PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कसले खुवाउँछ सांसद्लाई शपथ? ज्येष्ठ सदस्यका भेटिए दुईथरी जन्ममिति



पहिलोपोस्ट

कसले खुवाउँछ सांसद्लाई शपथ? ज्येष्ठ सदस्यका भेटिए दुईथरी जन्ममिति

काठमाडौँः प्रतिनिधिसभा सदस्यको शपथको समय संघीय संसद् सचिवालयले तय गरिसकेको छ। यस्तै, निर्वाचन आयोगले पठाएको विवरण अनुसार सचिवालयले ज्येष्ठ सदस्यको पनि टुंगो लगाएको छ। सभामुख चयन नभएसम्मका लागि ज्येष्ठ सदस्यले नै संसदको काम कारबाही सञ्चालन गर्नेछन्।

प्रतिनिधिसभा सदस्यहरुलाई ज्येष्ठ सदस्य महिन्द्र राय यादवले शपथ गराउने छन्।

राष्ट्रियसभामा हरिचरण शिवाकोटी तथा तारादेवी भट्टमध्ये एकले शपथ गराउनेछन्। शिवाकोटी र भट्टको वर्षका आधारमा उमेर समान भएकाले नागरिकता अनुसार ज्येष्ठ सदस्यको यकिन संसद् सचिवालयले गरिरहेको छ।

तर, प्रतिनिधिसभा सदस्यलाई शपथ गराउने ज्येष्ठ सदस्य यादवका भने दुईथरी जन्ममिति रहेका विवरण संघीय संसद् सचिवालयमा भेटिएका छन्। हाल निर्वाचन आयोगले पठाएका विवरण अनुसार सचिवालयले उनको उमेर ८० वर्ष कायम गरेको छ। दोस्रो ज्येष्ठ सदस्यमा महन्थ ठाकुर ७५ वर्षका छन्।

संघीय संसद् सचिवालयले तयार पारेको सूची

तर, यसअघि संविधानसभा सदस्य रहँदा यादवले भरेको वैयक्तिक विवरणमा अर्कोथरी मिति फेला परेको छ। यसअघि उनले २०११ असार १५ गते आफ्नो जन्ममिति रहेको विवरण भरेका छन्।

दोस्रो संविधानसभामा यादवले भरेको विवरण
कसरी पर्‍यो फरक

सांसद् यादवका अनुसार उनको जन्म मिति वि.स. २०११ साल नै हो। नागरिकता लिने क्रममा उनको उमेर फरक परेको हो। २०११ सालको सट्टा आफ्नो नागरिकतामा वि.स. १९९४ उल्लेख भएको बताए। यसो गर्दा उनको उमेर ६३ वर्षमात्र हुन्छ।

यादवले भने ‘मैले नागरिकता लिँदा नै उमेर गल्ती भएको हो। सच्याउँन खोजेको पनि थिएँ। तर, प्रशासनिक कठिनाइका कारण मिलेन। अब ज्येष्ठता कामय गर्ने नगर्ने सम्बन्धित निकायको कुरा हो।’

संघीय संसद् सचिवालयका एक अधिकारीले आफूहरुलाई प्राप्त नागरिकतालाई नै आधार मान्ने बताए। सम्बन्धित सदस्यले नै फरक परेकाले अरुलाई ज्येष्ठता कायम गर्न भनेको अवस्थामा बाहेक प्राप्त विवरण अनुसार अघि बढ्ने उनको भनाई छ।

‘हामीले त कसको उमेर कति भनेर खोज्दै हिँड्ने अवस्था हुँदैन। प्राप्त तथ्यका आधारमा ज्येष्ठता मान्नेसम्म हो। अब उहाँको प्राविधिक कुरा केही भए उहाँले नै भन्नुपर्‍यो अन्यथा प्राप्त विवरण अनुसार अघि बढ्छौँ।’

 

शपथ फागुन २० मा

संघीय संसद् सचिवालयले सांसदको शपथको दिन र समय तय गरिसकेको छ। सचिवालयले प्रतिनिधिसभा सदस्यको फागुन २० गते अपराह्न ४ बजे र राष्ट्रियसभा सदस्यको सोही दिन साँझ ५ बजेका लागि शपथको समय तोकेको छ।

मातृभाषामा शपथ लिने चाहने प्रमाणित शपथको व्यहोरा तीन दिनअघि नै सचिवालयमा उपलव्ध गराउनु पर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell