PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

केपी ओली मधेशी नेता देख्नासाथ भाग्नुहुन्छ : महेन्द्र यादव



बीपी साह

केपी ओली मधेशी नेता देख्नासाथ भाग्नुहुन्छ : महेन्द्र यादव

वाम गठबन्धनको एकता प्रक्रिया र सरकार निर्माणका विषयलाई मधेशी गठबन्धनले नियालिरहेको छ। संविधान संशोधनको विषयलाई मधेशी गठबन्धनले अहिले पनि मुख्य एजेण्डा बनाइरहेको छ। वाम गठबन्धनसँग यसै विषयमा छलफल भए पनि अन्तिम समयमा सहकार्य हुन सकेन। सरकार निर्माण तथा संविधान संशोधनका विषयमा मधेशी गठबन्धनको एक घटक राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवसँग बीपी साहले गरेको कुराकानी :


राष्ट्रिय राजनीतिमा अहिले दुई धार देखिएको छ। वाम गठबन्धन र कांग्रेसको गठबन्धन। अब मधेशी गठबन्धनलाई माग पूरा गराउन कुन गठबन्धन उपयुक्त होला?

कांग्रेसको कुनै धार नै छैन। कुनै डेमोक्रेट गठबन्धन पनि छैन। वाम गठबन्धन छ। त्यो सरकारमा जानका लागि बनाइएको हो। एमाले–माओवादीको एकता, त्यो मलाई सम्भव लाग्दैन। हुन्छ भने गरोस्। हामी डेमोक्रेट छौं, हाम्रो धार डेमोक्रेटिक नै रहनेछ। र, तालमेल मुद्दाका आधारमा हुनेछ।


तपाईँहरुले चुनावमा सबभन्दा बढी बाँढेका एजेण्डा संविधान संशोधनको हो। त्यसो भए डेमोक्रेटकै सहयोगमा संविधान संशोधन होला त?

डेमोक्रेटिक धारबाट पास हुँदैन। पास गर्ने संख्या भनेको वामसँग नै हो। वामले हाम्रो मागलाई सम्बोधन गर्छ भने वामसँग सहकार्यको सम्भावना छ। त्यसका लागि वाम गठबन्धन तयार छ भने हामी पनि तयार छौं। एक पटक वार्ता नै भएको छ। राष्ट्रिय सभा र संविधान संशोधनका विषयमा फोरम–राजपा र वामबीच छलफल भएकै हो। तर, सफल भएन। देशलाई द्वन्द्वमा लान्छ कि शान्ति सम्बृद्धिमा लान्छ त्यो एमाले कै हातमा हो। 


वाम गठबन्धनसँगको वार्तामा किन असफल भयो?

एमालेले गर्न नचाहेर हो। केपी ओलीले कमल थापा मन्त्री हुँदा चार बुँदा दिल्ली त पठाएकै हो। हामीले दिल्ली जाँदा पो थाहा पायौं। हामीले त अहिले पनि भन्छौं जे कुरा दिल्ली पठाउनु भयो, त्यही कुरा अहिले गर्नुस्। किन गर्दैन? उसको नियत नै गर्ने छैन। एमालेले सही छाप गरेका कुराहरुलाई पनि लत्याएको छ। अन्तरिम संविधानमा लेखिएको कुरा त उल्टाइदियो।


तर, केपी ओलीले संविधान संशोधनबाट मधेशी नेताहरु नै भागेको भनेका छन् त।

कहाँ संशोधन गर्न चाहन्छ? आउनुपर्यो नि त टेबुलमा। यो यो गर्न हामी तयार छौं किन भन्दैन? मधेशी नेता देख्नासाथ केपी ओली भाग्छन्। हामीसँग कुरा गर्दैनन्। दिल्लीमा सुटुक्क कागज पठाउँछन्। खुलेर आउन् न, यो यो बुँदामा सहमति छ भनेर। यो एजेण्डा राष्ट्रवादी हो, यो एजेण्डा राष्ट्रघाती हो भनेर खुलेर भन्नु पर्यो नि।


त्यसो भए वामसँगको सम्भावना सकिएको हो त ?

होइन, सम्भावना सकिएको होइन। वाम गठबन्धनले हाम्रो मुद्दालाई सम्बोधन गर्ने गरी अगाडि बढ्यो भने सहकार्यको सम्भावना छ। उनीहरु अहिले पनि अहममा छन्। बहुमतको अहम। हामी संविधान संशोधनका लागि उनीहरुसँग छलफल गर्न तयार छौं। 


संविधान संशोधनको कुरासँगै सरकारमा सहभागिताको कुरा उठेको छ नि ?

अहिलेकै अवस्थामा मधेशी गठबन्धन सरकारमा जाँदैन। मुद्दालाई सम्बोधन नगरीकन मधेशी दल सरकारमा जाँदैन। सरकार हाम्रो लक्ष्य होइन।


भनेपछि फेरि केही बुँदे सहमति गर्न खोज्नु भएको हो त सरकारमा जान?

यिनीहरुले कयौं सहमति गरे तर खै इमानदार भएको? संविधानमा लेखेको कुरा पूरा गरेनन्। तीन बुँदे सहमति अहिलेसम्म पूरा गरेनन्। त्यसकारण हामीले चुनाव नै लड्न पाएनौं। बल्लबल्ल दुई नम्बरमा लड्न पायौं। सहमतिभन्दा पनि इमानदारिताका साथ वाम गठबन्धन अगाडि आउनु पर्यो। प्रस्ताव ल्याउने पास गर्ने अनि हामीलाई सरकारमा जाने बाटो खुल्छ।


फरक प्रसंग, मधेशी गठबन्धनलाई मधेशी जनताले सम्मानजनक मत दिएर पठाए। चुनाव अघिसम्म मधेशी दलहरु संसदीय राजनीतिभन्दा पनि सडक राजनीतिलाई बढी रुचाएको थियो। अब कता जाला?

राजपा सदन र सडक दुवै ठाउँमा केन्द्रित रहनेछ। र, धार पनि यही नै हो।


तर, चुनावी परिणामले त संसदीय राजनीतिलाई उपयोग गर्ने भनेको हो कि?

पहिचानको मुद्दा, हाम्रो माग पूरा नहुनजेलसम्म संसद भनेको हाम्रो लागि उपयोगी माध्यम नै हो। त्यसकारण हामीले संसदलाई उपयोग गर्छौ।

यसअघि अधिकांश नेताहरु चुनाव हारेका थिए त्यसकारण सडक अलि बढी तातेको थियो। अहिले अधिकांशले जितेकाले आन्दोलनको औचित्य होला?

सडकमा जाने सम्भावना त्यति नै बलियो छ। र, राजपाका नेताहरु हिजो अलगअलग पार्टीबाट लडेका थिए। मधेशी जनताको भावना १२ वर्षपछि मिलेर आउन भनेको थियो। ६ वटा पार्टी मिलेर राजपा बनेको हो। र, संघीय फोरमसँग पनि हाम्रो चुनावी तालमेल भयो १२ वर्षपछि। संविधान संशोधन र हाम्रो तालमेललाई देखेर मधेशी जनताले मतदान गरे। दोस्रो कुरा के छ भने नेपाली कांग्रेसले मधेशको कुनै पनि समस्या समाधान गरेन। र, कांग्रेसमुक्त मधेश बनाउनुपर्छ भन्ने चेतना मधेशमा आएको छ। त्यसकारण मधेशी जनताले मधेशी दललाई मत दिए।


जनताले कांग्रेसमुक्त मधेश बनाउन भने तर राष्ट्रिय सभामा कांग्रेससँगै तालमेल गर्नुभयो त?

होइन, यो त लेनदेनको कुरा हो नि। हामी छुट्टै लड्दा हाम्रो एउटा सिट हुने, एउटा फोरमको सिट हुने र एउटा कांग्रेसको हुने भयो। हामीले वाम गठबन्धनसँग पनि कुरा गर्यौं। त्यहाँ कुरा मिलेन। सिटको लेनदेन पनि मिलेन। तर, कांग्रेससँग हामीले जति दियौं त्यति लियौं पनि। त्यसकारण यो लेनदेनको कुरा हो। 


छ वटा पार्टी मिलेर राजपा बनेको भए पनि पुरानै पार्टीको धङधङी त बाँकी छ त?

स्वभाविक हो। अहिले हामी ब्यानरमा मात्र एकीकृत भएको देखिएका हौं। आन्तरिक गृहकार्य र संगठनमा अहिले पनि काम गर्न सकेका छैनौं। एउटा स्वस्थ प्रतिस्पर्धाको आधारमा महाधिवेशन हुन्छ। र, त्यसमा प्रस्ट रुपमा के भनेका छौं भने जातीय जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्छ। त्यो आधारभूत लाइन हो। चक्रीय प्रणाली हो। यो आधारलाई पार्टीमा कसैले तोड्न खोज्छ भने त्यो दिन पार्टीमा फेरि संकट आउनसक्छ। त्यसकारण मधेशी जनताको भावना के हो भने कम्युनिष्ट दलहरु एक हुनसक्छ भने मधेशी दलहरु किन एक हुँदैन? मधेशी जनताले मधेशमा रहेको दुईवटा दल मिलेर एक हुनुपर्छ। यस पार्टीलाई राष्ट्रिय पार्टी बनाउनु पर्छ। 

तपाईँको पार्टीको लाइन भनेको जातीय जनसंख्याको आधारमा प्रतिनिधित्व गराउने तर प्रदेश सभाको समानुपातिक र राष्ट्रिय सभाको सिफारिसमा त्यस्तो देखिएन त?

संविधानमा उल्लेख भएअनुसारको हामीले क्लस्टर मिलाएका छौं। निर्वाचन आयोगलाई त्यही हिसाबले बुझायौं। तर, हाम्रो पार्टीमा केही मिस्टेक भएको छ। लिस्ट बनाउने साथीले केही मिस्टेक गनुभयो। हामीले एउटा छानविन समिति बनाउन भनेका छौं। अहिले दलित र मुस्लिम यो पार्टीको ब्यानरबाट हटेको छ। जानीजानी यस्तो गरिएको छ। त्यसका लागि छानविन हुनुपर्छ। मलाई नै लागेको छ यो पार्टी समावेशी हुन सकेको छैन। समावेशी हुनुपर्छ। समानुपातिक प्रणालीलाई अंगिकार गर्नुपर्छ। यी कुराहरुलाई सच्याएर अगाडि बढ्नुपर्छ। 

त्यसो भए यसको क्षतिपूर्ति आगामी प्रतिनिधि सभाको समानुपातिकमा हुन्छ कि?

अहिले त जुन क्लस्टर मिलाइएको छ त्यही आधारमा हुँदै जाने हो।  निर्वाचन आयोगमा पनि हामीले क्लस्टरका आधारमा पठाएकै हौं। तर, त्यहाँ क्लस्टर लेखिएन। पार्टीभित्रैबाट पार्टीको छबी विगार्न खोजको देखिन्छ। त्यसको छानविन हुन्छ।

अर्को आरोप पनि लाग्दैछ, राजपाका नेताहरु परिवारवाद र आफन्तवादतिर लागे?

हो। यो भएको छ। यो दुःखद हो। यसलाई सच्याउनु पर्छ। होइन भने भविष्यमा पार्टीलाई ठूलो क्षति हुनेछ।  यस्तो गल्ती जसले जुन ठाउँबाट गरेको छ त्यसलाई सच्याउनु पर् । होइन भने जनताले विरोध गर्नेछ। र, पार्टीभित्र कै विकृति र विसंगतीको विरुद्ध संघर्ष हुन सक्छ। 

तर, भागवण्डामा तपाईँ पनि हुनुहुन्छ नि?

मैले क्याडरर्सका लागि आफ्नो दाबी राख्दै आएको छु, परिवारका लागि होइन। भागवण्डा हो भने राजनीतिक व्यक्ति हुनुपर्यो। यो परिवारवादबाट उठ्नु पर्यो। उठेन भने यो पार्टीलाई अगाडि बढाउन अप्ठ्यारो छ।

तपाईँले फोरमसँगको एकताको कुरा गर्नु भयो। कत्तिको सम्भावना देख्नुभएको छ?

जनताको चाहना हो। कांग्रेस एमालेलाई ठीक लगाउन राजपा र फोरम मिल्नुपर्छ भन्ने आम जनताको धारणा हो। ठूलो पार्टीसँग लड्ने तर दिल सानो राखेर हुन्छ?

यस विषयमा कुरो के उठ्छ भने महेन्द्रजी फोरमसँग एकीकरण गर्न यसकारण अगाडि देखिएका छन् कि उपेन्द्र यादव र महेन्द्र यादव दुवै कम्युनिष्ट स्कुलिङका हुन्। होइन?

किन लुकाउनु हुन्छ, यादब नै भन्दिनुस् न। कम्युनिष्ट किन भन्नु हुन्छ? यो गलत कुरा हो। कम्युनिष्ट स्कुलिङभन्दा पनि जनताको चाहना हो। त्यसकारण एक हुनुपर्छ। 

त्यसो भए एकीकरणका विषयमा छलफल चलेको छ कि छैन त?

कुनै आधिकारिक रुपमा होइन। ठाउँठाउँमा कुरा उठेको छ। जनताले छलफल चलाएको छ। हामीले चुनावी तालमेल पनि मनले गरेका होइनौं, जनताले भनेर भएको हो। हामी मिलेर गयौं मधेशमा सरकार बनाई दियौं। विगतमा हाम्रै गल्तीका कारण मधेशमा कांग्रेस, एमाले र माओवादी जितेको थियो। यसपाला हामीले देखाइदियौं। मधेशमा मधेशी दलहरुको एकताले नै विजयी हुन्छ। हाम्रो विजयरथलाई सकैले रोक्न सक्दैन।


अन्तिममा, देउवा सरकारले जुन फास्ट ट्रयाकबाट अहिले काम गर्दै हुनुहुन्छ, त्यसलाई कसरी लिनु हुन्छ?

देउवाजीले जनताको जीवनसँग जोडिएको कुरा गर्दा हुन्थ्यो। तर, दीर्घकालीन असर हुने काम किन गर्नु पर्यो? सस्तो लोकप्रियताका लागि यस्तो नगरेको भए हुन्थ्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell