PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

डिभिजन टू : क्यानडासँग महत्वपूर्ण खेल खेल्नुअघि के भन्छन् प्रशिक्षक टमाटा?



गोविन्दराज नेपाल

डिभिजन टू : क्यानडासँग महत्वपूर्ण खेल खेल्नुअघि के भन्छन् प्रशिक्षक टमाटा?
फोटो : रमन शिवाकोटी

काठमाडौं : नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गत राउण्ड रोविनको अन्तिम खेलमा नेपालले भोली बुधबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।

यस खेलको विजेता अर्को महिना जिम्वावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायरमा छनोट हुने भएकोले दुवै टोलीका यो खेल महत्वपूर्ण छ।

४ खेल खेलिसक्दा समान ३ जित र १ हारको नतिजा निकालेको नेपाल र क्यानडाको समान ६ अंक छ। रनरेटमा नेपालभन्दा क्यानडा अघि छ।

दुवै टोली आज रेस्टमा छन्। नेपालका प्रशिक्षक जगत टमाटाले क्यानडासँग खेल्न आफूहरु तयार रहेको पहिलोपोस्टलाई बताए। 'आज हाम्रो रेस्ट छ। खेलाडीहरु फिट रहनका लागि स्वीमिङ जाँदैछन्। हामी भोली राम्रो क्रिकेट खेल्दै क्यानडालाई जित्नेछौँ', टमाटाले नामिबियाबाट भने, 'क्यानडा कस्तो छ भन्दा पनि हामी आफ्नो क्रिकेट खेल्नेछौँ र राम्रो प्रदर्शन गर्नेछौँ।'

टमाटाले नेपालका युवा खेलाडीहरुको प्रशंसा समेत गरे। 'युवा खेलाडीहरुले आत्मविश्वास देखाइरहेका छन्। जुन नेपाली क्रिकेटका लागि राम्रो हो।'

सोमवार नेपालले केन्यालाई हराउँदा युवा खेलाडीहरु सन्दीप लामिछाने, आरिफ शेख र रोहित पौडेलले शानदार प्रदर्नन गरेका थिए। रोहितले केन्या विरुद्ध सर्वाधिक ४७ तथा आरिफले ४२ रन बनाएका थिए। सन्दीपले १० ओभरमा ५ मेडन राख्दै २० रन खर्चेर ५ विकेट लिएका थिए।

डिभिजन टू मा अहिलेसम्म सर्वाधिक १४ विकेट लिइसकेका सन्दीपको प्रशिक्षक टमाटाले खुलेर प्रशंसा गरे। 'सन्दीपको प्रदर्शन आउटस्ट्यान्डिङ छ। उनी ट्यालेन्टेट प्लेअर हुन् र उनको भविष्य राम्रो छ।'

सन्दीपले नामिबिया विरुद्ध पहिलो खेलमा ४ विकेट लिएका थिए भने ओमान विरुद्ध २ तथा युएई विरुद्ध ३ विकेट लिएका थिए।

नेपाल र क्यानडाबीच ५० ओभरको खेलमा यसअघि दुई पटक प्रतिस्पर्धा भएको छ। जसमध्ये दुवैले एक-एक खेल जितेका छन्। सन् २०१४ मा न्यूजिल्याण्डमा भएको वान डे वर्ल्ड कप क्वालिफायरमा क्यानडाले नेपाललाई हराएको थियो। २०१५ मा नामिबियामै भएको डिभिजन टू मा भने नेपालले क्यानडालाई पराजित गर्दै अघिल्लो हारको बदला लिएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell