PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रोमो हेर्दाको मज्जालाई किरकिर बनाइदिने ‘कृ’ (फिल्म समीक्षा)



गोविन्दराज नेपाल

प्रोमो हेर्दाको मज्जालाई किरकिर बनाइदिने ‘कृ’ (फिल्म समीक्षा)

यो वर्षको सर्वाधिक प्रतिक्षित फिल्मको रुपमा चर्चामा ल्याइएको ‘कृ’ को पोस्टर र प्रोमो हेर्दा तपाईँलाई लाग्न सक्छ- अनमोल केसी कतै बलिउडको ‘क्रिश’ फिल्ममा जस्तो एक ‘सुपर हिरो’को भूमिकामा त छैनन्।

फिल्म हेरेपछि थाहा हुन्छ, अनमोल ‘सुपर हिरो’ त हुन् तर प्रेमिकालाई समेत बचाउन नसके पनि सिक्सप्याक बडी देखाएर भिलेनलाई साउथ इन्डियन फिल्म स्टाइलमा डङ कि डङ कुटेर मार्ने।  

फिल्मको प्रोमो गजबको बनेको थियो। त्यसो त प्रोमोको ‘मेरा दुश्मनहरुले सोचेका होलान्, म कहिल्यै फर्केर आउने छैन’ डायलग बलिउड कै ‘डन २’ मा शाहरुख खानको डायलगसित मिलेको भन्दै सोसल मिडियामा आलोचना भएकै थियो। तर त्यो डायलग न फिल्ममा छ, न फिल्मको कथासित त्यसले कुनै गोरु बेचेको साइनो नै राख्छ। फिल्ममा उनको बाल्यकालमा हराएकी एक प्रेमिकामात्र छिन्, कुनै दुश्मन नै छैनन्। बरु उनले चाहिँ अरुलाई दुश्मन मान्दै खोजिरहेका हुन्छन्।  

युवापुस्तामा क्रेज भएका अनमोलमात्रै यो फिल्मको बलियो पक्ष हो, बाँकी सब बेकार। पूरै फिल्मको मेहनत उनलाई एक्सन र चकलेटी दुवै हिरोका रुपमा स्थापित गराउन खर्च हुन्छ तर बलियो कथा र पटकथाको अभावमा दुवै प्रयास असफलता उन्मुख छ। यसअघिका चार फिल्महरु होस्टेल, जेरी, ड्रिम्स र गाजलुमा अनमोल चकलेटी हिरोको भूमिकामा थिए। यसमा निर्देशकलाई अनमोलको त्यही चकलेटीपना पनि देखाउनु छ, साथमा सिक्स प्याक बडीसहितको एक्सन रुप पनि। दुई डुङ्गामा खुट्टा राख्न खोज्दा नराम्रोसित डुबेको छ फिल्म।

फिल्ममा उनलाई यति महत्त्व दिइएको छ कि हिरोइनलाई राम्री देखाउन कञ्ज्युस्याइँ गरिएको छ। अनमोल छायाँमा पर्ने डरले डेब्यु गरिरहेकी अदितीलाई जानाजान मेकअप बिना उतारिएको त हैन भन्ने भान हुन्छ। स्कटल्यान्ड सुट गरिएका सिनबाहेक  अदितीको अनुहारलाई किन चाउरी परेको र अनाकर्षक देखाउन खोजिएको हो, पत्तै हुन्न। जब हिरोलाई देखाइन्छ, तब भने फिल्मको पर्दामा देखिन्छ चिल्लो अनुहार।

एक्सन र लभब्वाई रुपलाई सँगसँगै लान खोज्दा गरिएका ‘जम्पकट’ सिन्क्रोनाइज हुन सकेको छैन जसले दर्शकलाई अलमल पारिदिन्छ। सुरुदेखि यसरी ट्रयाक बाहिर गएको फिल्म बेलाबेलामा लिकमा आउन त खोज्छ, तर काटेर फ्याँके पनि केही फरक नपर्ने वाहियात दृश्य भरमार छन्।

दुई वर्षअघि फिल्म बनाउने घोषणा हुँदा फिल्मको नाम ‘केशर’ भनिएको थियो। ‘केशर’ फिल्मकी हिरोइनको नाम हो। तर पछि नाम परिवर्तन गरी ‘कृ’ बनाइयो। किन ‘कृ’? फिल्ममा पुलिस पात्र बोल्छ- ‘कृ’को अर्थ बदला अर्थात् रिभेन्ज हो। स्लोभाक भाषामा ‘कृ’को अर्थ रगत हुन्छ। संसारको कुन भाषामा ‘कृ’को अर्थ बदला हुन्छ – लजिक आवश्यक छैन। नाममै लजिक आवश्यक नभएपछि सिनहरुमा पनि आवश्यक हुने कुरै भएन। त्यसैले सिंहदरबार अगाडिको जेब्राक्रसमा हिरो र हिरोइनले बाटो काट्दाकाट्दै हिरोइन गायब हुनपुग्छे। चार करोडको माल गायब भयो भनेर भिलेन (अनुपविक्रम शाही) रिसाएको रिसायै हुन्छ, तर कसले र कसरी त्यो माल गायब पार्‍यो, पर्दामा द इन्ड आइसक्दा पनि खुल्दैन।

चेलिबेटी बेच्नेदेखि ड्रग्ससम्मको कारोबार गर्ने खुँखार भिलेनलाई साथ दिँदै आएको प्रहरी अधिकृत (कामेश्वरप्रसाद चौरसिया) को मन हिरोलाई भिलेनले फ्लासब्याक सुनाउँदै गर्दा अचानक किन बदलिन्छ? एकछिन अघिसम्म हिरोलाई ताकिरहेको उसको बन्दूक भिलेनतिर किन सोझिन्छ? यो विषयमा दर्शकले लजिक खोज्दै गर्दा ऊ पुक्लुक्कै ढलिसकेको हुन्छ। त्यत्रो दुःख गरी इस्ट्याब्लिस गरिएको क्यारेक्टरलाई ख्यालख्यालमै अन्त्य गरिन्छ।

लाहुरे हिरोसित बिहे गर्न इच्छुक केटीहरु आमाको अगाडि नै लाम लागेर ‘मलाई छान न, मलाई’ भन्न आउने, मैनबत्ती बालेकै फ्रेममा बिजुली बत्ती बलिरहेको देखिने; टि टेबलमा माछासहितको एक्वेरियम राख्ने; बाल्यकालको प्रेमी भनेर चिनेपछि तुरुन्त हतारिएर नकुदी ‘भोक लाग्यो..’ पारामा ‘मामु’, ‘मामु’ भन्दै बोलाउँदै बस्ने; जिन्स प्यान्ट र टप लगाएर हिरो भेट्न कुदेकी हिरोइन घरबाहिर निस्कने बित्तिकै कुर्थासलवारमा देखिने जस्ता किरकिर पार्ने सिल्ली दृश्य त ‘कृ’मा कति हो कति।

बाल्यकालको माया छुट्टिनु अनि युवाअवस्थामा भेटिनु, हिरोले भिलेनलाई खोज्नु, भेट्टाउनु अनि ठोक्नु- सयौँ हजारौँ पटक दोहोरिसकेको विषय हो। यस्तै विषयमा अनमोल केसीलाई फरक लुक्समा उभ्याएपछि र नङ्ग्याएर सिक्सप्याक बडी देखाएपछि नभएको सस्पेन्स जबर्जस्ती जन्मिने, नभएको थ्रिलर आफै उत्पन्न हुने, कथा-पटकथा सबै ‘अटोकरेक्ट’ हुनेमा ढुक्क जस्तो देखिन्छ फिल्मको टिम। तर वास्तवमा अनमोलका अहिलेसम्मका चार फिल्ममध्ये सबैभन्दा कमजोर साबित छ कृ।  सबै पक्षमा यति कमजोर फिल्मलाई अनमोलको स्टार भ्यालुले कस्तो हिसाबले ‘कन्भर्ट’ गर्छ, त्यो भने हेर्न बाँकी छ। यद्यपि राम्रो मेकिङ हुनसक्यो भने दमदार एक्सन भूमिकामा पनि आफू जम्न सक्ने लक्षण भने अनमोलले देखाएकै छन्। धम्पुसमा सुटिङ गरिएका केही दृश्यको फ्रेम स्कटल्यान्डमा सुटिङ गरिएका दृश्यभन्दा दमदार देखिन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell