PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

डिभिजन टू : नेपालको लागि एक मात्र छक्का प्रहार गरेका बसन्त रेग्मीले अन्तिम ओभरमा खेल जिताए



पहिलोपोस्ट

डिभिजन टू : नेपालको लागि एक मात्र छक्का प्रहार गरेका बसन्त रेग्मीले अन्तिम ओभरमा खेल जिताए

काठमाडौं : भेट्रान स्पिनर बसन्त रेग्मीले सम्हालियर खेल्दै नटआउट २४ रन बनाएपछि नेपालले आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को पहिलो खेलमा नामिबियामाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको छ।

१३९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले नियमित अन्तरमा विकेट गुमाउँदा 'क्राइसिस म्यान'को उपनामले चिनिने बसन्तले नेपाललाई जित दिलाएका हुन्।

उनले दोस्रो अन्तिम ओभरमा छक्का प्रहार गर्दै अन्तिम ओभरमा जितका लागि ७ रन आवश्यक बनाएका थिए। अन्तिम ओभरको पहिलो बलमा २ रन लिएका बसन्तले दोस्रो बलमा चौका प्रहार गर्दै जित सम्भव बनाएका थिए। तेस्रो बलमा लेग बाईको रुपमा १ रन पाएपछि नेपाले ४ बल अगावै ९ विकेट गुमाएर खेल जितेको हो।

बसन्तले २४ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे। जुन नेपालि इनिङ्सको एक मात्र छक्का हो।

नेपालको लागि शरद भेषावकरले सर्वाधिक २९ रन बनाए भने पारस खड्काले १९ रोहित पौडेलले १७ ज्ञानेन्द्र मल्लले १५ रन बनाए। ओपनर दीलिप नाथ र आरिफ शेखले खाता खोल्न सकेनन्।

नामिबियाका लागि बर्नार्ड स्कोल्ट्जले सर्वाधिक ४ तथा क्रेइग विलियम्सले ३ विकेट लिए।

त्यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले घरेलु टोलि नामिबियालाई १३८ रनमै अलआउट गरेको हो। नेपालका लागि सन्दीप लामिछानेले ४ तथा सोमपाल कामीले ३ विकेट लिए।

नेपालका लागि सबैभन्दा किफायती बलिङ गरेका सन्दीपले ८.२ ओभरमा २ मेडन राख्दै १८ रन मात्र खर्चेर ४ विकेट झारेका हुन्। ७ ओभर बलिङ गरेका सोमपालले १ मेडन राख्दै ३५ रन खर्चे।

सोमपालले दुवै ओपनरलाई आउट गर्दै नेपाललाई गतिलो सुरुवात दिएका थिए। यस्तै बसन्त रेग्मी, कप्तान पारस खड्का र शरद भेषावकरले १-१ विकेट लिए।

नामिबियाका लागि क्रेइग विलियम्सले सर्वाधिक ४१ रन बनाए भने जेन ग्रीन र जेनए फ्राइलिन्कले समान २२ रन जोडे।

४ विकेट लिएका नेपालका सन्दीप लामिछाने प्लेअर अफ दि म्याच घोषित भए।

नेपालले अब दोस्रो खेल शुक्रवार ओमानसँग खेल्नेछ। बिहीवारै भएको खेलमा क्यानडाले ओमानलाई तथा युएईले केन्यालाई पराजित गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell