PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

वामदेव गौतमको भविष्यवाणीः एमाले - माओवादी एकता नभए ठूलो दुर्घटना हुन्छ



पासाङ ठकुल्ला

वामदेव गौतमको भविष्यवाणीः एमाले - माओवादी एकता नभए ठूलो दुर्घटना हुन्छ

काडमाडौंः नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले नेपालको कम्युनिष्ट आन्दोलनले एमाले–माओवादीको काँधमा अन्तराष्ट्रिय जिम्मेवारी सुम्पेको बताएका छन्। 

प्रेस चौतारीको २० औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले–माओवादी एकतालाई सशक्त कम्युनिष्ट आन्दोलन भएको बताएका हुन्। 

चिन, भियतनाम, क्युबा, लाओस र कोरियालाई छोडेर यो संसारभरीमा सबैभन्दा सशक्त आन्दोलन हो,’ नेता गौतमले भने, ‘ल्याटिन अमेरिका, अफ्रिका, एसिया र युरोपका कम्युनिष्टहरुले यसलाई हेरिरहेका छन।’

नेपालको कम्युनिष्ट आन्दोलन फरक तरिकाले अघि बढिरहेको उल्लेख गर्दै उनले भने, ‘मार्क्स, लेनिन, माओत्सेतुङ, पुष्पलाल र मदन भण्डारीले सोचेभन्दा फरक तरिकाले अघि गइरहेका छौँ।’

विश्वका कम्युनिष्टहरुले पुँजीवादीहरु विरुद्ध क्रान्ति गरेर परास्त गरेका छन्। तर नेपालको कम्युनिष्ट आन्दोलनले शान्तिपूर्ण रुपमा निर्वाचनबाट नयाँ समाजवाद निर्माण गर्ने बाटोमा गएको छ। गौतमका अनुसार लेनिन र मार्क्सले भने जस्तै नेपालमा समाजवाद निर्माण गरिने छ। समाजवाद निर्माणको बाटो भने फरक तरिकाको छ। त्यसैले नेपालका कम्युनिष्टलाई होच्याउन नहुने उनले बताए। 

लेनिन, मार्क्सले भनेको जस्तो समाजवाद ल्याउने बाटो यही हो। उनले भने, ‘वैज्ञानिक समाजवाद निर्माण गर्नेमा नेपाल पहिलो हुनेछ। यसमा नेपालीहरुले गौरब गर्ने छन।’ 

यदि एमाले–माओवादी एकता हुन नसके नेपालको कम्युनिष्ट आन्दोलन ठुलो दुर्घटनामा पर्ने गौतमले भविष्यवाणी गरे। उनले भने, ‘पार्टी एकता नभए नेपालका कम्युनिष्टहरु ठुलो दुर्घटनामा पर्ने छन्। दुर्घटनामा परेपछि उठ्न सकिन्छ सकिन्न भन्ने अवस्थामा छैन।’

पार्टी एकताको सबै भन्दा ठुलो जिम्मेवारी एमालेको भएको उल्लेख गर्दै उनले समनता र सम्मानजनक तरिकाले एकता हुने बताए। ‘हामी विलय हुने हो। विचार काममा हामी एकै दिशामा छौ। पार्टी एकतामा केहि समस्या छन्। केही विषयमा टुङगो नलागे भविष्यको लागि छोड्न सकिन्छ,’ गौतमले भने।

उनले पार्टी एकतामा रहेका समस्या भने उल्लेख गरेनन्। तर पार्टी एकता हुने भन्दै उनले भने, ‘हात्ती छिरेको प्वालमा पुच्छर अड्किने सवाल हुँदैन।’ 

स्वराजको नेपाल भ्रमण बारे के भने? 


नेता गौतमले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण अब बन्ने सरकारसँग भारत सरकारको सुमुधुर सम्बन्ध बनाउनको लागि भएको बताए। 

स्वराजको नेपाल भ्रमणबारे आएका टिकाटिप्पणी स्वभाविक भएको भन्दै उनले भने, ‘स्वराजलाई कस्ले बोलाया? किन आउनु भयो? भन्ने बहस भएको छ। बहस हुन्छ नै।’ 

दुई देशका सरकारबीचको सम्बन्धलाई मित्रतापूर्ण सम्बन्ध बनाउन स्वराजले नेपाल भ्रमण गरेको गौतमको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell