PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दीपनाको पूरा नभएको 'प्रमिस'



दीपनाको पूरा नभएको 'प्रमिस'

  • स्वेच्छा राउत/पहिलोपोस्ट -
शनिबार साँझपख एउटा यस्तो खबर आयो, जसले टोखा नगरपालिका वडा नम्बर ५ की सदस्य कल्पना घिमिरेको घरका सबैको होसहवास हरायो। 

यो परिवारकी एक्ली छोरी २१ वर्षकी दीपना उप्रेती मार्दी हिमाल ट्रेकिङ रुटको बाटोमा बेपत्ता भएकी थिइन्। 

रात परिसकेकाले रेस्क्यु सम्भव थिएन। त्यसैले यो रात सबैभन्दा लामो रात बन्यो दीपनासँग जोडिएका र उनी हराएको थाहा पाउनेहरुका लागि। विशेषगरी ज्ञानीप्रसाद उप्रेति र कल्पना घिमिरेलाई, जसले आफ्नो छोरीको झुटो नबोल्ने बानी, आफ्नो लागि निर्णय लिन सक्ने क्षमता र आत्मविश्वासमा सधैं भरोसा गरे। एक साता अगाडि उनैले फोन गरेर सुनाएकी थिइन्, मार्दी हिमाल बेसक्याम्प जान लागेको खबर।

पूरा नभएको 'प्रमिस'

दीपना पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एमबिबिएस तेस्रो वर्ष पढ्दै थिइन्। अप्रिलमा हुने अन्तिम परिक्षाको तयारी सुरु गर्नुअघि 'फ्रेस' हुन कतै घुम्न जाने सल्लाह भयो। रोजाइमा पर्‍यो नयाँ खुलेको ट्रेकिङ रुट पछ्याउँदै मार्दी हिमाल बेसक्याम्प। उनीसहित ६ जनाको टोली बेसक्याम्पतर्फ लाग्यो। साथीहरुभन्दा छिटोछिटो हिँडेकी दीपना आधा घण्टा पहिले फोनले नेटवर्क टिप्ने डाँडामा पुगिन् र बाबा ज्ञानीप्रसादलाई फोन गरिन्। छोरीसँगको त्यो कुराकानी अन्तिम बन्छ भन्ने उनले सायदै सोचेका थिए। 

छोरी एक्लै अगाडि हिँडेको थाहा पाएपछि उनलाई ठीक लागेन र साथीहरुलाई नछोड्न भने। 'अब साथीहरुको टिम छोड्दिन बाबा, प्रमिस भनेकी थिई।' 

तर दीपनाले बाबासँगको त्यो वाचा पूरा गर्न सकिनन्। किनकी ४५ सय मिटर उचाइको बेसक्याम्पमा उनलाई लेक लाग्यो। टाउको धेरै दुख्न थालेपछि हाइ एल्टिच्युडको औषधी खाइन्। लेक लाग्दा कम उचाइ भएको ठाउँमा झर्नु नै उपचार हो। त्यही भएर उनी चाँडै ओरालो लाग्न थालिन्। जाँदा आउँदा साथीहरुको गाइड बनेकी दीपना एकाएक निकै नै अगाडि पुगिन्। कति अगाडि साथीहरुले नै भेउ पाएनन्। सबैले सोचे- सबेरै देउरालीको होटलमा पुगेर रेस्ट गरेको बेस। 

होटलमा पनि दीपना नभएको थाहा पाउँदा बल्ल उनी हराएको थाहा भयो। कलेज र परिवारमा खबर दिइयो।

घान्द्रुक, धम्पुस आदि ठाउँमा ट्रेकिङ गइसकेकी र स्पोर्टी र हक्की स्वभावकी भएकीले छोरी मार्दी बेसक्याम्प जानुलाई परिवारले सामान्य रुपमा लिएका थिए। 

भोलिपल्ट माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ को लो क्याम्पबाट देउराली जाने बाटोमा १५० मिटर तलको खोंचमा भेटिइन् उनी। तर धड्कन बाँकी थिएन। रेस्क्युमा गएकाको आँखा भिरमा अड्किएको एउटा जुत्तामा पर्‍यो। त्यहीं अल्झिनुले उनलाई खोंचमा पुर्‍याएको प्रष्ट भयो। जहाँबाट जीवितै निस्कन सम्भव भएन। 

आइतबार दीपनाको पार्थिव शरीरलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो। त्यही दिन आर्यघाटमा बाबाले छोरीलाई दागबत्ती दिए र अहिले घरमै परम्पराअनुसार किरिया बसिरहेका छन्।

***

सेतो पहिरन। टाउकोमा बाँधेको रुमाल पनि सेतै। नजिकै पकाइ खाने हिटर। कोठाकै अर्को कुनामा थिइन् आमा कल्पना। भेट्न आएका केही आफन्त। सबै चुप छन्, आँखामा हेरेर एकअर्कालाई सहानुभूति व्यक्त गर्छन्। कोठामा छाएको मौनता भङ्ग गर्दै ज्ञानीप्रसाद उप्रेती बोल्छन्- 'हामी निकै दु:खी छौं। केही पनि बोल्ने अवस्था नै छैन। प्रश्नहरुले दुखाउँछ।' 

श्रीमती कल्पना फेरि भक्कानिने डर छ उनलाई। किनकी सम्हालिन र सम्हाल्न सक्ने अवस्था छैन। घरमा उपस्थित कसैको पनि।
 'हिजो त आफैलाई सम्हालेको थिएँ। तर आज निकै गाह्रो भएको छ। बिर्सिन त सकिंदैन तर आफैलाई भुलाउन पनि निकै गाह्रो हुँदो रहेछ। हामीले भोग्न परेको यो अवस्था अरु कसैको जीवनमा नहोस्।' 

१२/१३ वर्षका भाइ त अकमक्क छन्। ठूलो बाबा ज्ञानीले आफूले किन सेतो लुगा लगाएको थाहा छ भनेर सोध्दा भाइ दीपना दिदी सुरुमा बेपत्ता भएको त्यसपछि घाइते भएको भन्छन्। घाइते हुँदा सेतो लुगा लगाउनु पर्छ त भनेर बाबाले सोध्दा ऊ केही जवाफ दिन सक्दैन र खुरुक्क कोठाबाहिर जान्छ।   

'त्यो खोंचमा पर्नेहरु कोही पनि भेटिएका छैनन् रे। धन्न हामीले छोरीको अन्तिम अवस्था हेर्न पायौं,' निकै सम्हालिएर सुनाउँछिन् आमा कल्पना।  

परिवारको 'प्रकाश'

टेनिस उप्रेती। दीपनाको न्वारनमा जुरेको नाम। चेप्टी- यो भने घरमा सबैले माया गरेर बोलाउने नाम। नजिकका कमैले उनलाई दीपना भनेर बोलाउँछन्। तर घरका भित्ता र दराजमा दीपना नै लेखिएका प्रमाणपत्रहरु झुण्डिएका छन्। बुढानिलकण्ठ स्कूलबाट पास आउट हुँदा टप फाइभमा पर्ने उनी पढाइमा त अब्बल थिइन् नै,  स्विमिङ च्याम्पियन पनि रहिन्। स्लाम पोयट्री, बास्केटबल पनि। 

'एक्स्ट्रा करिकुलरमा निकै एक्टिभ थिइ। हामीलाई त खुशी हुने धेरै ठाउँ दिएकी हो', प्राय जितेर आउने कुरा निकै गर्वका साथ सुनाउँछन् ज्ञानीप्रसाद। प्रतियोगितामा जित्ने प्रमाणपत्रहरुमा लेखिएको नाम दीपना चाहिं उनको मामाले राखिदिएका हुन्। आमा कल्पनाले नामको अर्थ खुलाइन्  'दीपना' भनेको 'प्रकाश' हो।' 

दीपनाको तस्विर मूलढोकाबाट भित्र छिर्ने बित्तिकै राखिएको छ। उनको हाँसी रहेको अनुहार अघि दियो र उनको हाँसोमा परेको दियोको प्रकाश। तस्विरमा आँखा परे पिच्छे भक्कानिन्छिन् हजुरआमा जीवन घिमिरे।
 
हरेक दिनको भिडियो च्याटले कहिल्यै दीपना घरबाट धेरै पर छिन् भन्ने भान हुन दिएको थिएन। तर पनि आमाको मन न हो, सन्तानसँगै हुन पाउनुको मौका किन गुमाउँथिन्? 'एक महिना उसँगै बसेर आएको। जनवरी पहिलो साता म पोखराबाट फर्किएँ र ऊ जनवरी १६ का दिन आइ। नियमितजस्तै भेट भएको थियो', यो भेटलाई भाग्यको संज्ञा दिन्छिन् उनी। भाग्यसँगै पच्छ्याइरहेको रहेछ दुर्भाग्यले जसले गर्दा गम्भिर चोट परेको छ यो आमाको मनलाई। 

यसै वर्ष मात्र त हो स्थानीय निर्वाचनमा उनी वडा सदस्य र टोखा नगरकार्यपालिकाको चुनाव जितेको। दीपना पनि खुशी थिइन् आमाले पाएको राजनीतिक जिम्मेवारीमा। 

'त्यो जिम्मेवारी निभाउन चुक्ने डरभन्दा फरक कुराले भीमकाय पीडा दिएको छ मलाई। सकिंदैन रहेछ स्वीकार्न...', आँखाबाट अनायास बगेका आँसुका थोपाहरुले वाक्य पूरा गर्न दिँदैन।

अधुरै रह्यो जन्मदिन मनाउने योजना

२०५३ साल चैत १० गते जन्मिएकी दीपना आफ्नो २१ ‍औं जन्मदिन परिवार र आफन्तसँग मनाउने उत्साहमा थिइन्। तेस्रो वर्षको परीक्षा सकेर आउने र पढाइको प्रेसरबिना भव्य बर्थडे सेलिब्रेसन बारे प्लान बनेको बताउँछिन् कल्पना। 

'कसलाई बोलाउने, कस्तो केक काट्ने र के-के पकाउनेसम्मको कुरा भएको थियो' यति भनिसक्दा उनी फेरि भक्कानिइन्, श्रीमान् ज्ञानीले सम्झाउन कोसिस गर्दै भन्छन्, 'नरोऊ न, उसको आयु नै २१ लेखिदिएको रहेछ।' 


पुनर्जन्म पाएकी थिइन्

कल्पना भने फेरि पुराना कुरा सम्झिन्छिन् - दीपना जन्मिएको ४५ दिनपछि जागिरमा फर्किएकी थिइन्‍उनी। नेपालको पहिलो निजी एयरलाइन्स नेकोन एयरलाइन्समा कार्यरत थिइन् जसको अस्तित्व अहिले छैन। 

'मेरी छोरीलाई जन्मनासाथ पनि बल्ल बल्ल बचाएका हौं। बाँचेपछि हुर्काउन धेरै गाह्रो भएन। किनकि जेठो दाजुको पहिलो सन्तान हुनुले ऊ सबैको लागि महत्व र मायाको चिज बनी', यति भनिसकेर दीपनालाई जन्मँदै रगतमा इन्फेक्सन रहेको सुनाइन्। 

एकपटक पुनर्जन्म पाएकी दीपनालाई दोस्रोपटक समयले साथ नदिएको रहेछ।

'रगत इन्फेक्सनकै कारण नबाँचेकी भए बरु आज यति धेरै यादसहितको पीडा न सहनु पर्दैन थियो होला' भन्दै फेरि सम्हालिन नसकिने गरी रुन थालेपछि छेउमै रहेकी उनकी आमा जीवन घिमिरेले सम्झाउँछिन्, 'त्यस्तो भन्नु हुँदैन। तिमीले ऊसँग बिताएका कति राम्रा समय छन् नि, ती सम्झिऊ। हामीलाई पनि त गाह्रो छ।' 

जीवनले पनि आफ्नो जीवनमा कम्ता पीडा सहनु परेको छैन। २०२९ सालमा झापामा पक्राउ परेर इलामबाट जेल सार्ने बहानामा सुखानीको जंगलमा गोली हानी मारिएका पाँच जनामध्ये उनका पति नेत्र घिमिरे पनि एक थिए। सुखानी हत्याकान्ड नामले कम्युनिस्ट आन्दोलनमा चर्चित यो घटनाको ४३ वर्षपछि २०७२ सालमा बल्ल उनीहरुलाई शहीद घोषणा गरिएको थियो।

*** 

अब यस्तो नहोस् !

आमा कल्पनाकी सानीआमाकी छोरी बङ्गलादेशबाट एमबिबिएस सक्काएर आउनु र दीपनाले ए लेभल सक्काउनु एकैपटक हुनुले दीपनालाई मणिपाल शिक्षण अस्पताल पोखरासम्म पर्‍याएको थियो। विदेश जाने हुटहुटीलाई केही सहज बाटो दिन ए लेभल पढिन्। तर सानीमाको छोरीले एमबिबिएस नै गर्न जोड दिएपछि दीपनाले नेपाल छोडिनन्। 'उसको पढाई अनुसार विदेश जानुभन्दा डाक्टर बन्नु राम्रो हुन्छ भनेर कन्भिस गर्‍यौं। उसको इच्छा पनि थियो। त्‍यसैले नाईं भनिन', कल्पनाले छोरीको डाक्टर बन्ने सपनाको कुरा सुनाइन्। 

उनका बुवा ज्ञानी पनि मेडिकल व्यवसायमा संलग्न छन्। उनी क्वेस्ट फर्मास्युटिकल्सका महाप्रबन्धक हुन्। उनले पनि छोरीले मेडिकल क्षेत्रमा भविष्य खोज्नुलाई सधैं प्रोत्साहित गरे।

तर अब दीपना रहिनन् र डाक्टर बन्ने सपना, पौडी, कविता बास्केटबल लगायतसँग जोडिएका रहर, फरक फरक ठाउँको यात्रा गर्ने चाहना सबै रोकियो। किनकि दीपनाको जिन्दगीको यात्रा नै देउराली लो क्याम्पको त्यो खोंचमा पुगेर टुङ्गियो।

कल्पना चाहन्छिन् यस्तो अन्त्य कसैको नहोस्। अप्ठेरा पर्यटकीय स्थलहरुमा गाइडबिना भ्रमण गर्न दिँदै नदिइयोस्। 'नेपालको भौगोलिक अवस्था कठिन। त्यसमाथि सुरक्षा प्रत्याभूति गर्न सकिने ठाउँ पनि छैन। यस्तोमा गाइड बिना जान नपाइने है भनिदिने कुनै निकाय भएको भए सायद आज हाम्री छोरीको दुर्घटना हुने थिएन।' 

 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell