PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

दरबारमार्ग बलात्कार प्रकरण : डिएसपी भारती परिसर तानिए, ठकुरी थुनामा



पहिलोपोस्ट

दरबारमार्ग बलात्कार प्रकरण : डिएसपी भारती परिसर तानिए, ठकुरी थुनामा

काठमाडौं : बलात्कार जस्तो जघन्य अपराधको घटनालाई आर्थिक लेनदेनमा मिलाएको आरोपमा महानगरीय प्रहरी बृत्त दरबारमार्गका डिएसपी महानगरीय प्रहरी परिसर काठमाडौं तानिएका छन्।

बृत्तका प्रमुख डिएसपी तिलक भारतीलाई तानिएको परिसरका प्रमुख एसएसपी रविन्द्र धानुकले बताए। उनले भने, 'अनुसन्धानको क्रममा परिसरमा तानेका हौं।'

कारबाहीमा पर्नेमा भारतीसँगै इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरी समेत छन्। निरीक्षक लक्ष्मणसिंह ठकुरीलाई प्रहरी प्रधान कार्यालयको १ नम्बर गणको थुनामा राखिएको छ। आर्थिक प्रलोभनमा पीडित युवतीको उजुरी नै नलिइ घटना मिलाएको आरोप उनीहरुमाथि छ।

गत बिहीवार काठमाडौंको होटेल ल्याण्डमार्कमा एक युवतीलाई तीन जना युवाले सामुहिक बलात्कार गरेपछि युवती उजुरी दिन दरवारमार्ग बृत्त पुगेकी थिइन्। तर, बृत्तले उजुरी दर्ता नै नगरी घटना आर्थिक लेनदेनमा मिलाएको थियो।

घटनापछि महानगरीय प्रहरी परिसर काठमाडौंले एसपी रामदत्त जोशीको संयोजकत्वमा तीन सदस्य समिति बनाएर छानविन सुरु गरेको छ।

यस्तो छ घटना

फेसबुकमा चिनजान र केही समयको कुराकानीपछि युवकको प्रस्तावमा ती युवती बिहीवार होटेल पुगेकी थिइन्। होटलमा युवकले पहिले नै तीनवटा रुम बुकिङ गरेको र साथी समेत बोलाएर राखेको पीडित युवतीको बयान छ।

बिहीवार उनीहरुले बलात्कार गरेपछि युवती उजुरी दिन दरवारमार्ग पुगेकी थिइन्।

तर, प्रहरीको सहयोगमा युवतीलाई २० लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति दिने सहमतिमा उजुरी दर्ता नगरी घटना मिलाइएको थियो। प्रहरीले उजुरी दिने युवती फरार भएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell