PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अन्तर्राष्ट्रिय होटलको मेनुमा २३ थरी नेपाली खाना!



वसन्तराज उप्रेती

अन्तर्राष्ट्रिय होटलको मेनुमा २३ थरी नेपाली खाना!

काठमाडौं : खाना र पर्यटन एकआपसमा जोडिएका हुन्छन्। कुनै पनि देशको पर्यटन प्रवर्द्धनले त्यस देशको मौलिक खाना, रहनसहन र भेषभूषासँग पनि प्रत्यक्ष सरोकार राख्दछ। थाइल्याण्ड, भियतनाम, कम्बोडिया, इटाली, फ्रान्स तथा भारतमै पनि खानाका प्रख्यात परिकारहरुले पर्यटक तान्ने गरेको छ। 

नेपालमा पनि जातजातिको संस्कृति अनुसारका परिकारहरु छन्। तर, नेपालको रैथाने खानाको परिकार पर्यटनसँग प्रत्यक्ष जोड्न सकिएको छैन। नेपाली खाना भन्नासाथ दाल भात गुन्द्रुक वा मोमोलाई सम्झिइन्छ। 
 
नेपाली पर्यटन र नेपाली मौलिक परिकारलाई जोड्नकै लागि होटल एसोसिएन अफ नेपाल हानले अभियान थालेको छ। हानका महासचिव विनायक शाहले होटल ब्यवसायी कर्ण शाक्यको परिकल्पनामा नेपाली रैथाने खाना प्रवर्द्धनको काम थालिएको बताए।
 
सुरुमा मेचीदेखि महाकालीसम्मको नेपाली रैथाने खानाबारे खोज अध्ययन गरी हिमाल तराई र पहाडका ८० वटा परिकार संकलन गरेको महासचिव शाहले जानकारी दिए। 
 
गोविन्द नरसिङ केसी, श्रीराम अधिकारी लगायतका ७ जना वरिष्ठ सेफहरु यो अभियानमा खटिएको शाहले बताए। हाल होटलको मेनुमा समावेश गर्न २३ वटा परिकार छानिएको छ। पक्कु, थाली, चुकौनी, समयवजी, वँदेल तारेको, सेकुवा, छोयला, करेसावारी, खल्पी, सुकुटी, सेल रोटी, क्वाँटी, च्याउको रस, गुन्द्रुक झोल, तामा झोल, कोदो झोल, पिंडालु झोल, ग्वार्चा, भुटुवा, खिर, दहीच्युरा लगायतका विभिन्न मौलिक नेपाली खाना मेनुमा समावेश गर्ने तयारी भएको शाहले जानकारी दिए। 
सेफहरुका अनुसार मेन कोर्स, एपिटाइजर, डेजर्ट गरी विभिन्न भागमा बाँडिएको खानामा चाहिने मसला तथा सामाग्रीहरु जुनसुकै देशमा पनि उपलब्ध हुने भएकाले अन्तर्राष्ट्रिय होटलमा यी परिकार बनाउन सजिलो हुन्छ।
 
मोटोपना नबढोस्, अपच नहोस् भन्नाका लागि खानेकुरामा प्रयोग हुने सामाग्रीमा थोरै फरकपन ल्याएर फ्युजन समेत बनाएको उनले बताए।  
 
२३ वटा परिकारको रेसिपी तयार भैसकेको छ। हरेक परिकारको रेसिपी दुई मिनेटको क्लिप समेत हानले तयार पारेको छ। अन्तर्राष्ट्रिय होटल तथा रेष्टुरेन्टको लागि उक्त क्लिप छिटै  युट्युबमा राख्ने जानकारी पनि शाहले दिए।
 
नेपाली रैथाने खानाको परिकारसम्बन्धी रेसिपी एप र किताब पनि छिटै निकाल्ने योजनामा रहेको उनले बताए। 
 
हाल ८० देशमा रहेका गैरआवासीय नेपालीमध्ये ९० प्रतिशत नेपाली होटल व्यवसायमा आवद्ध छन्। रेष्टुरेन्टको नाम नेपाली भए पनि त्यहाँ नान, टिक्का, तन्दुरी लगायतका भारतीय परिकारको बाहुल्यता छ। हानले संसारको विभिन्न रेष्टुरेन्टको मेनुमा मौलिक खानाहरु राख्ने कन्सेप्ट तयार पारेको हो। 
 
होटल तथा रेष्टुरेन्ट व्यवसायमा लागेका गैर आवासीय नेपालीले परिकारको नाम भने परिवर्तन गर्न नपाइने सर्तमा निःशुल्क यी खानेकुरा मेनुमा राख्न सक्ने प्रावधान समेत हानले तयार पारेको छ। 

‘हामीले अहिले तयार पारेको नेपाली रैथाने खाना स्वदेशी तथा विदेशी राजदूत, निजामती कर्मचारी लगायतका व्यक्तिलाई एक महिनाभित्रमा चखाउने र उनीहरुबाट खानाको स्वादबारे प्रतिक्रिया लिनेछौँ,’ उनले भने।   
 
संसारभरका मानिसले नेपाल र नेपाली रैथाने खानाको बारेमा जान्न सक्ने बनाउनु नै अभियानको उद्देश्य भएको उनले प्रष्ट पारे। 
 
नेपाल टुरिजम बोर्डको 'एक्सपेरियन्स नेपाल' क्याम्पेन अन्तर्गत यसअघि नै अस्ट्रेलिया, अमेरिका लगायतका विभिन्न देशमा रैथाने नेपाली खानाको प्रदर्शन अभियान थालिसकेको छ। 'एक्सपेरियन्स नेपाल' क्याम्पेन अन्तर्गत दीपेश शाक्यको नेतृत्वमा देशबाहिर नेपाली रैथाने परिकारको प्रवर्द्धन भैरहेको छ।
 
अबको तीन महीनामा नेपाली रैथाने खानाको सकारात्मक प्रतिकृया आउने शाहको  अपेक्षा छ। हाल नेपाली रेष्टुरेन्टले पनि नेपाली रैथाने परिकारलाई मेनुमा राखिसकेको उनले बताए। 
 
यी परिकारमा पोषण तत्व तथा क्यालोरीलाई पनि प्राथमिकता दिइएको छ। 
 
मेनुमा समावेश परिकारहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई परीक्षणका लागि समेत पठाएको उनले जानकारी दिए। विभागले खाना खान योग्य प्रमाणित गरेपछि संसारभर प्रवर्द्धन गर्ने योजना अनुसार हानले काम गरिरहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell