानीय मान्छेहरुका लागि हैन।‘

रेडक्रसको प्राथमिक योजनाले घर निर्माणमा ‘फोकस’ हुने भनेको थियो र आन्तरिक प्रस्तावमा ७ सय घर भनिएको थियो। यी हरेक घरमा शौचालय, वाथरुम मात्र हैन आकासे पानी संकलन गर्ने प्रविधिसम्म निर्माण गर्ने भन्ने थियो। घरहरु २०१३ को जनवरीसम्ममा निर्माण भइसक्नुपर्ने थियो।

तर त्यस्तो केही भएन। वासिङटनमा रहेका तत्कालिन प्रोजेक्ट मेनेजर कार्लिन नोयल्सका अनुसार यो प्रोजेक्टमा कहिले नसकिने गरी ढिलाई भयो र भने, ‘रेडक्रसले कहिल्यै थाहा पाएन- कसरी?’ भनेर।‘

क्याम्पेचे प्रोजेक्टका अर्का पूर्व कर्मचारीले भने, ‘सबै काम हुनुपर्नेभन्दा ४ गुणा ढिला भए किनकि यो वासिङ्टन डिसीबाट व्यवस्थापन हुन्थ्यो र उनीहरुसँग विकास कसरी गर्ने भन्ने अनुभव थिएन।‘ अचम्म लाग्दो कुरो त २४ मिलियन डलरको यो प्रोजेक्ट अर्को साल समाप्त हुँदैछ। अर्थात् रेडक्रसले यो प्रोजेक्ट छोड्दैछ। हाइटीमा रेडक्रसको पूर्वाधारको प्रोजेक्टको अवस्था पनि उस्तै छ।

२०११ को जनवरीमा रेडक्रसका म्याक गभर्नले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी (युएसएड)सँगको सहकार्यमा ३० मिलियन डलरको प्रोजेक्टको घोषणा गरे। युएसएडले रेडक्रसले घर बनाउने ठाउँमा कम्तीमा दुई ठाउँमा सडक र अन्य पुर्वाधार बनाउनु पर्ने थियो।
 
तर यो सम्झौतामा हस्ताक्षर गर्न मात्र झण्डै साढे दुई वर्ष लाग्यो, २०१३ को अगस्टसम्म। त्यो पनि एकपक्षीय सम्झौता भएको थियो तर अन्तत: भूमि विवादले यो प्रोजेक्ट पनि रद्द भयो। भूमि विवादमा अन्य समुहरु पनि नपरेका होइनन् तर उनीहरुले त्यसका बाबजुद ९ हजार घर बनाए जबकि रेडक्रसले जम्मा ६ वटा।
 
आखिर हाइटीमा रेडक्रस किन यसरी असफल भयो त? निश्चय पनि हाइटीमा काम गर्न अप्ठेरो भएर त होइन।
 
‘उनीहरुले झण्डै आधा बिलियन (५० करोड डलर) डलर संकलन गरे,’ हाइटी पुनर्निर्माणमा सहयोगीका रुपमा काम गरेका एक सदस्यले भने, ‘तर उनीहरुमा समस्या थियो र त्यो समस्या भनेको उनीहरुमा दक्षता थिएन।‘

रेडक्रसको दाबी छ संकलित रकमको ९१ प्रतिशत सहयोग हाइटीबासीको सहयोगमा खर्च भयो। तर यो सत्य होइन। प्रोपब्लिकाको रिपोर्टिङले त्यो दाबीलाई गलत सावित गरिदिएको छ। रेडक्रसले वासिङटन डिसीमा बसेर बनाएका योजनाहरु हाइटी पुग्नै नपाइ तुहिएका छन्। रेडक्रसले हाइटीबासीमा बाँडेका सपनाहरु पालैपालो तुहिँदै गएका छन्। 

-प्रोपब्लिकाबाट

(*हाइटी यसअघि अफ्रिकी मुलुक लेखिएकोमा सच्याइएको छ। हाइटी क्यारेबियन मुलुक हो, अफ्रिकी होइन)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell