PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मनोज पुन 'इन्काउन्टर': मान्न नसकिने तर मान्नै पर्ने 'मुठभेड'



पहिलोपोस्ट

मनोज पुन 'इन्काउन्टर': मान्न नसकिने तर मान्नै पर्ने 'मुठभेड'
देवदह –४ विजयपुरको घटनास्थल (इन्सेटमा मारिएका मनोज पुन)

  • लक्ष्मण न्यौपाने

बुटवल: बुधवार एकाबिहानै देवदह –४ विजयपुरको वल्लोपल्लो गाउँमा हल्लीखल्ली भयो,  गुण्डा मनोज पुन मारियो रे ! कसरी थाहा भयो? धेरैको उत्तर थियो बिहान छ बजेको समाचारले भनेर। तर न कसैले दोहोरो भिडन्त देख्यो, न मनोज मारिएको प्रत्यक्ष देख्न पाए। मात्र मनोज मारियो भन्ने हल्लाले देवदहको हरेक बस्तीमा गुन्जिने अवसर पायो।

यो सूचना बजाउने मिडिया र प्रकाशित गर्ने अनलाइनलाई पनि रूपन्देहीका एसपी श्याम ज्ञवालीले जारी गरेको सूचना मात्र थियो। उनीहरुका रिपोर्टर घटनास्थल पुगेका थिएनन्।

घटनास्थल विजयपुर मुख्य गाउँ सकिए लगत्तै एकान्त र खोल्साको छेवैमा जहाँबाट करिब ५०० मिटर पश्चिममा भवानीपुर चोक रहेको छ। जब म घटनास्थलमा पुगेको थिएँ, सडक छेउछाउको झाडी फाडेर घटनास्थललाई घेरा (मार्किङ) हालिएको थियो। बीच सडकमा रगत लत्पतिनुका साथै केही परसम्म बगेको थियो। त्यस्तै एउटा पेस्तोल र केही गोली पनि त्यही सडक मै थियो। दुई वटा मोटरसाइकल सडकको बीच भागमा पल्टिएको अवस्थामा थिए। प्रहरीको उपस्थिति बाक्लो थियो। पल्टिएका मोटरसाइकल मध्ये एउटा प्रहरीकै रहेछ।

बिस्तारै मान्छेहरुको उपस्थिति प्रहरीको भन्दा बाक्लिँदै गयो। प्रहरी आफ्नो मुचुल्का बनाउने काममा लागे र घटनास्थलमा नम्बरिङ गरे। अनि शुरु भयो नापजाँच। घटनास्थलमा देवदहका नगर प्रमुख उप–प्रमुख र अन्य जनप्रतिनिधिहरुको उपस्थिति मै सबै मुचुल्का तयार भयो।

तर त्यस घटनास्थलमा खटिएका सुरक्षाकर्मीले हाल घटनास्थलमा देखिएको वस्तुस्थिति बाहेक अन्य कुरा आफूहरुलाई जानकारी नरहेकोले मारिएको बारे त्यसै बताउन नसकिने जनाए।

मारिएको को थियो त भन्ने मेरो प्रश्नमा प्रहरी निरीक्षक भीमलाल भट्टराई भन्दै थिए, घाइतेलाई अस्पताल लगिएको हो। त्यो को थियो र अहिले कस्तो अवस्थामा छ मेरो जानकारीमा छैन। एसपी श्याम ज्ञवालीलाई कोट गर्दै मनोज पुन र उसको सहयोगी मारिको भन्ने खबर प्रसारण भैरहेको छ नि भनेर मैले फेरि प्रतिप्रश्न गर्दा उनले थपे, 'भनेको भए त्यही नै सही होला।' अन्य कुरा खुलाएनन्।

घटनास्थल नजिक घर भएका बासिन्दालाई सोधपूछ गर्दा करिब ३ देखि ४ को बीचमा  परररर पड्केको सुनेको हो, पछि के भएछ भनेर उठेर निस्कँदा पुलिसले त्यता नजानुस् भनेर जान दिएनन्, हामी पनि जान सक्ने कुरा भएन। पछि पो समाचारले मनोज पुन र उस्को सहयोगी मारिएको भन्यो भन्ने खालका भनाईहरु व्यक्त गरिरहेका थिए।

मनोज पुन मारिएको भन्ने कुराले धेरैलाई राहत मिलेको उपस्थित धेरैले बताइरहेका थिए तर उसलाई तयार गर्ने चाणक्यहरु उम्किएर अर्को मनोज तयार गर्छन कि भन्ने शंका अझै रहिरहेको पनि उपस्थितहरुकै मुखबाट सुनियो। त्यो किन पनि अभिव्यक्त भयो भने त्यस भेगमा मनोज पुन आतंकको प्रतिक बनेको थियो।


निश्कर्ष

अज्ञात समूहले प्रहरीलाई गोली प्रहार गर्दा प्रहरीले प्रयोग गरेको भनिएको मोटरसाइकलको हेडलाइटको दायाँ पट्टी सानो प्वाल परेको देखिन्छ। दोहोरो मुठभेड भनिए पनि सडकका बीचमा पल्टिएका दुबै मोटरसाइकलमा खासै टुटफुट भएको देखिँदैन।


घटनास्थलमा देखिएको मोटरसाइकल अनुसार मारिएका दुई जनाले प्रयोग गरेको एउटा कालो रङको लु १३ प ३३७६ नम्बरको पल्सर मोटरसाइकल र प्रहरीले प्रयोग गरेको बा २ ब ५८५४ नम्बरको टिभिएस अपाचे रहेको छ।


मोटरसाइकल चलाउनेले गोली प्रहार गर्न मिल्ने अवस्था देखिँदैन। यदि पछाडि बसेकोले पिछा गरिरहेको प्रहरीतर्फ फर्केर चलाएको गोली मोटरसाइकलको हेडलाइटमा लागेको र पिछा गरिरहेको प्रहरीको मोटरसाइकलमा पछाडि बसेकोले दुबै जनालाई ढाल्ने गरी गोली हानेको हो भने त्यसलाई सामान्य रूपमा सहज मान्न सकिन्न, केवल फिल्ममा बाहेक।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell